काठमाडौं- सुनसरीका रमानन्द ठाकुर विगत ३ वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत छन्। कतारको रस्लापानस्थित पार्गोला गार्डेन ग्रीनहाउसमा काम गर्ने उनी सोमबार बिदामा नेपाल फर्किए। कतारमा कोरोना संक्रमण बढ्दै गएको भनिए पनि कार्यास्थलमा त्यति डरमर्दो नभएको उनी बताउँछन्।
‘म कोरोनाको डरले फर्किएको होइन, बिदा यही समयमा परेर फर्किएको। बाहिरी हल्ला जति छ, कार्यास्थलमा त्यति त्रास छैन,’ उनले भने, ‘बरु नेपालमा भन्दा त्यहाँ सुरक्षित भइन्छ। नेपालमा त हल्ला मात्रै बढी।’ त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भेटिएका ठाकुरले थपे।
ताप्लेजुङका नुरु राई मलेसियाबाट मंगलबार नेपाल फर्किए। मलेसियाको पेनाङस्थित सेक्युरिटी गार्डमा कार्यरत उनी १५ दिनको बिदामा फर्किएका हुन्। ‘म काम गर्ने ठाउँमा त कोरोनाको त्यस्तो त्रास थिएन। नेपालमा जस्तो हो त्यस्तै हो मलेसियामा पनि। विश्वभर भाइरसको संक्रमण बढेपछि सजग त हुनै पर्यो। तर मलेसियामा त्यति ठूलो डर थिएन।’ १५ दिनको बिदा लगत्तै उनी मलेसिया फर्किहाल्ने सोचमा छन्।

साउदीस्थित आयल सर्भ कम्पनीमा लेबर काम गर्दै आएका नेपालगञ्जका मन्तोरामको बिदा पनि यसै बेला पर्यो। ४ वर्ष अघि रोजगारीको सिलसिलामा साउदी मन्तोराम २ वर्ष अगाडि करार अवधि सकेर नेपाल आएका थिए। पुनः श्रम स्वीकृति लिएर साउदी पुगेका उनी थप २ वर्ष काम गरेर नेपाल फर्किएका हुन्।
‘कोरोना भाइरसले चीन, कोरिया र कता कता मान्छेहरुको मृत्यु भएको छ रे। साउदीमा हामीले काम गर्ने ठाउँमा त त्यस्तो केही भएको छैन,’ उनी सुनाउँछन्। मन्तोराम अब एक महिना नेपाल बसेर फेरि सोही कम्पनीमा फर्कने छन्।

रमानन्द, नुरु र मन्तोरामजस्तै अन्य परदेशबाट फर्किएका नेपाली श्रमिकहरूले नेपालमा हल्ला फैलिए जस्तो त्रास गन्तव्य मुलुकस्थित कार्यस्थलमा नभएको बताएका छन्।
विश्व स्वास्थ्य संगठनकाअनुसार हाल विश्वका ८० भन्दा बढी मुलुकमा कोरोना संक्रमण फैलिसकेको छ। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण दक्षिण कोरिया, जापान, अमेरिका, फ्रान्स, क्यानडा हुँदै मलेसिया र खाडीका मुलुकहरूमा समेत प्रवेश गरेको छ। नेपालबाट रोजगारीको खोजीमा अन्य मुलुकको तुलनामा मलेसियालगायत खाडी जानेको संख्या ठूलो छ। खाडीका कतार, युइई, बहराइन, ओमान, साउदीलगायत मुलुकहरूमा समेत कोरोना संक्रमण फैलिएको छ। तर कोरोना प्रभावित मुलुकमा नेपाली कामदार जान भने छाडेका छैनन्। त्यहीँ कार्यरत नेपाली पनि कोरोनाको त्रासकै कारण फर्किएको अवस्था पनि छैन।


गन्तव्य मुलुकमा रहेका सम्बन्धित कुटनीतिक नियोगहरूले नेपालीहरुलाई सजग रहन आग्रह गरिरहेका छन्। कोरियास्थित नयाँ कामदार पठाउन केही समयका लागि उडान स्थिगित गरिए पनि अन्य मुलुकमा भने स्थगित गरिएको छैन। सरकारले पनि कोरोना प्रभावित मुलुकहरूमा परिस्थितिअनुसार तत्कालका लागि श्रम स्वीकृति स्थगन गर्न सकिने उल्लेख गरेको छ।

सर्वोच्च अदालतले कोरोना प्रभावित मुलुकमा कामदार पठाउन तत्कालका लागि रोक लगाउने आदेश दिइसकेको छ। आदेशको पालन भने पारिस्थिति हेरेर गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए।
‘कोरोना संक्रमणको अबस्था संवेदनशील विषय हो। हामीले यस विषयलाई प्राथमिकताका साथमा हेरिरहेका छौँ,’ सहसचिव घिमिरेले भने।
म्यानपावर व्यवसायीले पनि कामदार लिने (गन्तव्य) मुलुकले नेपाली कामदार लिन रोक नलगाएसम्म श्रम स्वीकृति स्थगित नगर्न सरकारसँग आग्रह गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।