इस्लामावाद- पाकिस्तानमा लागू हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ।
सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ। तर व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था पनि गरिएको छ।
सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
सूचनाका अनुसार अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खेल्न दिइने भएको छ।
पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुको भनाई छ।
उनीहरुका अनुसार देशभरी गरेर अहिलेसम्म २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९ सय ९१ जना नयाँ बिरामी थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको जानकारी दिएको छ। पाकिस्तानमा अहिलेसम्म कुल मृतकको संख्या ६ सय ३९ पुगेको छ।
कोरोना भाइरसका कारण बिरामी भएकामध्ये ८ हजार २३ जनालाई भने निको भइसकेको अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।