काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था ट्रेड युनियन कांग्रेसले मजदुर बिचल्लीको मुख्य जड सरकार भएको आरोप लगाएको छ।
लकडाउन लम्बिएसँगै मजदुरहरु काठमाडौं छोडेर पैदलै घर फर्कन थालेका छन्। त्यस खालको परिस्थिति उत्पन्न हुनुको दोष सरकारकै भएको ट्रेड युनियन कांग्रेसले जनाएको छ। लकडाउनलाई अन्तिम विकल्पका रुपमा प्रस्तुत गरेको सरकारले त्यसले मजदुरलाई पार्ने प्रभावको ख्यालै नगरेको संगठनका अध्यक्ष पुष्कर आचार्यले बताए।
मजदुरको समस्याका विषयमा सरकारले लकडाउन पूर्व/पछि कुनै पनि छलफलका लागि नडाकेको उनले बताए। बैशाख १ मा श्रम विभागले छलफलका लागि बोलाए पनि मजदुरका पक्षमा कुनै निर्णय नभएको उनले बताए।
सरकारले मजदुर संगठनको भूमिकालाई गौण राखेकाले आफ्नो भूमिका कुनै पनि नभएको ट्रेड युनियन कांग्रेसको ठहर छ। ‘हाम्रो मुख्य दायित्व यो बेला सरकारको निर्णयलाई साथ दिऔं भन्ने हो’, ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले भने, ‘हामीले सरकारलाई भनेको भन्यै छौं। दबाब दिएका छौं। सरकार सुन्दैन।’
छलफलका लागि श्रम विभागले बोलाएको बैठकमा अनौपचारिक क्षेत्रका मजदुरका विषयमा कुरै भएको थिएन। दैनिक ज्यालादारीको समस्या समाधान गरेको जस्तै गरी सरकार प्रस्तुत भएकोमा राईले आपत्ति जनाए।
विभिन्न क्षेत्रमा कार्यरत मजदुरको संख्या काठमाडौंमा मात्रै करिब चार लाखको छ। इट्टा भट्टा र गार्मेन्टमा काम गर्ने मजदुरको अवस्था थप दयनीय बनेको छ। मुख्यतः बौद्ध-जोरपाटी क्षेत्रमा कार्यरत कार्पेटका र भक्तपुरमा कार्यरत इट्टा भट्टाका कामदारको अवस्था दयनीय बनेको ट्रेड युनियन कांग्रेसले जनाएको छ। बौद्ध-जोरपाटीमा ६ हजार बढी कार्पेटमा कार्यरत छन्। कार्पेट र इट्टा भट्टामा कार्यरत अधिकांश उपत्यका बाहिरका मजदुर छन्।
सरकारले वितरण गर्ने राहत वास्तविक मजदुरलाई पुग्न नसकेको गुनासो समेत छ। नागरिकतालाई आधार बनाएपछि कतिपयले नागरिकताको अभावमा राहत पाएका छैनन्। विपतको बेला राष्ट्रियता नखोजेर राहत दिनुपर्ने सरकारको दायित्व भएको उपाध्यक्ष राईले बताए। राईले राहतको व्यवस्थालाई सरकारले परिमार्जन गर्नुपर्ने सुझाव दिए। मजदुर कार्यरत रहेकै क्षेत्रमा मेस सञ्चालन गरेर खानाको व्यवस्था राज्यले गरिदिनसक्ने उनले विकल्प सुझाए।
ट्रेड युनियन कांग्रेसले ४० लाख बराबरको राहत वितरण गरेको उपाध्यक्ष राईले दाबी गरे। ट्रेड युनियन कांग्रेसमा आवद्ध देशभर सदस्य संख्या ४ लाख २५ हजार भएको संगठनले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।