काठमाडौं- पातलो ज्याकेट र गलबन्दीलाई माघको जाडोले निकै चुनौती दिइरहेको थियो। उनीहरु लुगलुग काँप्दै वैदेशिक रोजगार विभागको दोस्रो तल्लामा उभिइरहेका भेटिए।
सेतै फूलेको कपाल। निन्याउरो अनुहारसहित कपिलवस्तुका ६० वर्षीय रहिस नट र ५८ वर्षिय जहुर हसन दुवै लुगलुग काँप्दै विभागमा बसिरहेका थिए।
खुसी खोज्न साउदी पुगेका छोरा अलपत्र परेपछि उद्धारका लागि पहल गरिदिन भन्दै उनीहरु वैदेशिक रोजगार विभाग धाउन थालेको दुई महिना बित्यो।
दुई महिनाको अवधिमा कपिलवस्तुबाट ३ पटक काठमाडौं धाइसके।
‘म ऋण काडेर काठमाडौं धाएको छु। उता साउदीमा छोरा फसेको छ। छोराले मलाई जसरी पनि निकाल्नु भन्छ। विभागमा उजुरी हाले पनि केही भएको छैन। म्यानपावर कहाँ छ त्यो पनि मलाई थाहा छैन।’ रहिस नटले मनभरीको पीडा एकै सासमा सुनाए।
ओमामा म्यानपावर प्रालिमार्फत होटलको कामका लागि भन्दै साउदी उडेका रहिस नटका छोरा रसिद नटलाई साउदीस्थित सप्लाई कम्पनीमा लेवर कामका लागि पुर्याइदियो। सप्लाई कम्पनीले महिनाभरि कठिन काम गर्न लगायो तर पारिश्रमिक दिएन।
रसिदले दुई महिना काम गर्दा कम्पनीले बल्लतल्ल ८ सय साउदी रियाल पारिश्रमिक पाएको बुबालाई सुनाए।
‘छोराले महिनाभरि पसिना बगाउँछ। पैसा पाउँदैन। खान पनि पाउँदैन भनेपछि हामी आमाबुबाको मन कहाँ मान्छ? छोरालाई साउदीबाट छिट्टै झिकाइदिनुहुन्छ कि भनेर म बुढो मान्छे ऋण काडेर काठमाडौं धाइरहेको छु।’ ५८ वर्षिय जहुर हसनले सुनाए।
म्यानपावरले नक्कली करारनामा पत्र देखाएर झुक्याउँदा कपिलवस्तुका रसिद नटसहित १० जना युवा यतिबेला साउदीमा अलपत्र परेका छन्।
म्यानपावरले मात्रै नभएर दलालहरुले पनि युवाहरुलाई नक्कली करारनामा पत्र देखाएर विदेश पुर्याउने र अलपत्र पार्ने प्रवृत्ति बढ्दै गएको छ।
म्यानपावरलाई लाखौँ तिरेर पसिनासँग पैसा साट्न निस्किएका युवाहरु विदेशमै अलपत्र परेपछि उनीहरुको उद्धारका लागि आमाबुबालाई काठमाडौं धाउँदै ठिक्क छ।
‘म ज्याला मजदुरी गरेर खाने मान्छे, छोरा अलपत्र परेपछि काठमाडौं धाउँदै ठिक्क छ। विभागमा उजुरी गरेपछि पनि एकदमै झन्झटिलो प्रक्रिया रहेछ। हामी गाउँको मान्छेलाई १५ दिन, ७ दिन, ३ दिन, भन्दै झुलाउँछ’ जहुर हसन भन्छन्, ‘मलाई छोराले साउदीको बिजोग सुनाउँछ। यहाँ कसैले कुरा सुन्दैसुन्दैन।’
जहुर हसन कपिलवस्तुमै ज्याला मजदुरी गर्छन्। उमेरले ६ दशक नाघिसके पनि उनलाई उस्तै दुःख छ।
‘छोरालाई पनि पढाउन सकिनँ। गाउँमै ज्याला मजदुरी गर्दा कहिल्यै सुख फिरेनन्। विदेश जाँदा त छोराले सुख पाउला भनेर १ लाख २५ हजार ऋण खोजिदिएँ।’ जहुरलाई छोराले खुसी ल्याउला भन्ने ठूलो आश थियो।
जहुरजस्तै छोराछोरीले पैसा कमाएर पठाउलान् भन्ने आश बोकेर बाटो कुरिरहेका आमाबुबाले उल्टै ऋण काडेर स्वदेश झिकाउँछु भन्दा पनि महिनौँसम्म युवाहरु विदेशमै अलपत्र हुने समस्या नयाँ भने होइन। तर‚ पछिल्लो समय यस्ता प्रकृतिको ठगी गर्ने प्रवृतिले बढवा पाउँदै गएको छ।
म्यानपावरको लापरबाहीमाथि सरकारको कमजोरीले परदेशमा पुगेर युवाहरु सास्ती झेलिरहेका छन्।
विदेशमा युवाहरु अलपत्र पर्दा उद्धार वा स्वदेश फिर्ती नीति नहुँदा युवाहरुले लामो समयसम्म विदेशमा अलपत्र पर्नुपर्ने बाध्यता छ।
‘हामीसँग स्वदेश फिर्ति नीति छैन, स्वदेश फिर्तिका लागि छुट्टै नीति नहुँदा विदेशमा अलपत्र परेका युवाहरुलाई स्वदेश फर्काउन निकै समय लाग्छ‚’ विभागका एक अधिकारीले नेपाल लाइभसँग भने।
साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, टर्कीलगायत मुलुकहरुमा युवाहरुलाई एउटा काम भनेर अर्कै काममा काममा पुर्याउने र युवाहरुलाई अलपत्र पार्ने प्रवृति बढिरहेको छ।
लाखौँ रकम बुझाएर विदेशिएका युवाहरुलाई म्यानपावरले १० हजारको नगदी रसिदमात्रै थमाउँछ। जसले गर्दा अलपत्र परेर फर्किएका युवाहरुले म्यानपावरलाई बुझाएको जति रकम फिर्ता पाउनसमेत समस्या देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।