काठमाडौं- विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने गरी आचारसंहिता बनाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र एडुकेसन क्लस्टरको सहकार्यमा विद्यालयको भौतिक क्षति नपुग्ने गरी वडाअध्यक्षको रोहबरमा सो क्वारेन्टाइन सञ्चालक समिति र विद्यालयबीच सहमति गराइ हस्ताक्षर गरिनुपर्ने संहितामा उल्लेख छ।
आचारसंहितामा १२ बुँदा छन्।
शिक्षा मन्त्रालयका प्रवत्ता दिपक शर्माले नेपाल सरकारल क्वारेन्टाइन बनाउन बनाएको आचासंहिताबाहेक विद्यालयलाई प्रयोग गरेको सन्दर्भमा थप ध्यान दिनुपर्ने विषय नमुना आचारसंहितामा उल्लेख गरिएको बताए।
‘स्वास्थ्य मन्त्रालय र संघीय मामिला मन्त्रालयले क्वारेन्टाइन कसरी बनाउनुपर्छ भन्ने आचारसंहिता बनाएका छन्,’ शर्माले भने, ‘हामीले विद्यालयलाई प्रयोग गर्दा थप ध्यान दिनुपर्ने कुरा आचारसंहितामा उल्लेख गरेका छौँ।’
यस्तो छ आचारसंहिता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र एडुकेसन क्लस्टरको
सहकार्यबाट तयार गरिएको
‘विद्यालयमा क्वारेन्टाइन व्यवस्थापन गर्दा पालन गर्नुपर्ने आचार संहिताको नमुना, २०७६’
नेपाल सरकारबाट कोरोना भाइरस (COVID 19) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ स्वीकृत गरी लागु गरिएको छ । यस मापदण्ड अनुसार विद्यालयलाई
क्वारेन्टाइनको स्थलका रुपमा प्रयोग गर्न आवश्यक भएमा सो क्वारेन्टाइन सञ्चालक समिति र
विद्यालय बीच सहमति पत्रमा हस्ताक्षर गरी जिम्मा लिने दिन गर्न पर्नेछ। यस्तो सहमति पत्रमा क्वारेन्टाइन सञ्चालन गर्दा दुवै पक्ष बीच निम्न लिखित आचार संहिता पालना गर्ने, गराउने व्यवस्था मिलाउनु पर्नेछः
१. क्वारेन्टाइनको सम्पूर्ण अवधिमा विद्यालयको भौतिक तथा आन्तरिक व्यवस्थापनको निगरानी र सुरक्षाको लागि स्थानीय सरकार र विद्यालयले तोकको व्यक्तिसँग आवश्यक समन्वय गरिनेछ ।
२. विद्यालयको भौतिक सामग्रीहरु जस्तै झ्याल, ढोका, दराज, टेवल, कुर्सी, कार्पेट, कुसन, धारा, पानी ट्याङ्की, कल, सौचालय आदिमा क्षति पुर्याइने छैन। क्षति हुन पुगेमा उचित क्षतिपूर्ति उपलब्ध गराइने छ ।
३. कक्षाकोठामा आगो बाल्नाले रङ रोगनसहित आन्तरिक सजावट बिग्रिन वा क्षति हुन सक्दछ । त्यसैले कक्षा कोठामा आगोको प्रयोग गरिने छैन ।
४. विद्यालयमा भएको शैक्षिक तथा सन्दर्भ सामग्री प्रयोग गरिने छैन । साथै उपलब्ध सामग्रीहरु सुरक्षित राखिने छ ।
५. क्वारेन्टाइनको समयावधिभर बिजुली, पानी, टेलिफोन प्रयोग भएमा त्यसबाट उठेको रकम नियमानुसार क्वारेन्टाइन व्यवस्थापन समितिबाट व्यहोरिने छ ।
६. विद्यालयमा रहको कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुदका सामग्रीहरुको प्रयोग गरिने छैन । साथै विद्यालय परिसर भित्रका विद्यालय बगैँचा, रूख विरुवामा क्षति पुर्याइने छैन ।
७. शिक्षकहरूलाई आपतकालिन समयमा सहयोगका लागि परिचालन गर्नु परेमा नियमानुसार आवश्यक सुरक्षा उपकरणहरू प्रदान गरेर मात्र परिचालन गरिनेछ ।
८. क्वारेन्टाइनको समयावधि समाप्त भए पछि विद्ययालको कोठा, भान्छा, शौचालय, खेल मैदान, इनार, धारा तथा अन्य प्रयोग गरिएका सामग्री र विद्यालय परिसर सफा गरी किटाणु रहित औषधि प्रयोग गरी निर्मलीकरर् गरिनेछ ।
९. क्वारेन्टाइनको समयावधि भरी विद्यालयमा कुनै पनि असान्दर्भिक क्रियाकलाप, ध्रुम्रपान, मद्यपान तथा विद्यालय शान्ति क्षेत्रको नियम विपरितका कुनै पनि कार्य गरिने छैन । साथै दीर्घकालसम्म बालबालिकालाई भय उत्पन्न हुनसक्ने कार्य गरिने छैन ।
१०. थप क्वारेन्टाइनको व्यवस्था गर्न आवश्यक परेको अवस्थामा सकेसम्म वैकल्पिक स्थान छनौट गरिने छ ।
११. विद्यालय परिवारबाट क्वारेन्टाइन सञ्चालन भएका समयमा कार्य सञ्चालनमा बाधा हुने गरी कुनै पनि कार्य गनै, गराइने छैन ।
१२. सरकारबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएपछि कक्षा सञ्चालन गर्नुभन्दा कम्तीमा ३ दिन पहिले नै क्वारेन्टाइन व्यवस्थापन समितिबाट क्वारेन्टाइन व्यवस्थापन बन्द गरी कम्तीमा ७२ घण्टा पहिले नै Disinfection गरी खाली गराइने छ ।
पहिलो पक्ष
अध्यक्ष वा प्रधानाध्यापक, सम्बन्धित विद्यालय
नामः
हस्ताक्षर
मितिः
रोहबर
१. वडाध्यक्ष वा वडा सदस्य
२.
३.
दोस्रो पक्ष
अध्यक्ष, क्वारेन्टाइन व्यवस्थापन समिति
नामः
हस्ताक्षर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।