काठमाडौं- दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ भन्थे हो रहेछ। यो सरकारकै दशाले होला आज फेरि नभरेको बन्दुक पड्कियो। बन्दुक पनि यस्तो बेला पड्कियो कि सबै पहिल्यै नै घाइते थिए।
बिहीबार दिउँसोतिर ‘सरकारी पार्टीका आफन्त’ ले सामाजिक सञ्जालमा लेख्न थालेका थिए- ‘घर जान मन हुनेहरु झोला गुन्टा कस्दै गर्नु।’ ‘जनहितमा लागेका बचाउ दल कार्यकर्ता’का फाट्टफुट्ट त्यस्ता सन्देश आएको केही घन्टामा त समाचार आयो- ‘काठमाडौंबाट मानिसहरुलाई शुक्रबार र शनिबार बाहिर जान दिने तर काठमाडौं भित्रन नदिने।’
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक साथै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई नै उद्धृत गर्दै समाचार आइरहेका थिए, त्यो पनि विश्वसनीय मानिएका सञ्चार माध्यममा नै।
तर सरकारले नै अल्छी मानेर घरमा सुतिरहेका जनतालाई एकछिन रमाइलो होस् भनेर गरिदिएको ‘प्र्यांक’ सत्य मानेर पत्याउने जनता नै उस्तै हुन्। यसरी सरोवरी हुने गरी समाचार नआएको पनि त पाँच दिन भइसक्यो।
धनगढीमा कोरोना भाइरसका एक संक्रमितसहित एकैदिन तीन संक्रमित थपिएर नौं जना संक्रमित पुगे भन्ने समाचारपछि पत्रिकाका डिजिटल भित्ताहरु पनि खल्लो बनिरहेका थिए। समाचारहरु जोडजाड पारिएर गरिएको प्रधानमन्त्रीको सम्बोधन पनि त बिर्सने बेला भइसक्यो। समय अति अल्छिलाग्दो भयो भन्ने ठानेर जनताको मन भुलाउन सरकारले नै दुई घन्टा टिक्ने निर्णय जस्तो मजाक गरिदियो।
सरकारको मजाक नबुझेर घर जान झोला गुन्टा कसिसकेकाहरु खिन्न भए। यसपटक पनि नागरिकको मुहारमा एकछिन भए पनि खुसी ल्याउन सफल सरकारको सफलता केही बेरमा नै निराशामा परिणत भयो।
सरकारको मजाक नबुझेर घर जान झोला गुन्टा कसिसकेकाहरु खिन्न भए। यसपटक पनि नागरिकको मुहारमा एकछिन भए पनि खुसी ल्याउन सफल सरकारको सफलता केही बेरमा नै निराशामा परिणत भयो। युट्युबमा लाइक बढाउने ‘रमाइलो कन्टेन्ट’ जस्तो निर्णयमा गम्भीर भएका नागरिक सञ्चार माध्यमका ‘पत्रुकार’ले नभएको कुरा लेखेछन् भनेर मन बुझाउने मेसो खोज्न थाले।
जबजब विपतमा सरकारले केही हुण्डरी मच्चाउँछ र आफैमाति आपत निम्त्याउँछ तबतब ‘नभएको कुरा सञ्चार माध्यममा आयो’ भनेर पन्छिन थालिहाल्छ। अनि गालि उही पत्रकार माथि नै। हुन पनि सरकारको कुरा आउन पाएको छैन समाचार बनाइहाल्न हुन्न भनेर यी पत्रकारले कहिले बुझ्ने हुन् थाहा छैन।
गीत गाउनेको सुसेलीबाटै थाहा हुन्छ भनेजस्तो सरकारले गीत गाउन खोज्दा धेरैपटक फुस फुस हावा मात्रै फुुस्किएको जनताले सुनैकै हुन्। तर पनि काठमाडौंमा बन्द कोठामा १७ दिनको क्वारेन्टाइन बन्दी बनिरहेका मानिसहरु घर जान पाउने अन्तिम मौकालाई विश्वास नगरिरहन सकेनन्। थालिहालेछन् झोला मिलाउन।
निर्णय गर्नुअघि छलफल गर्ने हो निर्णय भइसकेपछि गर्ने होइन भनेर यो दुई तिहाइको सरकारलाई सिकाउनुपर्ने विषय पनि होइन। कि काठमाडौंमा रहेका भोकानाङ्गालाई यहाँबाट लखेटौँ र कम्तिमा हामी चाहिँ सुरक्षित बसौँ भन्ने हो? सर्वहाराको दुःख बुझेको दुई तिहाइको सरकारले त्यस्तो त पक्कै सोचेन।
काठमाडौं काम हुँदा जति व्यस्त छ, काम नहुँदा उति नै अत्याशलाग्दो छ। यसैले त हप्तौँ लगाएर हिँडेरै भए पनि आफ्नै घर फर्कने लस्कर काठमाडौंको सडकमा लकडाउनकै बीच पनि देखिएकै छ। त्यस्तोमा सरकारले नै गाडीमा चढाएर घर पुर्याइदिने रे भन्दा खुसीले तीन हात उफ्रिनु सामान्य नै हो।
काठमाडौंबाट बाहिर जान पाइने तर काठमाडौैं आउन नपाइने त्यो कस्तो खालको सोचमा आएको निर्णय थियो भन्ने बुझ्न अब असम्भव छ। कोरोनाको जोखिम र त्यसबाट सावधानी अपनाउन एक हप्ताअघि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नै एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावतमा रोक लगाउने निर्णय गरेको थियो। तर अहिले काठमाडौंका मान्छेलाई बाहिर पठाउने निर्णय गर्दा प्रदेश सरकार तथा स्थानीय तहसँग कुनै छलफल भएको थिएन। जसले दुई घन्टे निर्णय फिर्ता भइहाल्यो।
भारतमा बढ्दै गएको जोखिमसँगै नेपालमा पनि लकडाउन समय अझ बढ्ने निश्चित छ। यस्तोमा आफ्नै घर गएर सुरक्षित बस्न पाउने सरकारको कुरा नटिक्दा नागरिक दुःखी हुने नै भए। बाहिर बाहिर लोकाचार भित्रभित्र पोका पार भनेजस्ता व्यापारी भएको यो सहरमा सामान पाइए नै पनि मानिसहरुलाई बिनाकाम जिउन मुस्किल छ।
यातायात मन्त्री बसन्तकुमार नेम्वाङसँग पनि छलफल भएको थियो। जहाँ मन्त्री नेम्वाङले काठमाडौंबाट मानिसहरुलाई बाहिर लान नसकिने स्पष्ट रुपमा बताइदिए।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको निर्णयपछि गृह सचिवको नेतृत्वमा गृहमन्त्रालयमा सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, महानगरीय ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था विभागको महानिर्देशक र यातायात व्यवसायी प्रतिनिधिसहित भएको छलफल निस्कर्षविहीन भयो। निस्कर्ष निस्कियोस् पनि के? यो गम्भीर विपतमा कसरी पठाउने घर?
गृहसचिवको नेतृत्वमा भएको बैठकपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङसँग पनि छलफल भएको थियो। जहाँ मन्त्री नेम्वाङले काठमाडौंबाट मानिसहरुलाई बाहिर लान नसकिने स्पष्ट रुपमा बताइदिए।
चीनको राजा भोटको नुन, ज्यानै दिएपछि देख्ने हो गुन? होइन भने माघ ९ गते पहिलो कोरोना संक्रमित भेटिएपछि सरकार तयारीमा लाग्नुपर्ने हो कि होइन भनेर प्रश्न पोे कति गर्नु। चैत १० गते दोस्रो संक्रमित भेटिएपछि नै के के भयो त?
चीनबाट पिपिइलगायत मेडिकल सामग्री ल्याउँदाका भ्रष्टाचार (हुन त हिन्दी कथानक चलचित्र मदारीको डाइलग जस्तो ‘सरकार भ्रष्ट छ भन्नु गलत हो, सही त यो हो कि भ्रष्टाचारका लागि सरकार छ’), स्वास्थ्यकर्मीमाथि स्वास्थ्यमन्त्रीको बोली, महाकालीमा हेलिएका नागरिकको दुःख र अहिलेको दुई घन्टे निर्णय जस्ता विषय देख्दा त झसङ्ग भइन्छ र प्रश्न गर्न मन लाग्छ- यो देश त हो? यहाँ सरकार छ?
छुट्टै भूगोलबाहेक यसमा अरु केही अस्तित्व छ भन्ने देखिने गरी ‘हाम्रो सरकार’ भनेर गर्व गर्न पाए हुने हो। जस्तो लालिगुराँस, डाँफे, हिमाल, पहाड तराइको अनुपम सुन्दरता रटाएर बर्षौं गर्व गरियो।
हामी पाठहरु असाध्यै राम्ररी सम्झन्छौँ, कक्षाकोठाको पाठ परीक्षासम्म सम्झिए जस्तो। भूकम्पको पाठ पनि त अस्तिसम्म सम्झिएकै थियौँ। तर दुई तिहाइको यो सरकारले दिइरहेका पाठ भने छिटै बिर्सिइएला जस्तो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।