राजविराज- एक वर्षअघि सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियाका ९ वर्षीय सुरज राम पोखरीमा डुबे। गम्भीर अवस्थामा स्थानीयवासीले उनको उद्दार गरे। उपचारका लागि अस्पताल पठाउन एम्बुलेन्स बोलाईयो, तर बाटोको असुविधाका कारण एम्बुलेन्स गाउँसम्म पुग्नै सकेन। एम्बुलेन्समा राख्न राजमार्गतर्फ लाँदै गर्दा बाटोमै सुरजको मृत्यु भयो।
०७५ मंसिरमा ६० वर्षीय मनिलाल राम पेट दुखेर गम्भीर बिरामी परे। एम्बुलेन्स बोलाएर राजमार्गतर्फ कुदाईयो। तर, एम्बुलेन्समा चढाउनै नपाई उनको निधन भयो।
०७५ भदौ १८ गते (कृष्ण जन्माष्टमीका दिन) स्थानीय महेश्वर रामका १५ वर्षीय छोरा किशोरकुमारको पनि उसैगरी मृत्यु भयो। कक्षा ९ मा अध्ययनरत किशोरले पनि उपचार नपाएर ज्यान गुमाउनु परेको गाउँलेहरु बताउँछन्।
सुरज, मनिलाल र किशोर मात्र होईन। करिब ५० परिवारको यो वस्तिमा हरेक वर्ष यसैगरी कसै न कसैले ज्यान गुमाउँछन्। कसैको पोखरीमा डुबेर मृत्यु भएको छ भने कसैले पेटको समस्याका कारण। झट्ट सुन्दा त्यस्तै लाग्छ । तर, बाटोको असुविधाका कारण गाउँसम्म एम्बुलेन्स नपुग्दा बिरामीले ज्यान गुमाउनु परेको विषय गौण छ।
५ घरबाट सुरु भएको राम टोलमा अहिले ५० परिवार छन् । राम टोलसँगै जोडिएको करिब ५० परिवारको तत्मा टोल पनि छ। दुवै टोलका सर्वसाधारणको एउटै समस्या हो– बाटो। ‘बाबु/बाजे यहीँ बिते, हाम्रो चौथो पुस्ता चल्दैछ,’ स्थानीय श्यामानन्द राम भन्छन्, ‘तर, यतिका वर्ष बितिसक्दा पनि बाटोको समस्या समाधान भएको छैन।’ बाटो नभएकैले कारण कतिपयले अकालमै ज्यान गुमाउनु परिरहेकोमा उनी चिन्तित छन्।
गाउँदेखि राजमार्गसम्म पुग्ने करिब १ किलोमिटर बाटो मर्मतका लागि वडा अध्यक्ष सत्यनारायण साह, मेयर वसन्त मिश्र र सांसद सरिता गिरी समेतलाई गुहार्दा पनि समस्या समाधान नभएको दर्शन रामले गुनासो गरे । ‘गाउँलेले पटक–पटक भनेपछि केही कामचाहिँ भएको छ’ उनले भने–‘तर, गर्दा गर्दैको काम रोकिएपछि समस्या जस्ताको तस्तै छ।’ वर्षा लाग्नासाथ गाउँमा साईकलसमेत पुर्याउन गाह्रो हुने उनले गुनासो गरे।
कंचनरुप नगरपालिकाका मेयर वसन्त मिश्रले भने स्थानीयवासीकै अवरोधका कारण बाटो बिस्तार र मर्मतको काम नभएको बताए। ‘हामीले त्यो बाटो बिस्तारका लागि गत वर्ष नै बजेट छुट्याएका थियौैं’, उनले भने, ‘तर गाउँमै विवाद भएर अदालतमा मुद्दा पर्यो, त्यसपछि काम रोकिएको छ, सहमति भयो भने अहिले पनि काम सुरु गर्न सकिन्छ ।’
बालबालिकालाई विद्यालय पुग्नै मुस्किल
यतिमात्र होईन, बाटोकै कारण राम टोल र तत्मा टोलवासीलाई बालबालिका विद्यालयसम्म पु¥याउन पनि समस्या छ। दुवै टोलका बालबालिका पढाइलेखाइका लागि सुब्वा टोलको शंकर माविमा पुग्नुपर्छ। यही समस्याका कारण ७ वर्षअघि स्थानीय स्तरमा तीन कक्षासम्मको विद्यालय खुल्यो। १ सय २५ बालबालिका सोही विद्यालयमा अध्ययनरत छन्। तर कक्षा ४ देखि १० सम्मका ७० विद्यार्थी अहिले पनि सुब्वा टोल नै पुग्छन्।
वर्षायाम सुरु हुनासाथ विद्यालय जाने बाटो बन्द हुने गरेको ६२ वर्षे मिश्रीलाल राम बताउँछन्। अर्को बाटो प्रयोग गर्दा करिब १ किलोमिटर घुमेरमात्र घर नजिकैको बाटो पुग्नु पर्ने वाध्यता रहेको उनले बताए। ‘१ सय मिटर बाटो खोले समस्या सकिन्छ’, उनले भने। ‘तर, त्यो दुरीमा तीन जनाको नम्वरी जग्गा छ। उनीहरु छोड्नै चाहँदैनन् ।’
५ मिटर चौडा बाटोमात्र दिनोस्भन्दा पनि तयार नभएपछि हिउँदको समयमा खेतको आली प्रयोग गरेर बालबच्चा विद्यालय पठाउनु परेको रामदत्त राम बताउँछन्। ‘आलीबाट हिँड्दा पनि बाली बिग्रन्छ भनेर हिँड्न दिँदैनन्,’ उनी भन्छन्, ‘आफनो समस्या छ, गाली खाएर पनि बाटो हिँड्नुपर्छ ।’
वडा अध्यक्ष सत्यनारायण साहले पनि बाटोका कारण दलित बालबालिकालाई विद्यालयसम्म पुग्न समस्या भएको स्विकारे। ‘हामीले बाटो खोल्ने प्रयास गरेका हौं । तर, नम्बरी जग्गा परेकाले सम्भव भएको छैन,’ उनले थपे, ‘जग्गाधनी पनि आर्थिक रुपमा कमजोर छन्, जग्गा दिनै मान्दैनन्। जबरजस्ति कब्जा गर्न पनि गाह्रो छ ।’
सकेसम्म सानै भए पनि सहमतिमै बाटो निकाल्ने प्रयास भईरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।