एजेन्सी- कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेको छ। योसँगै मानिसमा यसको एन्टिभाइरल औषधिको आवश्यकता पनि महसुस भइरहेको छ। तर‚ जति जति कोरोना संक्रमणको जोखिम बढ्दै गयो‚ त्यति नै कोभिड-१९ विरुद्धका औषधि भनी विभिन्न ठाउँहरूमा औषधीको बिक्री वितरण पनि भई नै रहेका छन्। यस विषयमा विश्व स्वास्थ्य संगठन (डबलूएचओ)ले यस्ता अफवाहको पछि नलाग्न चेतावनी दिइरहेको छ।
यसै विषयमा बिबिसीले विभिन्न अनुसन्धानबाट अफ्रिकामा यसरी नक्कली औषधीहरू बिक्री भइरहेको पाइएको जनाएको छ। विश्वस्तरमा नै कोरोना निको बनाउने औषधी भन्दै नक्कली औषधीहरू बिक्री भइरहेको पाइएको हो।
विश्व स्वास्थ्य संगठनले भने यस्ता किसिमका औषधीहरूको प्रयोगबाट शरीरमा नराम्रो असर पर्न सक्ने चेतावनी दिइरहेको छ। एक विशेषज्ञले भने‚ ‘यस्ता किसिमका कुकृत्यबाट कोरोनाजत्तिकै अर्को महामारी पैदा नहोला भनेर भन्न सकिन्न।’
विश्वभरी नै मानिसहरू विभिन्न औषधी सञ्चय गरिरहेका छन्। विश्वकै दुई ठूला मेडिकल सप्लायर्स - चीन र भारतका औषधि उत्पादकहरूले बजारको मागसँगै लकडाउनको बेलामा सप्लाईलाई पनि बढाइरहेका छन् जसले गर्दा नक्कली औषधिको पनि प्रयोग दिनप्रतिदिन बढिरहेको छ।
विश्व स्वास्थ्य संगठनले गएको महिनामा कोरोना भाइरस महामारीको घोषणा गर्यो भने त्यही साता इन्टरपोलको विश्वस्तरकै ‘फर्मास्यूटिकल क्राइम फाइटिङ अपरेसन पेन्जल’ले सातै दिनमा ९० देशमा १ सय २१ वटा खतरनाक औषधी उत्पादकलाई गिरफ्तार गर्यो जसले गर्दा एक करोड ४० अमेरिकी डलरभन्दा बढी त्यस्ता औषधिहरू बरामद गरिएको थियो।
मलेसियादेखि मोजाम्बिकसम्म प्रहरी अधिरकारीले कोरोना निको पार्ने भनी बेचिँदै आएको हजारौंको संख्यामा नक्कली फेस मास्क र नक्कली औषधिहरू बरामद गरेको छ।
‘सार्वजनिक स्वास्थ्य संकटमा परिरहेका बेला नक्कली औषधीको अवैध व्यापार गर्नु भनेको आम मानिसको जीवनसँग खेलवाड गर्नु हो।’ इन्टरपोलका सेक्रेटरी जेनेरल जर्गन स्टोकले भने।
विश्व स्वास्थ्य संगठनका अनुसार यसरी बेचिएका अवैध औषधीहरूमा दूषित‚ एक्सपाइर भइसकेका औषधीहरू धेरै हुने गरेको पाइन्छ‚ जसको मूल्य थोरै आय भएका देशका लागि ३० बिलियन अमेरिकी डलरभन्दा पनि बढी पर्न जान्छ।
‘हामीले यसरी हेर्दा ती नक्कली औषधीहरू‚ हाम्रो शरीरमा जे नहोस् भनेर प्रयोग गरिन्छ त्यसलाई ती नक्कली औषधिले केही पनि प्रभाव पार्न सक्दैनन्।’ विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित पर्नेट बोर्डिलियन इस्टीभले भने‚ ‘अर्को पाटोबाट हेर्दा त्यस्ता औषधीले शरीरमा अन्य नकारात्मक असरहरू छाड्ने गर्छन्। जसले गर्दा सामान्य जीवनमा धेरै नै असर पर्छ।’
कसरी हुन्छ सप्लाई?
विश्वस्तरमै औषधी उत्पादन गर्ने उद्योगहरूको कूल मूल्य एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी छ। त्यस्ता औषधी उत्पादक कम्पनीहरूले ती औषधीहरू विश्वका विभिन्न क्षेत्रमा पठाउने गर्छन्। औषधीको विशाल भण्डार भनेर चिनिएका भारत र चीनजस्ता प्रमुख देशहरूले यूरोप‚ दक्षिण अमेरिका‚ एसियालगायतका देशमा सम्बन्धित रोगका लागि विभिन्न औषधीहरू पठाउने गर्छन्।
‘शायद औषधिबाहेक विश्वमा अर्को कुनै पनि वस्तु छैन‚ जो सबै क्षेत्रमा पुगेको होस्।’ इस्टिभले भने‚ ‘लकडाउन जब सुरू हुन थाल्यो‚ त्यसबेलादेखि नै नक्कली औषधीको बारेमा विभिन्न अफवाहरू फैलन थाले र अवैध किसिमले त्यस्ता औषधीहरूको व्यापार पनि बढ्दै जान थाल्यो।’
भारतका विभिन्न औषधी कम्पनीहरूले बिबिसीलाई बताएअनुसार उनीहरूले आफ्नो क्षमताअनुसार ५० देखि ६० प्रतिशतसम्म औषधी बिक्री गरिरहेका छन्। भारतीय औषधी कम्पनीहरूले अफ्रिकामा हुने कूल औषधीमध्ये करीब २० प्रतिशत औषधी सप्लाई गर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यसबाट पनि अफ्रिकामा यसको प्रभाव पर्यो नै।
जाम्बियाको राजधानी लुसाकाका एक फर्मासिस्ट एफ्रियाम फिरिका अनुसार यसको डर उनलाई पहिलेदेखि नै थियो। ‘औषधीहरू महामारीको सुरूवातसँगै सकिँदै जान थाले। पहिलाकै अनुपातमा औषधी आयात गर्न पनि सकिएन। यसमा अब हामीले गर्न सक्न केही पनि छैन। यस्तो परिस्थितिमा विभिन्न औषधीहरू सप्लाई गर्न धेरै नै गाह्रो हुने गर्छ। विशेषगरी एन्टिबायोटिक र एन्टिमलेरियाजस्ता औषधीहरू।’
विभिन्न औषधी उत्पादक र आपूर्तिकर्ताका लागि पनि यो जटिल परिस्थिति हो किनकि औषधी उत्पादन गर्ने कच्चा पदार्थ पनि अब यति महङ्गो हुन्छ कि कतिपय कम्पनी त यसलाई खरिद गर्न पनि समर्थ हुँदैनन्।
एक पाकिस्तानी औषधी उत्पादकका अनुसार उनी हाइड्रोक्लोरोक्वाइन नामक एक एन्टिमलेरियल औषधीका लागि कच्चा पदार्थ करीब १ सय अमेरिकी डलर प्रतिकिलोमा खरिद गर्ने गर्थे। तर आज‚ लागत बढेर त्यही कच्चा पदार्थको मूल्य ११ सय ५० अमेरिकी डलर प्रतिकिलो पुगेको छ।
विभिन्न देशहरूले लकडाउनको मार खेप्नु परेसँगै औषधि कम्पनीहरूले औषधि उत्पादनमा कमी नगरेपनि बजारमा यसको माग अत्यधिक भएकाले औषधिको भण्डार रित्तिँदै जान्छ। यस्तो महामारीको बेलामा मानिसहरूले धेरै नै सामान्य औषधिहरू किन्ने भएकाले पनि औषधिको आपूर्तिमा केही कमी आउने गर्छ।
विश्व स्वास्थ्य संगठनका इस्टिभ भन्छन्‚ ‘जब आपूर्तिले मागलाई धान्दैन। त्यस्तो अवस्थामा यस्तो वातावरण बनिदिन्छ कि नक्कली औषधीहरू नै उनीहरूको माग पूर्ति गर्ने एकमात्र माध्यम बनिदिन्छन्।’
नक्कली औषधी
विश्वभरका विभिन्न फर्मासिस्ट र औषधी कम्पनीहरूका अनुसार अब एन्टिमलेरियलको आपूर्ति विश्वस्तरमै खतरामा परेको छ। जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस ब्रिफिङमा क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विनको गुण र क्षमताको बारेमा उल्लेख गरे‚ त्यसपछि यी औषधीका लागि विश्वभरबाट माग बढिरहेको छ‚ जुन औषधीको प्रयोग मलेरिया निको पार्नका लागि गरिन्छ।
तर‚ विश्व स्वास्थ्य संगठन भने क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विनले कोभिड-१९ लाई निको पार्ने कुरामा कुनै तथ्य नभएको बताउँदै आएको छ। यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसको महत्व गाउँदै यस्ता औषधी हामीसँग छन् भने किन डराउनुपर्यो भन्नेजस्ता अभिव्यक्ति दिँदै आएका छन्।
विश्वस्तरमै क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विनको माग बढ्न थालेपछि डेमोक्र्याटिक रिपब्लिक अफ कोङ्गो र क्यामेरूनजस्ता देशहरूमा विभिन्न क्षेत्रमा यही नाम गरेका नक्कली औषधिहरू बेच्न सुरू भइसकेका छन्। विश्व स्वास्थ्य संगठनले पनि नाइगरमा यी नाम गरेका नक्कली औषधिहरूको बिक्री भइरहेको पाएको छ।
सक्कली एन्टिमलेरियल क्लोरोक्विनको एक बोतल (१ हजार ट्याबलेट)को मूल्य करीब ४० अमेरिकी डलर पर्छ। तर डेमोक्र्याटिक रिपब्लिक अफ कोङ्गोमा यस्तै नाम गरेका नक्कली औषधीहरू २ सय ५० अमेरिकी डरलभन्दा बढीमा बिक्री गरिँदै आएको फेला परेको छ।
यसरी बिक्री भएका औषधीहरू बेल्जियमस्थित ‘ब्राउन एन्ड बर्क फर्मास्युटिकल लिमिटेड’को नामबाट उत्पादन भएको पाइएको हो। उक्त कम्पनी बेलायतमा रजिस्टर भएको कम्पनी हो। तर‚ कम्पनीले भने यसको बचाउँ गर्दै भनेको छ‚ ‘हामीले यस्ता किसिमका औषधीहरू उत्पादन गरेका छैनौं। यो सबै अफवाह हो।’
कोरोना भाइरसको महामारी सुरू भएसँगै नक्कली औषधि बिक्री वितरण पनि ह्वात्तै बढेको छ। अक्सफोर्ड युनिभर्सिटीका नक्कली औषधीका विशेषज्ञ प्रोफेसर पल न्युटनका अनुसार जबसम्म विश्वभरका सरकारहरू एकजुट हुँदैनन्‚ त्यसबेलासम्म यस्तो अवस्थामा कमी आउँदैन।
‘हामीले यदि यस्ता किसिमका औषधिहरूमा नियन्त्रण गर्न सक्दैनौं भने कोरोनाजस्तै अन्य यत्तिकै खतरनाक संकट नआउला भन्न सकिँदैन। यदि विश्व नै यस विषयमा गम्भीर भएन भने आधुनिक चिकित्साले जति कमाएको छ। ती सबै गुमाउनुपर्ने स्थिति पनि आउन सक्छ‚’ न्युटनले भने।
बिबिसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।