दोश्रो जनआन्दोलनको प्रसंगमा बहालवाला प्रधानमन्त्रीको छेडखानीयुक्त उक्ति चर्चित थियो- बयलगाडा चढेर अमेरिका पुगिँदैन। भाषिक हिसाबले हेर्ने हो भने अभिव्यक्ति शतप्रतिशत सही छ। समुद्र पार गरेर जानुपर्ने टाढाको गन्तव्य अमेरिका बयलगाडामा चढेर पुगिँदैन। तर राजनीतिमा आलंकारिक रुपमा अरुलाई बयलगाडा चढेको देख्नेहरु पछि आफै त्यसको चालक बन्न पुग्छन्। २०६२/२०६३ पछिको डेढ दशक लामो राजनीतिक घटनाक्रमले बयलगाडाको असली चालक केपी शर्मा ओली नै भएको प्रमाणित गरेको छ।
पञ्चायतको विरोधमा लामो समय जेल जीवन बिताएको अनुभव छ, बहालवाला प्रधानमन्त्रीसँग। झन्डै डेढ दशक केपी शर्मा ओलीले कठोर जीवन व्यतीत गरेका हुन्। कोरोना भाइरसको कारण करिव एक महिना लकडाउनमा बस्दा सकस मानेका हामी नेपालीले डेढ दशक लामो जेलजीवनको सकस सहजै अनुमान गर्न सक्छौं। जीवनको उर्जाशील समय साँगुरो घेरामा बिताएका केपी शर्मा ओली दोश्रो जनआन्दोलनमा भने सामेल भएनन्। बस्, वहाँको व्यंग्यात्मक टुक्काले मात्र चर्चा पायो- बयलगाडा चढेर अमेरिका पुगिँदैन। उनको अभिव्यक्तिका केही शब्दले प्रतिकात्मक अर्थ राख्छ। बयलगाडा र अमेरिका शब्दको अर्थ सुनिएको भन्दा धेरै गहिरो छ।
डेढ दशकअघि र अहिले प्रहसनको शैली फरक होला तर शब्दको प्रतीकात्मक अर्थ अझैपनि उस्तै रहन्छ। बयलगाडासँग जीवनप्रणाली जोडिएको हुन्छ। बयलगाडा कुनै समय नेपालको तराई र भारतको समथर भूभागमा यातायातको महत्वपूर्ण साधन थियो। किसानको फसल उठाउनदेखि त्यसलाई बजार पुर्याउन बयलगाडा अनिवार्य थियो। समथरको ग्रामीण जीवनमा बयलगाडाले वर्ग उत्थान भएको जानकारी दिन्थ्यो। आज बयलगाडाको स्थान चारपांग्रे सवारी साधनले ओगट्दै गएको छ। अझैपनि बयलगाडाको प्रचलन पूर्ण रुपले विस्तापित भएको छैन। तर द्रुत गतिमा चल्ने इञ्जिन गाडीका सामु बयलगाडा सुस्तता र असक्षमताको बिम्ब बनिसकेको छ।
दोस्रो जनआन्दोलनताका केपी शर्मा ओलीबाट व्यंग्यमा अभिव्यक्त अमेरिका देश मात्र थिएन। एउटा समृद्धि र परिवर्तनको बिम्ब पनि हो। त्यो समय सडकमा उत्रेका मानिस राजनीतिक व्यवस्थासँग लडिरहेका थिए। संविधान भन्दामाथि रहेका राजा र त्यो राजाको हस्तक्षेप भइरहने राजनीतिक वातावरणमा जनताको भावना फुल्न सक्दैन भन्ने आन्दोलनको मर्म थियो। आन्दोलनरत नेपालीको चाहना परिवर्तित राजनीतिक व्यवस्था र समृद्धि थियो।
व्यवस्था परिवर्तन भयो। तर देश र राजनीतिक संस्कार परिवर्तन भएको छैन।
देशमा विकासको कामले गति लिन्छ अनि अवसरका ढोका खोलिन्छन्। त्यसपछि भुईतहको मान्छेले पनि अवसर पाउँछन् र जीवन बदलिन्छ भन्ने सपना थियो। त्यो आन्दोलनसंग सपनाको लामो श्रृंखला जोडिएको थियो। त्यसकै निम्ति धेरैले सडकमा रगत बगाए, जीवन अर्पे। व्यवस्था परिवर्तन भयो। तर देश र राजनीतिक संस्कार परिवर्तन भएको छैन। भुईतहको मान्छेको अवस्था के छ? यसको उत्तर कोरोना संकटमा भोकभोकै कैयौं दिन हिँडेर घर फर्किरहेका मजदुरको झुन्डले दिइरहेको छ।
दोश्रो जनआन्दोलनको सफलतासंगै देश गणतन्त्र र संघीयतामा प्रवेश गर्यो। यसले नेपाली जनतामा उत्साहको बिजारोपण गरेको थियो। संविधानसभा लेखनको क्रममा दलहरुको द्वन्द्वले जनताको उत्साहलाई राम्रैसंग चिस्याएको पनि हो। तर संविधान लेखनपछि प्रधानमन्त्री बनेका केपी ओली निर्विकल्प नेताको रुपमा उदाए। यसमा उनको कामको योगदानभन्दा बढी भारतको नाकाबन्दीको भूमिका थियो। अझ माओवादीसंग चुनावी तालमेल र पछि पार्टी एकता गरेर शक्तिशाली कम्युनिस्ट नेता बने।
चुनावी तालमेल र पार्टी एकताकै बलमा सत्तारोहण गर्दैगर्दा ठूला-ठूला सपना बाँडे। जनतालाई लाग्यो कि देशलाई अमेरिका बनाउने नेता त केपी ओली नै हुन्। यिनले देश विकासको काम रकेटको गतिमा अघि बढाउँछन्। झन्डै दुईतिहाई बहुमतको साथ प्रधानमन्त्री भएका ओलीले चाहेको भए गर्न सक्थे पनि। पछिल्लो अढाई वर्षको कामले भने प्रधानमन्त्रीको क्षमता बयलगाडा चालक मात्र देखिएको छ। सडक जति नै फराकिलो र चिल्लो किन नहोस्, बयलगाडामा अघि बढेपछि यात्रा सुस्त नै हुन्छ। आज भइरहेको त्यही नै हो।
संसदमा प्राप्त सुविधा अनुसार केपी शर्मा ओलीको सरकारलाई विपी कोइरालाको सरकारसंग दाजिन्छ। बिपी कोइरालाको सरकार पनि दुई तिहाईको सरकार थियो। तर ०१६ सालमा गठित सरकारमा विपी कोइराला केपी ओली जति स्वतन्त्र र शक्तिशाली थिएनन्। बिपीको सरकारमा राजा महेन्द्रको गिद्धेदृष्टि पहिलेदेखि नै थियो।
०१७ सालमा बिपीको सरकार बर्खास्त गरेर पञ्चायत लाध्दै राजा महेन्द्रले यो कुरा प्रमाणित पनि गरे। त्यसको ठिक विपरीत ओलीले सरकार हाँक्नको लागि अवरोध रहित फराकिलो र चिल्लो सडक त पाए, तर त्यहाँ बयलगाडा चढाएर आफै गतिहीन हुन पुगे। बयलगाडा ओलीको संकुचित सोचको परिणति हो। यो सरकारको ठूलो जिम्मेवारी संघीयतालाई सबल बनाउनु थियो। अफसोच, संघीयताप्रति प्रधानमन्त्रीको सोच फराकिलो र उदार छैन। प्रदेश र स्थानीय तहलाई स्वायत्त हुन दिएका छैनन्।
अफसोच, संघीयताप्रति प्रधानमन्त्रीको सोच फराकिलो र उदार छैन। प्रदेश र स्थानीय तहलाई स्वायत्त हुन दिएका छैनन्।
प्रधानमन्त्रीको रुपमा संयोजनकारी भूमिका खेल्नु पर्ने हो, तर उल्टै गतिलाई धिमा बनाउने काम गरेका छन्। केन्द्रलाई अझ शक्तिशाली बनाउने प्रयासमा छन्। अहिले सातै प्रदेशका मुख्यमन्त्री संघीय सरकारसँग गुनासो गरिरहेका छन्। संघीय सरकारको तालाचाबी अहिले केपी ओलीको हातमा छ। सातमध्ये ६ वटा प्रदेशमा आफ्नै पार्टीको सरकार छ। ६ मध्ये चार प्रदेशमा त आफ्नै गुटको मुख्यमन्त्री छन्। आफ्नै पार्टी र त्यसमा पनि आफ्नै गुटको मुख्यमन्त्री नभएको भए प्रधानमन्त्रीको रबैयाप्रति प्रदेश सरकारले कति विरोध गर्थ्यो होला? हाललाई यी कुराको अनुमान लगाउँदै बस्नु मात्र विकल्प छ।
आफू दुई तिहाईको समर्थनमा बनेको शक्तिशाली प्रधानमन्त्री भनेर दाबी गरिरहे ओलीले। शक्तिशाली र उपल्लो पदमा बसेर देखाउनु पर्ने उदारता भने देखाउन सकेनन्। दुई तिहाईको सरकारमा तात्कालीन संघीय समाजवादी पनि सामेल थियो। तर सहयात्री दलमात्र हैन, आफ्नै पार्टीका सहयात्रीलाई पन्छाउँदै अघि बढिरहे। सत्ता सञ्चालनमा प्रधानमन्त्रीले सिमित मान्छेका मात्र कुरा सुने। आफू नै सर्वज्ञाता हुँ भन्ने हिसाबले प्रस्तुत भए। लोकतान्त्रिक आचरण र व्यवहार देखाउन सकेनन्। आफ्नो गुटको श्वार्थमा लिप्त हुदा जनताले सुम्पेको जिम्मेवारी निर्वाह गर्न सकेनन्।
कोरोना भाइरसले उब्जाएको संकटले विश्व आक्रान्त छ। हाम्रो देशमा पनि जनजीवन बिजोग छ। यसको आर्थिक व्ययभार भविष्यमा देखिनेछ। यस्तो अवस्थामा प्रधानमन्त्री आगामी आर्थिक नीति र विकास योजनामा केन्द्रीत हुनु पर्थ्यो। तर उनी अध्यादेशको षड्यन्त्रमा लागे र आफै नराम्ररी पछारिए। पछारिएपछि अब आफू बदलिएर अघि बढ्न तयार रहेको सूचना बाहिर आएका छन्। तर जति गरेपनि मानिसको व्यवहारलाई उसको सोचले निर्देशित गर्ने हो।
मानिसको बोली बदलिएला तर सोच बदलिँदैन। वर्षाैंमा नबदलिएको प्रधानमन्त्रीको सोच अब बदलिनेवाला छैन। आफ्नो आधा कार्यकाल जसरी बिताए, अबपनि त्यसरी नै बिताउने हो। प्रधानमन्त्रीले अब जनचाहना बमोजिम मोटरगाडी चढाउँछु भन्दा विश्वास गर्न सकिँदैन। कारण, उनले आजसम्म बयलगाडा चलाउने क्षमतामात्र प्रदर्शन गरेका छन्। मोटरगाडीको समयमा किन बयलगाडा चलाउन उद्धत रहे? उत्तर सफाट छ, कि प्रधानमन्त्री ओलीको क्षमता नै त्यति थियो। मोटरगाढी चलाउने सिप भएको भए पहिल्यै हुँइक्याई सकेका हुन्थे।
सत्ता सञ्चालनमा प्रधानमन्त्रीले सिमित मान्छेका मात्र कुरा सुने। आफू नै सर्वज्ञाता हुँ भन्ने हिसाबले प्रस्तुत भए। लोकतान्त्रिक आचरण र व्यवहार देखाउन सकेनन्।
हिजो ज्यानको बाजी थापेर सडकमा लड्ने माथि खिसीटिउरी गर्नु। त्यो आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि आफू शक्तिमा आएपछि संस्थागत गर्न नखोज्नु। लोकतन्त्रको मर्मलाई उपहास गर्दै सीमितको मात्र हित सोच्नु। शक्ति र शत्तामा पुगेपछि भुईतहको मान्छेको दुःखलाई देख्न छोड्नु जनआन्दोनको बेला प्रतिविम्बित ओलीको संकुचित सोचको व्यावहारिक प्रहसन मात्र हुन्। तसर्थ पानीजहाज र रेलका सपना बाँडेर आफू चाँहि धिमा गतिमा चले। ओलीले सत्तामा पुगेर गरेको अभ्यास, मान्छेको व्यवहार बोलीभन्दा सोचाईबाट निर्देशित हुन्छ भन्ने प्रमाण हो।
जहाज र मोनोरेलको गतिमा अहिले नपुगिएला तर मोटरको गति न्यूनतम आवश्यकता हो। बयलगाडाको गतिमा अघि बढ्ने प्रधानमन्त्रीबाट मोटरको अपेक्षा गर्न सकिँदैन। उनले मोटर चलाउनु पर्ने ठाउँमा बयलगाडा तेर्याएर सिंगो देशलाई अलमल्याएका छन्। यो बेला सबभन्दा पहिले मूल सडकबाट बयलगाडा विस्थापित गर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।