एजेन्सी- इटलीमा कोरोना भाइरस संक्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले जनाएको छ।
संगठनका अनुसार कोभिड–१९ संक्रमणकाे महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका केटाकेटीहरूले विद्यालयको क्यान्टिनले दिने लन्चमा पहुँच पाउन नसकेको र आर्थिक कठिनाइ झनै नराम्रो भएका कारण केटाकेटीको आवश्यक न्यूनतम आहारामा निकै कमी भएको हो।
‘इटालीमा दूध वा खाना लिन सहयोग चाहिने १५ वर्षभन्दा मुनिका बच्चाहरूको सङ्ख्या सात लाख छ,’ कोल्डरेट्टीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ।
यो सङ्कटले गरीबलाई थप गरिबीको चपेटामा पारेको र मौसमी र अस्थायी कामदारहरूलाई साना व्यवसायी र व्यापारीमा आश्रित बनाएको विज्ञप्तिमा बताइएको छ।
कागजीरूपमा वैधता नपाएका कामदारहरू पनि महामारीका कारण नराम्ररी प्रभावित बनेका छन्। सामान्यतया उनीहरूको कुनै बचत हुँदैन र काम गर्न नसक्दा राज्यबाट पाउने सहयोगको कुनै बाटो नै रहँदैन। दक्षिणी इटालीमा यसरी कठिनाइ भोग्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ।
इटालीमा सङ्कटका कारण खाद्यान्नमा मूल्यवृद्धि भएको छ। पहिलेको तुलनामा महामारीको समय अप्रिलमा फलफूलमा ८.४ प्रतिशत, तरकारीमा पाँच प्रतिशत र दूधमा ४.१ प्रतिशतले मूल्यवृद्धि भएको बताइएको छ।
यद्यपि इटालीमा सक्रिय सयौँ धार्मिक संस्था तथा परोपकारी संस्थाहरूले यथोचित सहयोगको प्रयास गरे पनि एक साथ ठूलो सङ्ख्यामा सहयोग गर्नुपर्दा कठिनाई भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।