धनगढी- सुदूरपश्चिम प्रदेशमा बर्सेनि बालबालिकामाथिको जोखिम बढिरहेको पाइएको छ।
बाल हेल्पलाइन (सिविन) नेपालले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा सुदूरपश्चिम प्रदेशमा बालविवाह, बालश्रम, यौन शोषण, बेचविखन तथा ओसारपसार, जोखिमपूर्ण रोग, दुर्घटना तथा प्रकोप, शारीरिक तथा मानसिक यातना लगायत कारण बालबालिकाहरू जोखिममा पर्ने गरेको उल्लेख छ।
सिविन नेपालले सोमबार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिम प्रदेशमा विभिन्न जोखिममा परेका बालबालिका तथा उद्धारको तथ्यांक सार्वजनिक गरेको छ। सिविन नेपाल धनगढीका सुदूरपश्चिम कार्यक्रम संयोजक विष्णु पौडेलले कार्यालयमा गत आर्थिक वर्षमा बालअधिकार हननका एक सय ६१ वटा घटना दर्ता भएको बताइन्।
उनले अझै पनि बालबालिकाप्रति कतिपय अभिभावक संवेदनशील बन्न नसकेको बताइन्। ‘अभिभावकहरुले बालबालिकाको हेरचाह नगर्ने, जन्मदै सडकमा छोड्ने लगायतका कारण पनि बालबालिका जोखिममा पर्दै गएका छन्,’ उनले भनिन्।
सिविन नेपालले सञ्चालन गरिरहेको टोलफ्री नम्बर ‘१०९८’ मा बालबालिकाका विभिन्न मुद्दाका ३ हजार एक सय ९३ गुनासो आएको जनाइएको छ। जसमा यौन दुर्व्यवहारका ३१, मृत्युका ७, हराएका ४४, श्रम शोषणका २, उद्धारका १३, बालविवाहका २९, अनलाइनमा दुर्व्यवहारका १२, बालिबालिका बेचबिखन ४, शाररिक शोषणका १७, प्रहरी नियन्त्रणका ९ वटा उजुरी परेको जनाइएको छ।
सिविनले सडक बालबालिका ५, जोखिमपूर्ण वा जबरजस्ती श्रममा परेका एक बालक र २ बालिका गरि ३, हराएका तथा बेवारिसे परेका बालबालिका ६, शाररिक तथा मानसिक यातनामा रहेका ३ बालक र ६ बालिका गरि ९, जोखिमपूर्ण बिरामी, दुर्घटना तथा प्रकोपमा परेका ४ बालक र ३ बालिका गरि ७ जनाको उद्धार गरिएको जनाइएको छ।
त्यस्तै, कठिन परिस्थितिमा रहेका ७ बालक र ४ बालिका गरि ११, यौन शोषण दुर्व्यवहारमा परेका ५, बेचविखन र ओसारपसारमा परेका ६ बालक र ७ बालिका गरि १३ जनाको उद्धार गरिएको थियो।
अधिवक्ता देवीलाल चौधरीले अहिले बालबालिका विषयहरु समाजमै मिल्ने गरेको पनि गुनासो गरे। ‘देश संघीयतामा गएसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएका छन्,’ उनले भने, 'बालबालिका सम्बन्धी हुने घटनाहरु कतिपय जनप्रतिनिधिहरुकै सहमतिमा समाजमा मिलाइने गरेको पनि अवस्था छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।