काठमाडौं- पर्यटन तथा हवाई क्षेत्रको पुनरुत्थानका लागि गर्नुपर्ने भावी योजनाको विषयमा अध्ययन गर्न गठित समितिले आगामी २ वर्षका लागि नयाँ होटल सञ्चालन तथा निर्माणमा अनुमति दिन बन्द गर्नुपर्ने सुझाव दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले यस्तो सुझाव दिएको हो। मन्त्रालयले मन्त्रालयकै सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मी सदस्य रहेको कमिटी गठन गरेको थियो। सोही कमिटिले उक्त सुझाव दिएको हो।
कमिटीले यसअघि निर्माण स्वीकृति लिएर निर्माणको चरणमा रहेका बाहेक काठमाडौं उपत्यका र पोखरामा नयाँ होटलको अनुमती दिने कार्य बन्द गर्नुपर्ने सुझाव पर्यटन मन्त्रालयमा बुझाएको हो। मन्त्रालयले पनि उक्त सुझावलाई आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यत्रम र बजेटमा सम्बोधन गर्न सुझाव दिएको छ।
साथैकोभिड–१९ का कारण प्रत्यक्ष प्रभाव परेको पर्यटन तथा हवाई क्षेत्रको परेको र यसको पुनरुत्थानको लागि २० अर्ब रुपैयाँ बराबरको कोष स्थापना गर्नुपर्ने भन्दै अध्ययन समितिले प्रतिवेदन बुझाएको छ।
नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको एक प्रमुख स्थान रहेको छ। हालसम्म नेपालमा तारेस्तरका १ सय ३८ र पर्यटकस्तरका १ हजार १ सय ५१ गरी जम्मा १ हजार २ सय होटल रहेका छन्। उक्त होटलहरुमा रहेको बेड संख्या जम्मा ४४ हजार छ। नेपाल होटल संघका अनुसार यस व्यवसायमा करीब १४ खर्ब ३० अर्ब रुपैयाँको लगानी रहेको छ। होटल व्यवसायमा विभिन्न वाणिज्य बैंकहरुको ऋण लगानी १३ अर्ब ८७ करोड, होटलले तिर्ने मासिक ब्याज ५४ करोड ४४ लाख रहेको छ।
यस व्यवसायमा कार्यरत मजदुरको मासिक रुपमा तलव सुविधाबापत ८५ करोड २२ लाख खर्च हुने गरेको तथ्यांक रहेको छ। नेपालमा घरबहालमा लिई सञ्चालित भएका होटलहरूले मासिक रूपमा १९ करोड ५७ लाख घरभाडा तिर्ने गरेका छन्।
नेपालका होटलहरूको सन् २०१९मा अकुपेन्सी ७५ प्रतिशत (पहिलो ८ महिनामा ७२ प्रतिशत, पछिल्लो ४ महिनामा ८० प्रतिशत) रहेको थियो। यस्तो अकुपेन्सी सन् २०१९ को जनवरीमा ५८ प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्चमा ८२ प्रतिशत रहेको थियो। सन् २०२० को अवस्था हेर्दा जनवरीमा ५० प्रतिशत, फेब्रअरीमा २० प्रतिशत र मार्च १५ देखि २० प्रतिशत मात्र रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।