डडेल्धुरा- बढ्दो सहरीकरणसँग ग्रामीण क्षेत्रका जग्गा बाँझो राख्ने क्रम पनि बढ्दै गएको छ। पहाडी क्षेत्रका ग्रामीण इलाकामा त झन् बढी जग्गा बझिँन थालेको छ। हुन त सरकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्ने नीति पनि अघि नसारेको होइन। तर जग्गा बझिने क्रम न्यूनीकरण हुन सकेको छैन। अपवादका रुपमा लामो समय बाँझो बसेका जग्गामा खेती लगाउन पनि थालिएको छ। यस्तै अपवाद परेको छ, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम लखतडा।
यहाँको करिब २ सय रोपनी बाँझो जमिनमा तरकारी खेती गर्न लागिएको छ। करिब २५ वर्षदेखि बाँझो रहेको जमिन भाडामा लिएर स्थानीय एक कृषकले तरकारी खेतीको सुरु गरेका छन्।
सो जमिनमा स्थानीय नाथ जातिले परापूर्व कालदेखि खेती गर्दै आएका थिए। तर उनीहरु तराईमा बसाई सरेपछि बाँझो अवस्थामा रहेको जमिनमा तरकारी खेती सुरु गरिएको हो। गाउँपालिकाले तरकारी खेती गर्न सल्लाह र जमिन उपलब्ध गराउन समन्वय गरे पछि उक्त जमिनमा खेती गर्न उत्पे्ररणा मिलेको भागेश्वर कृषि तथा पशुपन्छी फर्मका संचालक प्रसाददत्त अवस्थी बताउँछन्।
जमिन बाँझो रहेको देखेपछि गाउँमा रहेका बेरोजगार युवालाई रोजगारीको सिर्जना गर्ने उद्देश्यले तरकारी खेतीका लागि पहल गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको सर–सल्लाह, मध्यस्तता तथा आलु सुपरजोनको कार्यालय डडेल्धुराको पहलमा र वडा नम्बर १ का अगुवा युवाको प्रयासमा कृषि फर्म स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए।

‘यसलाई अहिले आलु पकेट क्षेत्र घोषणा गरेर आलुका साथै अन्य तरकारीको पनि व्यावसायिक खेती थालनी गरिएको छ,’ अध्यक्ष मल्लले भने, ‘अहिले गाउँपलिकाले प्रावधिक सहयोग गरेको छ। आगामी दिनहरुमा अनुदानको समेत व्यवस्था गर्नेछौँ।'
भविष्यमा कुखुरा पालन, गाईभैँसी पालन, बाख्रा पालन, माछा पालन फलफुल नर्सरी, वन नर्सरीलगायत फलफूल खेती समेत गर्ने उद्देश्य रहेको फर्मका संचालक प्रसाददत्त अवस्थीले बताए। करिब ३० लाखको लगानी भएको उक्त फर्मबाट रोजगारी सृर्जना हुने उनको भनाइ छ।

बाझो जमिनमा आलु खेती गर्न आलु सुपरजोन डडेल्धुराले आर्थिक सहयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुरा वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए।
डडेल्धुरामा पछिल्लो समय व्यावसायिक तरकारी खेती फस्टाउँदै गएको उनको भनाइ छ।

करिब ५० जना बेरोजगार युवाले गाउँमै रोजगारीको अवसर पाउने गरी फर्म स्थापना हुनु तारिफयोग्य भएको सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लको भनाइ छ। 'कृषि क्रान्तिले मात्र नेपाली जनताको जीवनशैलीमा परिर्वतन आउने भएकाले सरकारले यस्ता काममा प्रोत्साहन गर्नुपर्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।