एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमा प्रतिबन्ध लगाउने आफ्नो योजना २ महिनाका लागि हुने र स्थायी बसोबास अनुमति खोज्नेहरुका लागि लागू हुने बताएका छन्।
अमेरिका प्रवेशमा रोक लगाउने भनेर ट्वीट गरेको भोलिपल्ट बोल्दै ट्रम्पले कोरोना भाइरस संकटका बेला अमेरिकी रोजगारीको संरक्षणका लागि यो निर्णय लिइएको प्रष्ट पारेका छन्।
उनले यससम्बन्धी निर्णयमा बुधबार हस्ताक्षर गर्ने र कोरोना भाइरसले अर्थतन्त्रलाई पारेको असरका आधारमा यो प्रतिबन्ध जारी रहने बताएका छन्।
यद्यपि यो निर्णयले अस्थायी कामदारलाई प्रभाव नपार्ने बताइएको छ।
एक तथ्यांकअनुसार कोरोना भाइरसको संकटका कारण अमेरिकामा २ करोड २० लाख मानिसले रोजगार गुमाएका छन्। ट्रम्पले रोजगारको पुनः प्रत्याभूति सरकारको उत्तरदायित्व भनेका छन्।
आलोचकहरुले भने कोरोना भाइरस संक्रमण रोक्ने उनको असफलताबाट ध्यान मोड्ने उनको प्रयास भएको टिप्पणी गरेका छन्। अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ४५ हजारको मृत्यु भइसकेको छ।
डेमोक्रेट्सले ट्रम्प प्रशासनले महामारीलाई आप्रवासनविरुद्ध प्रयोग गरेको आरोप लगाएको छ। आप्रवासन ट्रम्प र रिपब्लिकनको पूरानो मुद्दा भएको र यो संकटलाई आगामी नोभेम्बरको चुनावमा प्रयोग गर्ने अवसरको रुपमा लिएको डेमोक्रेट्सको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।