इटहरी- चोयाको ढाकी टाउकोमा राखेर एक महिला गाउँ चहारिरहेकी छिन्। अग्लो कदकी ती महिला ‘काँचका चुरा, नयाँ चुरा’ भन्दै घरको आगनसम्म पुग्छिन्। त्यत्तिकैमा एउटा छाप्रोको वरीपरी ५/६ महिला गफिँदै गरेका हुन्छन्। उनी पनि त्यही पुग्छिन्। प्रायः सबैले चुराको मोल तोक्दै साईज मिलाउँछन्। तर किन्ने आँट कसैले गर्दैनन्। चुरा बिक्दै नबिक्ने भएपछि कम दाममै दिन्छु भन्छिन् उनी।
ती गाउँका महिला पनि चुरा किन्न र लगाउन त खुब मन गर्छन्। तर नयाँ कपडा र चुरा किन्ने औकात पुग्दैन उनीहरूको। छोराछोरीको कापीकलम किन्न नसकेर स्कुल पढाउन नसक्ने उनीहरूको कथा छुट्टैछ। अन्तिममा १६/१७ कि एक किशोरीले आधादर्जन चुरा किन्छिन्। त्यसैले ती महिलाको अनुहारमा एक लप्को मुस्कान भरिन्छ।
उनी पहिलाजस्तै चुरा बोकेर बाटो लाग्ने तरखरमा लागिन्। ती महिला सप्तरी हनुमाननगरकी समसुन खातुन हुन्। ५६ वर्ष पुगेकी उनी एकल महिला हुन्। यो उनको आफ्नो रोजाईको पेशा हैन, मात्र बाध्यता। त्योभन्दा बढी उनका श्रीमान्ले सुम्पेको नासो हो। श्रीमान बितेको ८ वर्ष पुरा भयो। उनका श्रीमान्ले गर्ने गरेको चुरा बेच्ने पेशा नै उनको हातमुख जोड्ने माध्यम बनेको छ।
झट्ट हेर्दा बुढेसकालको कपालमा बैस भरेर सुकिली देखिन्छिन् उनी। ग्राहकसँग निक्कै हँसिली देखिन्छिन्। तर उनको हाँसोभित्रको दर्द बुझ्न जो कसैले मात्र सक्छ। फेरि बुझेर पनि टार्न सक्दैन।
दुई छोरा र दुइ छोरीकी आमा हुन् समसुन। जेठो छोरा छुट्टिएर बजारमा कपडा सिलाउने काम गर्छन्। कान्छो छोरो भारतमा काम गर्न गएको ६ वर्ष भयो। गएदेखि अहिलेसम्म घर फर्केको छैन। जेठी छोरीको बिहे गरेको ९ वर्ष भयो। बिहे गरेर भारतको फारबिसगन्ज पुगेकी उनी घर नफर्ककेको पनि ६ वर्ष लाग्यो।
अहिले उनको साथमा एउटी कान्छी छोरी छिन्। छोरी भएकैले सबैभन्दा ठूलो समस्या परेको छ उनलाई। दैनिक गुजारा चलाउनै गाह्रो भएका बेला छोरीको बिहेको उमेर घर्किसक्यो १५÷१६ वर्षमै बिहे गर्ने चलन भए पनि उनी १९ वर्ष पुगिसकिन्। तर बिहे गर्न सकेकी छैनन्। उनको सबैभन्दा ठूलो समस्याको पहाड भनेकै दाईजो हो।
अहिलेसम्म ४ पटकसम्म छोरी आइसकेको उनी सुनाउँछिन्। तर कसैसँग पनि बिहे हुन सकेन। राज्यले दाईजो लिनुदिनुलाई अपराध मानेको छ। तर उनका लागि दाईजो दिन नसक्नु अपराधजस्तो भएको छ।
जेठी छोरीको विवाहमा जम्मा ३५ हजार ऋण लागेको थियो। त्यो सबै उनका श्रीमानले तिरिदिए। तर कान्छी छोरीको बिहे गर्ने बेला भइसक्दा पनि दहेजको जोहो गर्न सकेकी छैनन् उनले।
कोसी किनारमा एउटा छाप्रो छ उनको। हुन त उनी मुस्लीम हुन् तर उनको छाप्रोको ढोकामा राधेश्यामको पहेँलो पर्दा सधैं झुण्डिन्छ।
१६ वर्ष कटेपछि गाउँभरि ‘छोरी नबिक्ने भइ’ भन्ने हल्ला चल्छ। गाउँभरि बदनाम हुन्छ। तर दहेजबिना बिहे पनि हुँदैन। कान्छी छोरीको बिहे गर्नसके ठूलैसमस्या समाधान हुनेछ उनको। दिनभरि चुरा बेचेर छाक टार्न मात्र सक्छिन् उनी। छोरीले अहिलेसम्म केही काम नगरेकाले घरैमा बस्छिन्। पढाउन पनि पैसा पुगेन। बरु बिहे नै गरिदिन पाए हुन्थ्यो भन्ने सोचमा छिन्।
भित्री मधेसमा प्रेम गर्ने र भाग्ने चलन पनि देखिदैन। यदि कसैको त्यस्तो भए बिहेपछि पनि दहेज माग्ने चलन छ। दहेज नदिए छोरीलाई यातना दिने र माइती पक्षमा जाईलाग्ने प्रवृत्ति बढ्दो छ।
एकछिन अगाडि खुसी देखिएकी उनी छोरीको कुरा आएपछि एकदमै भावुक भइन्। ‘छोरीका सादी नहुनी भ्यागेले सर !, अड्किएको बोलीमा उनले भनिन्, ‘बहुते दहेज मागैछे।’
अहिले उनकी छोरीको बिहे गर्न कम्तीमा पनि ३ लाख लाग्छ। गुजारामै सकस रहेको उनका लागि त्यो सपनाको कुरा हो। तर छोरीको बिहे नहुँदा समाजमा सुन्नुपर्ने अपशब्दले झनै उनको मुटु छेड्छ। त्यसैले होला उनी भन्छिन्, ‘गरिबको घरमा छोरी जन्मिनु पाप हो पाप।’
केही दिन अगाडि पनि सादीका लागि कुटुम्ब आएका थिए। पछि एउटा बाइक र १ लाख पैसा मागेपछि बिहे रद्द भएको उनी सुनाउँछिन्। समसुनको कुरा सुनिरहेकी सोही गाउँकी चम्पा ऋषिदेवले दहेजले धेरैको सादी नै हुन नसकेको थपिन्। पहिला खासै दहेज माग्दैनथे। तर अहिले दहेजविना सादी नै नहुने जमाना आएको उनले बताईन्। नेपाली केटाहरू सबै भारतमा रोजगारीका लागि जान्छन् र उतै बिहे गर्छन्। यता नेपालका चेलीसँग बिहे गर्न सबै भारतीय युवा आउँछन्। नेपाली युवासँग बिहे गर्दा खासै दहेजको समस्या नभए पनि भारतीयसँगको सम्बन्ध दहेजले नै निर्धारण गर्ने गरेको छ।
उनै चम्पाकी छोरी पनि भर्खरै १४ लागिन्। दुइपटक कुटुम्ब माग्न आइसके। फेरि पनि कुरो त्यही दहेजमै गएर टुंगिएकोे छ। अब केही बर्ष यसैगरी बिहे टर्दै गयो भने चम्पाको पनि समसुनको जस्तै हालत हुनेवाला छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।