एम्सटरडमको छातीबाट बग्ने
आम्स्टेल नदी
मान्छेको छाँया नपरेपछि,
ग्राफका रेखाजस्ता नहरहरू सङ्लिएका छैनन्
सायद, हजारौं प्रियजनको आँशु मिसिएर होला।
एकाएक आएको कहरले धेरैको सास थिचेको छ
हरपल रंगिन एम्सटरडम
यतिबेला केवल छटपटीमा
उज्यालो दिनको पर्खाइमा
नेपत्थमा टोलाइरहेछ।
बसन्तको सुरुमै पनि एम्सटरडम ह्वात्तै तातेको छ
मिनपचासको गर्भबाट फाटेर, रमाइलो उत्सव हुनुपर्ने
तर, निराशा र बिछोडले घेरिएको छ,
निलो आकाश पनि त धमिलो छ।
सायद, प्रियजनका चिताबाट निस्केको धुँवाले ढाकिएको छ।
धपक्कै फुलेका टुलिपहरू पनि मलिन छन्
बैंशले मैमत्ता भई ढलिमली गर्नुपर्ने
तर निराश छन्,
सायद भमरालाई बैंश चखाउन नपाई
श्रद्धाञ्जली पुष्पपुञ्ज बन्नुपर्ने भएर होला।
सदैव रस, रंग र बैंशले उन्मत्त तामसी एम्सटरडम!
मानव चित्कारबीच निष्पट शून्य जस्तै छ।
सडकका छेउ अनि घरमा
मधुरो मैन जलिरहेछ
सायद, प्रियजनका आत्मा परमात्मामा बिलिन हुँदैछन्।
तर, फेरि त्यो दिन आउनेछ,
अनि एम्सटरडम मुस्कुराउनेछ,
नहरहरू पहिलेझैं हर्षमा उर्लने छन्,
टुलिप जगमगाउनेछ
आकाश खुल्नेछ
एम्स्टर्डम फेरि रंगिनेछ
पहिलेझैं
उसैगरी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।