काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन भएपछि अहिले धेरैजसो मुलुकका विद्यालय तथा विश्वविद्यालयले अनलाइन पढाइ गरिरहेका छन्। प्रवचन विधिबाट मात्रै पढाइँदै आएपनि अब नेपालमा पनि अन्य शिक्षण विधि प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ।
कतिपय विद्यालय तथा विश्वविद्यालयले नियमित रुपमा अनलाइन, विभिन्न एप, तथा जुम आइडीको प्रयोग गर्दै पढाइरहेका छन्। शिक्षा मन्त्रालयले विद्यालय तहमा अनलाइन र अन्य शिक्षण विधी प्रयोग गरी विद्यार्थीलाई घरबाटै पढाउने व्यवस्था गर्ने बताइरहेको छ।
शिक्षा मानव स्रोत तथा विकास केन्द्रले पनि सोहीअनुसार पाठ्यसामग्रीको तयारी तीव्ररुपमा भइरहेको बताएको छ। केन्द्रका प्रमुख तुलसीप्रसाद थपलियाका अनुसार पाठ्सामग्री कक्षा १० सम्मका विद्यार्थीका लागि तयारी पार्न लगाइएको जानकारी दिए।
उनका अनुसार केन्द्रले तयार पारेको सामग्री विद्यार्थीले स्वअध्ययन गर्नपनि सक्नेछन्। स्वअध्ययन गर्न सक्ने भएपनि शिक्षकले सहजीकरणको भूमिका खेल्नुपर्ने थपलियाले बताए। ‘हामीले तय गरेको पाठ्यसामग्री सरल छ‚ विद्यार्थी आफैले पनि बुझ्न सक्छन्,’ थपलियाले भने, ‘यसमा शिक्षकले स्रोतले भ्याएसम्म सहजीकरण गर्नुपर्छ।’
अहिले शिक्षकहरु अनलाइनमा अभ्यस्त छैनन् र कतिपय त प्रविधिमैत्री समेत छैनन्। त्यस्ता शिक्षकले छोराछोरीलाई सहयोगमा राखी पढाउन सक्ने उपाय सुझाउँछन् सहप्राध्यपक नेत्र सुवेदी। ‘प्रविधिमूलक सिकाइको चुनौतीलाई कुशल रुपमा सामना गर्ने समय पनि हो। शिक्षक र विद्यार्थीको सकृयता अनि प्रशासनको इच्छाशक्ति र ज्ञानप्रतिको प्रतिबद्धताको परीक्षण गर्ने बेला यही हो‚ यसलाई सदुपयोग गर्नुपर्छ।’
शिक्षाविद् विद्यानाथ कोइराला पनि यही बेला विद्यालय तथा विश्वविद्यालयले आफूलाई प्रविधिमैत्री बनाउन सक्ने तर्क राख्छन्। ‘विद्यालय तथा विश्वविद्यालयले केही कक्षा सञ्चालन गरेर भएपनि प्रविधिमैत्री बनाउँदैछन्,’ कोइरालाले भने, ‘शिक्षकले पनि आफूलाई समयअनुसार ढाल्दै लैजानुपर्यो।’
विद्यालयमा होस् या विश्वविद्यालयमा प्रवचन विधिबाट पढाउँदै आएका कारण सुरुवातमा अनलाइन अध्यापन गराउँदा पावरप्वाइन्टहरू सेयर गर्ने, असाइनमेन्ट दिने, परीक्षण गर्नेलगायतका विधी प्रयोग गर्न सकिने बताउँछन् प्राध्यापक राम लोहनी। ‘सफ्टवेयरको प्रयोग गर्न र इन्टरनेटले साथ दियो भने केही प्रवचनहरू पनि हुन सक्लान्‚’ लोहनी भन्छन्, ‘शिक्षक विद्यार्थीलाई जोड्न सकिन्छ। छलफल प्रभावकारी हुन्छ।’
शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षकहरुको भूमिकाबारे यसरी प्रस्ट पारेका छन्।
सन्दर्भगत पाठ्यसामग्री तयार गरौँ
सन्दर्भगत भन्नाले विद्यालय तहका विद्यार्थीको लागि महामारी वातावरण स्वास्थ्यलगायतका विषयगत कुरामा केन्द्रीत गर्न सकिन्छ। जसले गर्दा उनीहरुले अन्य सैद्धान्तिक विषयलाई अहिलेको घटनाक्रमलाई जोड्न सक्ने हुन्छन्।
त्यसकारण प्राप्त स्रोतलाई अधिकतम उपयोग गरेर पढाउन सकिन्छ भने विश्वविद्यालय तहको लागि उनीहरुको विषय र कुन ठाउँमा बस्छन् त्यो ठाउँसँग जोडेर पाठ्यसामग्री बनाउन सकिन्छ। जस्तो कोही तराइ मधेसमा बस्ने जसले राजनीतिशास्त्र पढ्छ भने उसलाई त्यहाँको राजनीति पढाउनुपर्यो। पहाडको हकमा पनि त्यही लागू हुन्छ।
'आलोचनात्मक चिन्तनको विकास गरौँ'
पाठ्यक्रममा जे छ त्यही रटाउने हाम्रो बानी छ, अब यो मोडल त्याग्न जरुरी छ। वैज्ञानिकहरुले यो विधीलाई थात्रो विधी भनेका छन्। अब पाठ्यक्रममा भएका विषयवस्तुलाई पनि फरक ढगंले सोच विचार र चिन्तन गर्नसक्ने जनशक्तिको आवश्यकता देखिन्छ।
आजको युग भनेको प्रविधिको युग हो। स्मार्टफोन साथमा भएपछि सेकेण्ड सेकेण्डमा विश्वको जुनसुकै देशको सूचना थाहा पाउन सक्छौँ। शिक्षकहरु पनि भइरहेका घटनामा अपडेट हुनपर्यो। कम्तीमा विषयगत कुरामा निरन्तर अप्डेट भइरहन पर्यो। सम्प्रेषण पनि गर्नुपर्यो।
पढेको कतिको सम्झ्यो ठूलो कुरा होइन। विद्यार्थीले कुनै पनि विषयवस्तु कसरी बुझ्छ त्यो महत्वपूर्ण कुरा हो। हरेक व्यक्तिमा केही न केही प्रतिभा हुन्छ नै‚ सफल त्यो शिक्षक हो‚ जसले विद्यार्थीको प्रतिभा देख्न सक्छ। विद्यालय स्तरका बालबालिकालाई उनीहरुको सिर्जनशीलता के हो‚ के गर्न मन पर्छ? त्यो गरेर भिडियो गराउन सकिन्छ।
सहकार्यता टुट्न नदिने
अहिलेको महामारी नै यस्तो छ कि व्यक्तिगत दूरी कायम गर्नुपर्ने एकअर्कालाई भेट्न नहुने। तर सत्य के हो भने सधैं यही अवस्था रहँदैन। सहकार्यबिना केही काम गर्न सकिँदैन। महिनौँ घर बस्दा साना साना बालबालिकामा सहकार्यताको अभाव त हुँदैन? अभिभावक तथा शिक्षकलाई चिन्ता हुनु स्वभाविक हो।
जसको लागि शिक्षकले विभिन्न समूहमा बाँडिदिएर अनलाइन ग्रुप बनाइदिन सक्छन्। जहाँ उनीहरुले असाइन वा अन्य कुनै विषयको छलफल गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।