श्यामलाल श्रेष्ठ अहिले ७९ वर्षका भए।
तर २१ वर्षको उमेरका सबै घटनाक्रम ताजै छन् उनको मानसपटलमा।
उनले आफ्ना स्मृतिका पाना पल्टाइरहँदा ती कसरी उनको मनमा गढेर बसेको रहेछ छर्लङ भइरहेको थियो।
राणा शासन फाल्न ०७ सालमा भएको आन्दोलन होस् अथवा संविधान सभाको माग गर्दै ०१४ सालमा भएको भद्र अवज्ञा, ती सबैमा श्रेष्ठ कहिल्यै छुटेनन् ।
उनको यो क्रम ०३६, ०४६ हुँदै २०६२/०६३ को जनआन्दोलनसम्म पनि रोकिएन।
किलागलको आफ्नै निवासमा नेपाल लाइभसँग जोखिमपूर्ण स्मृतिका पाना पल्टाइरहँदा उनी कहिले उत्साहित देखिन्थे, कहिले निरास। पञ्चायतकालमा जेलमा हुँदा दुर्गानन्द झालाई आँखै अगाडि फाँसी दिएको देखेका श्रेष्ठ ती तीता विगत सुनाउँदा अहिले पनि भक्कानिन्छन्।
हिजो प्रजातन्त्रका लागि लडेका उनी अहिले लोकतान्त्रिक मुलुकमा छन्। र, आफ्नो संघर्षपूर्ण विगतबाट सन्तुष्ट। हामीले पुराना संघर्षका पानाहरु पल्टाउने प्रयास गर्दा उनी निक्कै खुसी भए र पल्टाउन सुरु गरे प्रजातन्त्रका लागि लडेका ती कठिन दिनका स्मृतिका पानाहरु :
कलकत्तामा बनेको पहिलो मिसन
२०१८ साल, माघ अन्तिम साता।
भारतको पटनामा रहेका नेपाली कांग्रेसका कार्यवाहक सभापति सुवर्णशमसेर राणाले प्रजातन्त्र पुनस्र्थापनाका लागि सशस्त्र क्रान्तिको आह्वान गरे।
दोस्रो सशस्त्र क्रान्तिमा सुवर्णकै आह्वानमा ‘हान र भाग’ को नीति लिएको थियो कांग्रेसले। २०१७ पुस १ मा राजा महेन्द्रले खोसेको प्रजातन्त्र फिर्ता ल्याउन अर्को संघर्ष सुरु हुँदै थियो।
त्यो बेला श्यामलाल श्रेष्ठ २१ वर्षका मात्रै थिए। सुवर्णको आव्हान सुनेलगत्तै उनको मन उडेर कलकत्ता पुगिसकेको थियो। उनको गोडाले मनको आव्हान रोक्न सकेन र पुगे कलकत्ता।
निरंकुश सत्ताले बाटाभारी तेस्र्याएको अवरोध छिचोल्दै कलकत्ता आइपुगेका पार्टीका कार्यकर्तामाझ सुवर्णले भने ‘यो हाम्रो अन्तिम मिसन हो। यो सफल भयो भने देशमा प्रजातन्त्र फेरि आउँछ।’
०७ सालमा बल्ल–बल्ल ल्याएको प्रजातान्त्रिक अभ्यासले पखेटा पनि उमार्न नपाउँदै बीचैमा निमोठेका थिए महेन्द्रले। सुवर्णले ‘प्रजातन्त्र आउँछ’ भनेपछि उनको भाषण सुन्ने युवाहरुको मन जोशले भरियो। श्रेष्ठ पनि कस्सिए, महेन्द्रले दरबारमा थुनेर राखेको प्रजातन्त्रलाई स्वतन्त्र गराउन।
‘हाम्रो बलिदानले देशमा फेरि प्रजातन्त्र आउँछ भने ठिक छ भन्नेमा पुग्यौं,’ पुराना स्मृतिका पाना पल्टाउँदै उनले नेपाललाइभसँग भने‘ , ‘अनि प्रजातन्त्र फर्काउने सपना लिएर नेपाल फर्किइहाल्यौं।’
उनीसहितको टोलीले पाएको मिसन थियो सिंहदरबार, नारायणहिटीलगायत काठमाडौंका महत्वपूर्ण २६ ठाउँमा एकै दिन, एकै पटक बम पड्काउने। श्रेष्ठको भागमा प¥यो राजतन्त्रको शानको संरक्षण गरिरहेको नारायणहिटीलगायत महत्वपूर्ण स्थान।
जिजुबाजेले जंगबहादुरको श्रीमती भगाए
उनलाई नारायणहिटीनजिक बम पड्काउने जिम्मा दिनुको कारण थियो उनको दरबारसँगको निकटता। दरबारसँग उनको पारिवारिक सम्बन्ध थियो। उनी भने त्यो सम्बन्धका आधारमा सुखद जीवनयापन गर्नुको साटो देशमा प्रजातन्त्रको लहर ल्याउन जोखिम मोलेर हिँडिरहेका थिए।
दरबारसँग सम्बन्ध जोडिन पुग्नुको पछाडि रोचक घटना रहेछ। दरबारमा काम गर्ने उनको जिजुबुबाले जंगबहादुरको एक श्रीमती भगाइदिए। जंगबहादुरको श्रीमती भगाएर उनको जिजुबुबा ज्युँदै रहन कहाँ सक्थे। फाँसी पक्का। त्यसैले उनी श्रीमतीसहित भूमिगत भइहाले।
तर कति दिन लुक्ने। लुक्दालुक्दा आजित भएपछि मरिए मरिन्छ भनेर उनी जंगबहादुरलाई भेट्न गए। खै के भयो जंगबहादुरलाई, उनले एक पटक माफाी पायौं भन्दै श्रेष्ठका जिजुबुबालाई माफी दिएछन् ।
उनको जिजुबुबाले भगाएर ल्याएकी श्रीमतीबाट जन्मिएकी छोरीको विवाह राजा त्रिभुवन वीरविक्रम शाहका बुबा पृथ्वी वीरविक्रम शाहसँग भयो। यसरी श्रेष्ठ परिवारको सम्बन्ध दरबारसँग कस्सियो।
सानैदेखि राजा त्रिभुवनसँग दशैंको टिका लगाउन गएको दृष्य उनको मानसपलटमा अझै ताजै रहेछ।
‘राजा त्रिभुवनसँग टिका लगाएपछि उनकी दुवै श्रीमतीसँग टिका लगाउँथे,’ श्रेष्ठले स्मृतिका पोका फुकाल्न थाले‘ । त्यसपछि मेरो बज्यै भएको ठाउँमा लगेर टिका लगाइदिन्थ्ये । तिम्रो बज्यै हो भनेर मलाईं अरुले नै चिनाए।’
उनका बाजे पनि दरबारमै काम गर्थे। पछिसम्म पनि बज्यैलाई दरबारबाट भत्ता आइरहन्थ्यो। उनको बाजेको मृत्युपछि हजुरआमाको भत्ता लिन दरबार जाने पालो आयो श्रेष्ठको । त्यसैले उनलाई नारायणहिटीभित्र जान त्यति गाह्रो थिएन ।
हिराकाजीलाई नचिन्दा
०१७ सालको राजनीतिक ‘कु’पछि प्रजातन्त्र ल्याउन बनेको योजनाबारे कुरा हुँदै थियो उनीसँग । कुरैकुरामा उनी ०७ सालतिर फर्किए। ०७ सालको राजनीतिक घटनाक्रमले नै उनको कलिलो मनमा राजनीतिको बिउँ रोपेको थियो। उनी सुनाउन तयार भए, हामी सुन्न राजी नै थियौं।
चाक्सीबारीमा बस्नुअघि गणेशमान सिंह किलागलमा बस्थे। सिंह र श्रेष्ठको घर आमनेसामनेमै थियो। त्यहाँ जहिले पनि बाक्लो चहलपहल हुन्थ्यो। सेना–प्रहरी आएर घर घेरिरहन्थ्ये । कफ्र्यू पनि उत्तिकै लगाउँथ्यो सरकारले। त्यो बेला घरको प्वालबाट बाहिर हेर्दा सेनाले बन्दूक तेस्र्याउदै, ‘ओए नेवार हेर्छस्’ भन्थे रे।
गणेशमानलाई सुरुमा उनी चिन्दैंनथे। हिराकाजीको कुरा भने टोलमा भइरहन्थ्यो। श्रेष्ठ जन्मनुअघि नै हिराकाजी जेल परिसकेका थिए। त्यसैले टोलमा हिराकाजीको कुरा हुँदा उनलाई को होलान् उनी भन्ने लाग्थ्यो।
०७ सालमा जेलबाट छुटेर आएपछि गणेशमान सिंहको नाराले टोल गुन्जियो। अनिमात्र उनले चाल पाए हिराकाजी भनेको त गणेशमान सिंह नै रहेछन् ।
टोलमा राणाविरोधी गतिविधि भइरहन्थ्ये। कहिले महंगीविरुद्धको जुलुस निस्कन्थ्यो, कहिले राणा शासनविरुद्धको जुलुस। जुलुस देखेर उनी प्रभावित भइरहेका थिए।
गोर्खा परिषद्को झण्डामा तीन तारा थिए। काँग्रेसको झण्डामा चार तार । टोलमा ‘तीन तारा, भात मारा’, चार तारा ‘जिन्दावाद’ भन्दै नारा लाग्थ्यो। त्यसपछि श्रेष्ठलाई लाग्यो, नेपाली कांग्रेस भनेको गणेशमानको पार्टी रहेछ ।
‘०७ साल अघिसम्म गणेशमानजीको घरमा सधैंजसो रुवाबासी चल्थ्यो । कहिले गणेशमानजीलाई फाँसी दिन लग्यो भन्ने आउथ्यो, कहिले जेलबाट छुट्ने कुरा आउँथ्यो,’ उनले भने‘, ‘हामी सबै त्यही गएर बस्थ्यौं । छुट्छन् भनेपछि भाँडा पसलमा राखेका गाग्री ल्याएर त्यसैमा दही राखेर कुर्थे। दिनभर गाग्री र दही राख्यो । अन्तिममा नछुटेपछि त्यही दही र चिउरा खायो बस्यो।’
डकोटा विमानबाट छरिएको पर्चा
काठमाडौंमा ०७ सालमा क्रान्ति हुने हल्ला चल्दा उनी ९ वर्षका थिए । उनी एक दिन साथीहरुसँग घर नजिकैको ठूलो बहालमा खेल्दै थिए । साँझपख हेलिकोप्टर उड्यो। त्यतिबेलासम्म डकोटा विमान देखेका थिएनन् उनले। आश्चर्य लाग्ने नै भयो।
डकोटा विमान पनि तलैबाट उडिरहेको थियो। विमानबाट एक्कासी कागज उड्न थाल्यो । त्यो त पर्चा रहेछ, जहाँ क्रान्तिका कुरा लेखिएका थिए। उमेर बढ्दै गएपछि उनले चाल पाए त्यो डकोटा विमान सुवर्णशम्सेरका भाइ महावीरशम्सेरको रहेछ।
‘पछि जेल पर्दा त्यो पर्चा फाल्नेमध्येका एक जयवर सिंह प्रधान जेलमै भेटिए’ उनले भने।
पर्चा छरिएपछि उपत्यकामा आन्दोलनको माहोल तातियो। अब राणा प्रधानमन्त्री मोहनशम्सेर हट्छन् भन्ने हल्ला सुरु भयो।
नोट देखाउँदै नारा : यही राजा चाहिन्छ
आन्दोलनको माहौल बन्दै थियो । ०७ फागुन २५ मा राजा त्रिभुवन शाह भागेर भारत गएको हल्ला आयो। उनी निर्वासनमा गएको सत्य थियो। राजाले देशै छाडेपछि राणाविरोधी आन्दोलन बलियो बन्ने नै भयो।
केही समयपछि ब्रिटिस सरकारले नेपाली नागरिकको धारणा के रहेछ?, आन्दोलनको स्थिति कस्तो छ भनेर बुझ्न आफ्ना प्रतिनिधि नेपाल पठाउने भयो। त्यसअघि नै भारतीय राजदूतले उनीहरु आउन लागेको खबर काठमाडौंमा फैलाइसकेका थिए। एयरपोर्टमा आन्दोलन गर्नुपर्यो भनेर आन्दोलनकारी जम्मा भए।
‘राजा त्रिभुवन भारत जानुअघि मेरो बज्यैले टिका लगाउन गएका बेला नातीलाई पढाउन सकिनँ, बडो दुःख पायो भन्दा राजाले सबै व्यवस्था गरिदिने आश्वासन दिएका थिए। राजा गएपछि त त्यो आशा पनि हरायो,’ केही बेर घोत्लिएर उनले भने, ‘ब्रिटिस कमिसन आउने सुनेपछि म पनि आन्दोलन हेर्न बज्यैसँग एयरपोर्ट पुगे।’
त्यतिबेला एयरपोर्ट गौचरणमा थियो। राणा विरोधी आन्दोलन नेपालमा व्यापक छ भन्ने ब्रिटिस कमिसनरलाई देखाउन विमानस्थलमा टन्नै जम्मा भइसकेका थिए। उनी बज्यैसँगै त्यही जुलुसमा मिसिए। त्यतिबेला राजा त्रिभुवन भएको पाँच रुपैयाँको नोट चल्तीमा थियो। त्यही पाँच रुपैयाँ देखाएर हातमाथि उठाउँदै सबैले राजा चाहिन्छ भन्दै नारा लगाए। उनी पनि ‘यही राजा चाहिन्छ’ भन्न थाले ।
आन्दोलन तितरबितर बनाउन सेनाले टियर ग्याँस र लाठीचार्ज गर्न थाल्यो । तर, त्यतिबेला श्रेष्ठलाई भने अर्को पिर परिरहेको थियो। पाँचको नोट हराउने।
‘आन्दोलनकारीमाथि लाठीचार्ज भइरहेको थियो। मलाई भने पाँच रुपैयाँको नोट हराउला भन्ने पिरले सताइरहेको थियो। चार आना, ५० पैसा ठूलो लाग्ने समयमा पाँच रुपैयाँ त कति ठूलो नि। त्यो पनि बाल्यकालमा।’
उनी र बज्यै पशुपतिको जंगलैजंगल भागेर घर आइपुगे। त्यो जुलुस देखेर बेलायती प्रतिनिधि नेपालमा राणाविरोधी आन्दोलन निकै चर्केकोमा विश्वस्त भए।
त्यसको केही समयमै राणा–कांग्रेस संयुक्त सरकार बन्यो ।
संविधान सभा माग्दै भद्र अवज्ञामा
०१४ सालमा संविधान सभा निर्वाचनको माग गर्दै भद्र अवज्ञा आन्दोलन सुरु भयो। उनी त्यसमा छुटेनन्।
भद्र अवज्ञा आन्दोलनमा ऋषिकेश शाहले, ‘नेपालमा संविधान सभाको निर्वाचन भयो भने राजाले गुन्टा कसे हुन्छ’ भनेछन् । त्यसपछि राजावादीहरुले संविधान सभाको निर्वाचनविरुद्ध आवाज उठाउन थाले । कांग्रेसबाहेक अरु सबैले संविधान सभाको निर्वाचन गर्न हुँदैन भन्ने मत राखे। संविधान सभाको माग चर्किने देखेपछि राजा महेन्द्र पनि संविधान सभा निर्वाचनभन्दा संसदीय निर्वाचन गर्न सहमत भए। त्यसपछि नेपालमा पहिलोपटक संसदीय निर्वाचन भयो ।
सेनाले बिपीलाई रसियन जिपमा लगे
०१७ पुस १ मा थापाथलीमा तरुण दलको कार्यक्रम सुरु भइसकेको थियो। कार्यक्रममा श्रेष्ठ चियापानको बन्दोबस्तीमा खटिएका थिए। एकाएक माहौल बिग्रियो। कार्यक्रममा सेनाको संख्या बढ्यो ।
‘म चियापानको बन्दोबस्तमा लागें। कार्यक्रमको उद्घाटन सुरु भइसकेको थियो। तल ओर्लिएँ। ब्रिगेडियर जनरल सुरेन्द्रबहादुर शाह र समरराज कुँवर आएर बिपीको बडिगार्डलाई बोलाए,’ उनले सम्झिए‘, ‘त्यसपछि बिपीको बडिगार्डको साथमा रहेको रिभल्वर खोसे। त्यसपछि उनीहरु मञ्चमा गएर बिपी बाबुलाई स्यालुट ठोके र भने सरकारबाट हुकुम बक्सेको छ।’
उनीहरुले बिपी, गणेशमान, कृष्णप्रसाद, सूर्यप्रसादलगायत शीर्ष नेताहरुलाई कार्यक्रम हलबाट निकालेर रसियन जिपमा राखेर गए।
शीर्ष नेतालाई सेनाले लिएर गए पनि शैलजा आचार्य, गौरी राणा, सिंहध्वज, श्रेष्ठलगायत त्यही थिए। उनीहरुले सल्लाह गरे, ‘दिउँसोको रेडियो सुन्नु पर्छ। राजा महेन्द्रले ‘कू’ गरे जस्तो छ।’ तर रेडियो कुर्नै परेन। त्यही बसिरहेकै बेला महेन्द्रले ‘कू’ गरेको खबर आयो ।
बेलुखीपख हरिणारायण मानन्धरको जिप लिएर मार्सलजुलुम शाक्य र भरतगोपाल शाह शाही कदमको विरुद्ध माइकिङ गर्न सडकमा निस्किए। त्यतिबेला उनीहरु समातिएनन्। उनीहरुबीच भोलिपल्ट पुस २ गते बिहान ८ बजे माइकिङ गर्न जाने सल्लाह भयो श्रेष्ठको। हरिनारायणको जिपमा मार्सलजुलुम, शैलजा र उनी सहितका साथीहरु बसे।
सिंहध्वज खड्का आएर ‘सबै नजानुहोस् । एक जनामात्र जानुहोस्’ भनेपछि श्रेष्ठसहित केही ओर्लिए। तर शंकरलाई तानेर मार्सलजुलुमले जिपमै राखे। दुई जना गए । मार्सलजुलुम र शंकर सुन्धारा धरहरानजिकै पक्राउ परे।
शीर्ष नेता पक्राउ परेपछि अन्योल भए पनि स्वतःस्फूर्त पर्चा र पप्लेट टाँस्ने काम भने भइरहेको थियो। राजधानीका विभिन्न स्थान र चोकहरुमा पर्चा छर्ने र टाँस्ने काममा श्रेष्ठ पनि संलग्न थिए।
‘एभरेष्ट बैंकको अगाडि साइडमा बाटा कम्पनीको ठूलो जुत्ता पसल थियो। त्यहीको एउटा कोठा हरिराज बोहराले भाडामा लिएका रहेछन्। विराटनगरका बोहरा बिपीसँग निकट थिए,’ उनले भने‘ ‘त्यही कोठामा नोना कोइराला, शैलेजा र म गएर पर्चा लेख्थ्यौं। असन आसपासमा त्यतिबेला दुई वटा रञ्जना र जनसेवा सिनेमा हल थिए। बेलुका पाँच बजे सिनेमा सकिन्थ्यो। सिनेमा सकिएर मानिस बाहिर निस्किन थालेपछि त्यही भीडमा हामीहरुले पर्चा छथ्र्यौं। र, भाग्थ्यौं।’
कहिले इन्द्रचोक, कहिले कहाँ। पर्चा छर्ने काम निरन्तर चलिरहेकै थियो। पुस २२ गते श्रेष्ठ साथीसहित असनमा पर्चा छरेर नक्सालमा सिनेमा हेर्न गए। र, त्यही पक्राउ परे। उनीहरु पक्राउ परेकै दिन महेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाए ।
सुर्वण भेट्न जाँदा बासुले हप्काए
पर्चा छर्नेक्रममै पक्राउ परेर श्रेष्ठ जेल परे। पाँच महिनापछि मुक्त भए। मंगलादेवी सिंहले उनलाई रक्सौल पठाउने भइन्। उनी तयार भए।
‘मंगला भाउजुले रक्सौल गएर कनकमान शाक्यसँग भेट्न भन्नुभएको थियो। त्यसपछि म अर्का साथी श्रीकृष्णसँग रक्सौल हिडें, मसँग पैसा थिएन। मंगला भाउजुले नै ४०÷५० रुपैयाँ दिनुभयो,’ उनले भने‘, ‘रक्सौल पुगेर नेपाल होटलमा बस्यौं। एक–दुई दिनका लागि भनेर गएको धेरै दिन लाग्ने देखियो। केही दिनपछि कनकमानसँग भेट भयो ।’
उनी रक्सौलमै बसेका बेलामा सुवर्णका छोरा कञ्चनशम्सेर आइपुगे। त्यहीबाट उनी साथीसँगै कलकत्ता हिडे। उनीसँगै थिए गोविन्द प्रधान, मुकुन्द र श्रीकृष्ण। कलकत्ता पुगेपछि उनीहरु चौरङ्गीमा बसे। गोविन्द प्रधान र बासु रिसालले उनीहरुको बासको व्यवस्था मिलाएका थिए टावर होटलमा । सुवर्णशमसेरलाई उनी बस्ने घरमै गएर भेट्नु जोखिम थियो । सिआइडीहरु छ्यापछ्याप्ती थिए। त्यसैले उनीहरु सुवर्ण बस्ने कणक बिल्डिङमा गएनन्। सँगै लगेको पैसा सकियो। सहयोग गर्ने कोही भएनन् । उनीहरुको दुःखको दिन सुरु भयो।
‘साथीहरुलाई चुरोट बिँडी खानुपर्ने। पैसा छैन। गाडी चढ्न पनि दुई पैसा छैन,’ उनले कलकत्तामा पाएको दुःख सम्झिए।
भरतशमसेर कलकत्ताको बालीगंजमा बसेका थिए। आपतमा उनीहरुले भरतलाई सम्झिए। तर उनी बस्ने ठाउँ कोशौं माइल टाढा थियो। गाडि चढ्न पैसा थिएन। हिडे उनीहरु। कति दिन हिड्नु । जुक्ति लगाए ।
‘हिँड्दा हिँड्दा थाकेपछि गाडी चढ्नै पर्नेभयो । तर पैसा थिएन,’ उनले भने‘, ‘गाडी त चढ्नै पथ्र्यो, गाडी चढेको केही समयमा कहाँ जाने भनेर सोध्थे हामी अन्तै भनिदिन्थ्यौं अनि गाडीबाट ओरालिदिन्थे। यस्तो गर्दा नि केही पर त पुगिन्थ्यो।’
बल्ल बल्ल टोली भरतशमसेरकहाँ पुग्यो। उनलाई समस्या सुनाए। पहिला उनले सुनेको नसुन्यै गरे । तर उनी भरतशमसेरकोमा जान छाडेनन्। जति वास्ता नगरे पनि आएको आयै गरेपछि भरतशमसेरले सुवर्णलाई चिठ्ठी लेखिदिए। अरु साथीहरुलाई बाहिर नै बस्नु भनेर श्रेष्ठ चिठ्ठी लिएर कणक बिल्डिङ गए। तर गाली खाए। त्यही बस्ने बासु रिसालले रिसाउँदै भने‘– काठमाडौं फर्किनुपर्ने तिमीहरु यहाँ नआउनु भनेको हैन?’
गाली खाए पनि केही दिनपछि सुवर्णसँग उनको भेट भने भयो।
डाबरको कारखानामा टाइम बम परीक्षण
योजना बम पड्काउने नै थियो। सुवर्णसँगको भेटमा कुरा हुने नै भयो। पहिला पनि दुर्गानन्द झाले बम पड्काउन खोज्दा कमसल परेको थियो। उनले त्यो सम्झिए र सुवर्णशमसेरलाई भने –‘दुर्गानन्दलाई दिएजस्तो कच्चा सामान नदिनुहोस् । त्यसले काम हुँदैंन । काम पनि गर्दैनौं।’
सुवर्णले आश्वस्त बनाउँदै भने ‘ चिन्ता नगर योपालि कच्चा पर्दैन।’
केही दिनमै सामान आइपुग्यो। त्यो टाइम बम रहेछ। उनले यसो हेरे । मेड इन जर्मन लेखिएको थियो। तै पनि पत्याए लागेन उनलाई । परीक्षण गर्ने मुड चल्यो।
कलकत्तामा उनी बसेको ठाउँबाट केही टाढा थियो डाबर कम्पनीको कम्पाउन्ड । उनी साथीसहित त्यही पुगे टाइम बम बोकेर। कारखानाको कम्पाउन्डमा ठूलो खाल्डो खनेर समय मिलाएर बम पुरिदिए। केही समयमै बम पड्कियो। माटोको ढिस्कै उडायो। अनि ढुक्क भए सामान गतिलै रहेछ।
प्रजातान्त्रिक योद्धाको भेषमा दरबारका जासुस
कलकत्तामा धेरै बस्नुको औचित्य थिएन । श्रीकृष्ण वैद्य, ओमकारलाल श्रेष्ठ र मुकुन्द शर्मा बम लिएर नेपाल फर्किए। तर सामानको मुख्य पार्ट भने उतै थियो ।
‘कणकजीले मलाई तिमी दुई–चार दिन पर्ख भन्नुभयो। त्यसपछि म पनि नेपाल फर्किएँ,’ उनले भने, ‘विस्फोटक पदार्थ विश्वासिलो मानिससँग पठाइदिने भनेपछि म नलिई आएको थिएँ।’
नेपाल फर्किएपछि बम पड्काउने योजना बन्यो। दिन तोके इन्द्रजात्रा । जात्रामा सजिलै काठमाडौंमा घुम्न पाउने भएकाले उनीहरुले टाइम बम पड्काउन त्यो दिन रोजेका थिए।
रक्सौलमा हुँदा नै कणकमान शाक्यले क्याप्टेन एलडी लामासँग श्रेष्ठको परिचय गराएका थिए। लामाले हतियार चलाउन सिकाउनेदेखि अन्य तालिम दिने जिम्मेवारी लिएका थिए। तर नेपाल आउन लामालाई जोखिम थियो रे। उनलाई दरबारका जासुसले धुइँधुँ खोजिरहेको र जहाँ भेट्यो त्यही मार्छ भन्थे।
तर, अचम्म।
एकदिन श्रेष्ठले लामालाई मच्छिन्द्रबहालनेर हिडिरहेको देखे। छक्क परेका उनले लामासँग त्यहीँ कुरा गर्न खोजे। तर उनले इशाराले चुप लाग्न भनेपछि मौन बसे। दुई–चार दिनपछि लामा फेरि जैसीदेवलमा भेटिए। श्रेष्ठले त्यहाँ पनि कुरा गर्न खोजे। तर लामाले, ‘५२ पारस’ भने । अहिलेको भूगोल पार्कनजिकै ठूलो बिल्डिङमा पहिले पारस होटल थियो। उनले त्यतै बोलाएका थिए। श्रेष्ठले कुरो बुझे।
उनी भोलिपल्ट बिहानै लामालाई भेट्न त्यही पुगे।
‘किन आउनु भयो एलडीजी। तपाईं आउन नहुने मान्छे’ श्रेष्ठले भने।
‘मेरो पनि यो सेकेन्ड मिसन हो,’ लामाले जवाफ दिए।
बल्ल उनले कुरो बुझे । उनले पाएको पहिलो मिसनमा सिंहदरबार, नारायणहिटीलगायत २६ स्थानमा बम पड्काउने थियो। क्याप्टेन लामाले जिम्मेवारी लिएको दोस्रो मिसनमा पाटनको रेडियो स्टेसनलगायत अन्य स्थानमा बम पड्काउने रहेछ।
दोस्रो मिसनका लागि लामा ठाउँबारे त्यति जानकार रहेनछन्। श्रेष्ठले नै उनलाई ती ठाउँहरु देखाइदिए।
तर, लामा प्रजातान्त्रिक आन्दोलनका योद्धा रहेनछन्। उनी त दरबारका मान्छे निस्किए। योजना सबै चुहियो।
‘पछि म जेल परेपछि थाहा भयो लामा त दरबारले नियुक्त गरेका मान्छे रहेछन्। हाम्रा योजना गोप्य राख्न नसक्नु नै ठूलो कमजोरी भयो’ त्यो दिन सम्झेर श्रेष्ठ अहिले पनि चुक्चुकाउँछन्।
कलकत्ताबाट सामान आउन ढिला भइरहेको थियो। उनीहरुको छट्पटी बढिरहेको थियो। उता दरबार पनि प्रजातन्त्र पक्षधर खोज्न सक्रिय भइरहेको थियो। बम आउनुअगाडि नै मुकुन्द शर्मा पक्राउ परिहाले। अनी पक्राउ पर्ने पालो आयो श्रीकृष्ण वैद्यको। साथीहरु समातिएको सुनेलगत्तै श्रेष्ठ भरत वैद्यसँगै भूमिगत भइहाले।
साथीहरु पक्राउ परे पनि बम आए पड्काउने योजनामै थिए उनीहरु। तर आएन। सामान कुर्दाकुर्दै भूमिगत रहेकै बेला २०१९ मा भरतसहित उनी पनि पक्राउ परे । श्रेष्ठ त्यही अभियोगमा ११ वर्ष जेल परे।
प्लेनमा उडेर आयो बम
श्रेष्ठ र उनका साथीहरु जेल परेपछि मात्र बम काठमाडौं आइपुग्यो । रोयल नेपाल एयरलाइन्स अन्तर्गत पटनादेखि काठमाडौं र काठमाडौंदेखि पटना उडानको एजेन्सीको जिम्मा रुपचन्द नाहताले लिएका थिए। नाहताले काठमाडौं आउने एयरलाइन्समा फलफूलको टोकरीमा लुकाएर काठमाडौंमा बम भित्र्याए।
नाहाता खिचापोखरीस्थित जुद्धबहादुर श्रेष्ठको मिरा होममा भाडामा बस्थे। तर उनी त्यहाँ पुग्नेबित्तिकै बमसहित पक्राउ परिहाले। अनि, प्रजातन्त्र खोस्ने राजा महेन्द्रलाई पाठ सिकाउन काठमाडौंको २६ स्थानमा एकै दिन, एकै समयमा टाइम बम पड्काउने योजना तुहियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।