काठमाडौं- कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न सत्तारुढ नेकपाका सांसदहरूले संघीय संसद प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्।
नेकपाका सांसदहरू गणेशसिंह ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले संयुक्त रुपमा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।
उक्त क्षेत्र नेपालकै भएको विभिन्न ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यले प्रमाणित गरेकाले फिर्ता ल्याउन आइतबार उक्त संकल्प प्रस्ताव दर्ता गरिएको छ।
आधारहरूले सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्किने कुटीयांदी नै महाकाली नदी भएकोले सो पूर्वको करीब ४०० वर्गकिमी नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक तथा प्रशासनिक नियन्त्रणमा राखेको प्रस्तावमा उल्लेख छ।
उक्त भू–भाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न गराउनका लागि संकल्प प्रस्ताव पेश गरिएको बताइएको छ।
नदीको उद्गम स्थल, जलाधारको बहाव र त्यसले ओगटेको क्षेत्र तथा पानी ढलोलाई अन्तर्राष्ट्रिय सीमा निर्धारणको आधार मानिने भएकाले भारतले नेपाली भूमि अतिक्रमण गरेको पुष्टि गर्ने उक्त प्रस्तावमा दाबी गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।