रोल्पा-बुबाआमा सामान्य किसान। अन्य किसानझैं निर्वाहमुखी खेती गरेर दैनिकी बित्थे बुबाआमाका। विद्यालय जानुअघि एक भारी दाउरा वा घाँस ल्याउनु उनको नियमित काम थियो। विद्यालय ढिलो जाँदा पढाइ छुट्ने। घाँस कम ल्याए वस्तुबाख्रा भोकै।
कम्ति चुनौतीका दिन थिएनन् ती। कक्षा ८ सम्म घरको कामले उनको पढाइलाई धेरै असर नगरे पनि कक्षा ९ मा पुगेपछि भने असर गर्न थालेको थियो। राम्रो विषय पढ्ने उनको इच्छामा भने त्यसले बाधा गर्न सकेन। कक्षा ९ मा ऐच्छिक गणित रोजिन्। ११ र १२ मा विज्ञान पढ्नका लागि।
ऐच्छिक गणितलाई सामान्य अभ्यासले नपुग्ने भयो। घरमा पढ्न समय र वातावरण थिएन। घरको सबै काम सकेर बेलुकाको खानापछि राति अबेरसम्म पढ्ने र गृहकार्य गर्ने गर्थिन्। त्यसैले अधिकांश गृहकार्य विद्यालय गएर सक्नुपथ्र्यो। परीक्षाको समयमा पनि पढ्न समय हुँदैनथ्यो उनलाई। घरको काम नै प्यारो।
सामान्य खेतबारीबाट आउने आम्दानी नै मुख्य श्रोत थियो परिवारको। छोरीले पढेर के हुन्छ भन्ने पारिवारिक र सामाजिक वातावरण थियो। बुबाआमा अशिक्षित भएपनि विद्यालय पठाउनु नै ठूलो कुरा मानिन् उनले। विद्यालयमा सधैं प्रथम हुन्थिन्। ‘शारीरिक श्रम गरेर पढाइ बिग्रने रहेनछ‚ यसले त पढाइमा रिफ्रेस गर्दो रहेछ,’ उनले भनिन्। समय मिलाएर बुबाआमालाई काममा सघाउँदै आफ्नो दैनिक पढाइलाई निरन्तरता दिनुपर्ने उनको सुझाव पनि छ।
दाजु काठमाडौं बसेर पढ्ने भएकाले एसएलसीपछि उतै पढ्ने भइन्। किसानी गरेर कमाएको पैसाले ६ छोराछोरी पढाउनु उनका बुबाआमालाई कम्ती सकस थिएन। ‘ऋणधन गरेर पढाउने बुबाआमाको आँट कम्ती प्रशंसनीय छैन‚’ डा. धनमाया घर्ती भन्छिन्।
उनले प्लस टुमा विज्ञान विषय पढिन्। डाक्टर बन्ने धोको थियो उनको। पढाइमा पनि सधैं अब्बल भएकाले राम्रो अंक ल्याएर प्लस टू पास गरिन्। डाक्टर बन्न तयारी गरौं कि सरासर बिएस्सी पढौं, उनलाई निकै द्विविधा भयो। डाक्टर पढ्न थुप्रै पैसा चाहिन्थ्यो। नाम निस्किएन भने समस्या थियो। पैसा खर्च गरेर पढाउन सक्ने पारिवारिक अवस्था थिएन।
एक मनले बिएसस्सीलाई निरन्तरता दिने सोच आयो। बिएसस्सी पढ्दा पढाइको सुनिश्चितता भए पनि डाक्टर पढ्नका लागि सुनिश्चितता थिएन। नाम निस्कने, ननिस्कने निश्चित थिएन। नाम निस्किएन भने के गर्नेरु प्राइभेट पढ्नका लागि पनि ४० लाख खर्च लाग्ने। उनी निकै अन्योलमा परिन्।
केही समय डाक्टर पढ्ने गरी तयारी पनि गरिन्। डाक्टर पढ्नका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना खोलेको उनले थाहा पाइन्। सूचनामा दुर्गम जिल्लाका लागि एक सिट छुट्याएको रहेछ। रोल्पाका लागि एक सिट थियो। त्यसमा उनीसहित २२ जना रोल्पालीले फाराम भरेका थिए।
प्रवेश परीक्षामा उनको नाम निस्कियो। उनले पाटनमै पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर पाइन्। प्रतिष्ठानको नियमानुसार एमबीबीएस पूरा गरेकी उनले कम्तीमा ४ वर्ष रोल्पा गएर सेवा गर्नुपर्ने भयो। उनले रोल्पा अस्पतालमा सेवा गर्न थालेको ३ वर्ष पूरा भइसकेको छ। रोल्पा बसाइपछि उनले एमडी अध्ययनको सोच बनाएकी छन्।
आइएससी पढाइपछि उनले गाउँकै रामबहादुर घर्तीमगरसँग विवाह गरेकी थिइन्। ‘मेरो पढाइमा श्रीमानको पनि ठूलो योगदान छ। श्रीमानको सहयोग नभएको भए पढाइ सम्भव थिएन। पढाइलाई निरन्तरता दिने शर्तमा हाम्रो विवाह भएको हो‚’ उनले भनिन्, ‘विवाहपछि पनि पढाइलाई निरन्तरता दिनुपर्ने दुवै परिवारको सहमति अनुसार विवाह राजी भएकी थिएँ। विवाहपछि पढाइलाई अझ बढी सहयोग हुन्छ भन्ने भइसकेपछि हामी विवाहका लागि तयार भएका थियौं।’
‘पढाइ निःशुल्क भए पनि खान‚ बस्न‚ किताब‚ कलमलगायतका लागि थुप्रै खर्च जरुरी थियो‚ जो मेरो श्रीमानका कारण सम्भव भएको हो‚’ उनले भनिन्। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका रोल्पाली बुबाआमा, दाजु दिदी बहिनीहरुको सेवा गर्न पाएकोमा आफूलाई सन्तुष्टि मिलेको धनमायाको भनाइ छ।
छोरीले पढेर के हुन्छ र ? भन्ने मान्यता जबर्जस्त रहेको समाजमा ग्रामीण क्षेत्रकी एक छोरीले डाक्टर पढ्ने चाहना राख्नु चानचुने विषय थिएन। एसएलसी सम्म पढ्दै वैदेशिक रोजगारीमा हुईकिने छोराहरुका कारण पनि छोरीको पढाई थप चुनौती पूर्ण बन्दै गएको थियो। बाबुआमा पाल्ने छोरो नपढेर कमाउन हिड्यो, अर्काको घर जाने छोरीलाई पढाएर के फाईदा यस्तै प्रश्नको सामान गर्नुपथ्र्यो छोरीले। यस्तै परिवेशलाई चिर्दै रोल्पाको नुवागाँउमा रहेको अरनिको माविमा आफ्नो अध्ययनलाई अगाडि बढाएकी थिईन् धनमायाले ।
छोरीलाई दुध चुसाउने फुर्सद छैन महिला डाक्टरलाई
२२ महिनाकी छोरी डेरामै छोडेर निस्कन्छिन् दैनिक कर्ममा । छोरीको हेरचाह बहिनीले गर्छिन् । बिहानै छोडेको छोरीलाई रेखदेख गर्ने र दुध चुसाउने फुर्सद छैन उनलाई। बिहानको झिसमिसेमा डेराबाट निस्केको फर्कँदा रात परिसकेको हुन्छ। कोरोनाको कारण अचेल झनै व्यस्तता बढेको छ उनको। रोल्पा अस्पतालको निमित्त कार्यालय प्रमुख भएर जिम्मेवारी सम्हालेको पनि धेरै भईसक्यो। विरामीको चेकजाँच, अस्पतालको प्रशासनिक काम अनि कोरोना नियन्त्रणको जिम्मेवारी । कार्यवोझको हिसाब किताब छैन उनलाई। तर पनि अस्पताल जाने जो कोही उनको सेवाबाट असन्तुष्ट हुँदैन। अत्यधिक कार्यवोझ भए पनि उनको अनुहार तथा हाउभाउमा कहिल्यै प्रकट हुँदैन । मुस्कान सहितको सेवा । त्यसैले त रोल्पाली बुबा आमाहरुको छोरी भएकी छिन डा।धनमाया घर्ती।
‘एकजना महिलाले एक्लैले चाहेर मात्रै सबै कुरा पूरा हुँदैन। उसलाई परिवारका सदस्यको साथ सहयोग चाहिन्छ‚’ उनले भनिन्। आफूले बुबा, दाजु, श्रीमान, जेठाजु, ससुरा सबैबाट सहयोग पाएर नै अहिले यो अवस्थामा आएको बताइन्।
संविधानले समानताको अधिकारलाई सुनिश्चित गरे पनि व्यवहारमा यत्रतत्र असमानता भएको उनको बुझाइ छ। ‘अझै पनि छोरा जन्मँदा हर्ष मनाउने परिवारमा छोरी जन्मिँदा खुसीयाली छाउँदैन किनरु’ उनले प्रश्न गरिन्। ‘कानुनअनुसार व्यवहारिक रुपमै समानताका लागि अझै मेहनत गर्नुपर्छ‚’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।