काठमाडौं– सर्वोच्च अदालतले एक मानव बेचविखन मुद्दामा अदालत नै उपस्थित नभएको आरोपितलाई सफाइ दिने फैसला सुनाएको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र हरिप्रसाद फुयाँलको इजलाशले जिल्ला र उच्च अदालतले दोषी ठहर गर्दै १० वर्ष कैद सजाय गरेको मुद्दा उल्टाउँदै सफाइ दिने फैसला सुनाएको हो।
६ वर्षसम्म एकपछि अर्को अदालतमा चलेको मुद्दामा २०७६ साउनमा फैसला सुनाउँदै सर्वोच्चले आरोपित शोभा बादीलाई सफाइ दिएको हो। केरा खुवाएर वेहोस बनाएर मुम्बई लगेर बेच्न लागेको र आफूले रोइकराई गरेपछि पुनः नेपाल ल्याई छोडेको अभियोगमा विश्वास गर्ने आधार नभएको भन्दै सर्वोच्चले बादीलाई सफाइ दिएको हो।
हालै मात्र सार्वजनिक भएको सर्वोच्चको पूर्णपाठमा नयाँ नजीर पनि कायम गरिएको छ। सर्वोच्चको यो नजीरले मुद्दामा कुनै कारणबस अनुपस्थित भएपनि न्याय पाउने कुरा मर्न नहुने भनेको छ। न्यायीक प्रक्रियामा कुनै कारणले आउन नसक्नु नै अपराध गरेको ठहर हुनु नभएको भन्दै सर्वोच्चले यस्तो व्याख्या गरेको हो।
पीडितको उपस्थिति हैन न्याय पहिलो कुरा हो
सर्वोच्च अदालतले न्यायीक प्रक्रियामा कुनै कारणले उपस्थित हुन नसकेपछि न्याय पाउने कुराबाट बञ्चित हुन नसक्ने भनेको छ। 'अशिक्षा, अज्ञानता, गरिबी, न्यायमा पहुँचको समस्यालगायतका विविध कठिनाइका कारण मुद्दाको पक्षले पुनरावेदन गर्न नसेकेकाे अवस्था हुन सक्दछ,’ सर्वोच्चको पुर्णपाठमा भनिएको छ, ‘व्यक्तिले कुनै व्यवहारिक कारणले पनि थाहा नपाएको हुनसक्छ, उचित कानुनी सहायत प्राप्त नगरेको हुन सक्दछ।’
सर्वोच्चले न्यायीक प्रक्रियामा पहुँच नभएकै कारण प्रतिवादीले दोषी ठहर हुनुपर्ने हुन नसक्ने भनेको छ। 'पुनरावेदन पर्न नआएको अवस्थामा भएपनि प्रमाणको दृष्टिले न्यायको रोहमा प्रतिवादी उपर ठहर भएको कसुर र सजाय उल्टी नगर्दा गम्भीर अन्यायको स्थिति पैदा हुने वा गम्भीर कानुनी त्रुटि हुने अवस्था देखिन आयो,’ सर्वोच्चको फैसलामा भनिएको छ, ‘प्रतिवादीमध्ये कसैले पुनरावेदन नगरेको भएपनि गम्भीर अन्याय भएको देखिन आएको अवस्थामा तल्लो अदालतबाट भएको फैसला उल्टने गरी पुनरावेदन सुन्न सक्ने देखिन आयो। त्यसैले जिल्ला र तत्कालीन पुनरावेदनले शोभाको हकमा गरेको फैसला कानुन प्रतिकूल र अन्यायपूर्ण देखिएकाले उल्टि हुने ठहर छ।' सर्वोच्चले यो फैसला कायम रहँदा न्यायीक प्रक्रियाको दुरुपयोग हुन पुगेको स्थिति कायम रहेको हुनसक्ने फौजदारी कार्यविधि संहिताअनुसार सबै प्रतिवादीलाई सफाइ दिएको फैसलामा उल्लेख छ।
आरोप लगाउँदैमा मानव बेचविखन हुँदैन तथ्य र प्रमाण पुग्नु पर्दछ
सर्वाेच्चले मानव बेचविखन मुद्दामा सजाय गर्न जाहेरवालाको आरोपमात्र प्रयाप्त नभएको व्याख्या गरेको छ। आरोप लागेको व्यक्तिको संलग्नता पुष्टि हुने तथ्य र प्रमाण पनि हुनुपर्ने फैसलामा भनेको छ।
पानकुमारीको मुद्दामा १८ वर्ष उमेर पुगेकी एक युवतीले केरा खुवाएर बोहोस बनाएर मुम्बई पुर्याएर र त्यहाँ रोइकराई गरेकै आधारमा नेपाल फर्काएको कुरालाई पुष्टि गर्ने आधार नभएको व्याख्या गरेको छ। पानकुमारीले जिल्ला अदालतको बयानमा प्रहरीको भन्दा ठीक उल्टो बयान गरेको कुरा पनि सर्वोच्चले सफाइ दिने आधारमा लिएको छ।
पानकुमारीले मुम्बईमा दुईजना नेपाली भेटेको भनेको तर उनीहरुको परिचय नखुलेको अनि जसले लगेको हो उसैले नेपाल ल्याएको भनेको तथा जिल्ला अदालतको बयानमा प्रहरीले नसुनाइ हस्ताक्षर गराएको बयान दिएकाले मानव बेचविखन नै भएको भन्ने निष्कर्षमा पुग्न नसकिने फैसलामा उल्लेख गरेको छ। सर्वोच्चले मानव बेचविखन जस्तो गम्भीर अपराधमा फरकफरक बयान हुनु र तथ्यलाई पुष्टि गर्ने आधार नभई कुनै व्यक्तिलाई दोषी ठहर गर्न नसक्ने भनेको छ।
यस्तो थियो घटना
घटना २०६८ जेठ २७ गतेदेखि सुरु हुन्छ। प्रतिवादी शोभा बादीसहित तीनजनाविरुद्ध नाम परिर्वतन पानकुमारीले मानव बेचविखनको आरोप लगाउँछिन्।
बेचविखनमा परेको दावी गरेकी नाम परिर्वतन पानकुमारीसँग आरोपित प्रतिवादी शोभाको भेट सुर्खेतको सल्ली जादाँ बाटोमा हुन्छ। आफ्नो फोटो लिन सल्लीबजार जाने क्रममा शोभासँग भेट भएको र उनले छिन्चु लगेको र उक्त दिन छिन्चुको होटलमा बसेर भोलिपल्ट आफूलाई मुम्बई पुर्याएको बयान प्रहरी कार्यालयमा दिन्छिन्। उनलाई लैजाने कार्यमा जुठी भन्ने लिला बादी र विनोद बादीले बसमा चढाएर केरा खुवाई वेहोस बनाएर मुम्बई पुर्याएको उनको जाहेरी रहेको थियो।
सुरुमा आफूलाई विनोदसँग विवाह गर्न दबाब दिएको र नमानेपछि केरा खुवाएर वेहोस बनाएको बयान पानकुमारीले प्रहरी समक्ष दिएकी थिइन्। यसरी तीनजनाले मुम्बई लगेर दुई नेपाली मानिसहरुको भान्छा कोठामा आफूलाई छोडेको बयान दिएकी थिइन्। बयानमा उनले ती केटा मान्छेहरुसँग रोइकराई गरेपछि शोभा र लिलाले रुपेडिया नाका हुँदै छिन्चोमा ल्याएर छोडेको कागज गरेकी थिइन्।
पानकुमारीको नाताले शोभा मामाको साली पर्ने भएकाले दिदी भन्ने साइनो लगाउने गरेकी थिइन्। तर, बयानका क्रममा अन्य प्रतिवादीहरुले उनलाई बिक्री गरेको अस्वीकार गरेका थिए। पीडित पानकुमारीको जाहेरीपछि प्रहरीले शोभा बादी, लिला बादी र विनोद बादीविरुद्ध मानव बेचविखन मुद्दा दायर गर्याे।
उक्त मुद्दामा फैसला सुनाउँदै जिल्ला अदालत सुरुमा दुई प्रतिवादीहरु लिला बादी र विनोद बादीलाई सफाइ दिँदै फरार रहेकी शोभा बादीको मुद्दा मुल्तवीमा राख्ने फैसला २०६९ जेठ २१ गते गरेको थियो। लगत्तै शोभा बादीको अंश रोक्का सम्बन्धी मुचुल्का भएपछि २०७० चैत २७ मा मुल्तवीबाट मुद्दा जगाइयो। उक्त मुद्दामा दोस्रो फैसला सुनाउँदै जिल्ला न्यायाधीश लिलाराज अधिकारीको इजलाशले २०७१ वैशाख २३ गते शोभा बादीलाई दोषी ठहर गर्दै १० वर्ष कैद र ५० हजार जरिवाना गर्ने फैसला सुनायो।
जिल्ला अदालतमा बयानका लागि समेत अनुपस्थित रहेकी उनीसहित अन्य विरुद्ध मुद्दा पुनरावेदन भयो। तत्कालीन पुनरावेदन अदालत सुर्खेतले २०७१ कार्तिक २४ गते जिल्ला अदालतको फैसला सदर गर्याे। जिल्लाको फैसला सदर भएपछि सरकारी पक्षले पुनः सर्वाेच्च अदालतमा पुनरावेदन दर्ता गरायो। उक्त मुद्दामा २०७६ साउन ९ गते फैसला सुनाउँदै सर्वोच्चले आरोपित व्यक्ति अदालत उपस्थित नभएपछि सफाइ पाउने फैसला सुनायो।
फैसला तलको लिंकमा हेर्नुस्
http://supremecourt.gov.np/web/assets/downloads/judgements/%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A5%8B%E0%A4%9A%E0%A5%8D%E0%A4%9A_%E0%A4%85%E0%A4%A6%E0%A4%BE%E0%A4%B2%E0%A4%A4-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AC-%E0%A5%A6%E0%A5%AE-%E0%A5%A7%E0%A5%AB.pdf
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।