'बिजनेस म्यान' बनेको त्यो दिन

निर्मला घिमिरे | २०७६ भदौ २० शुक्रबार | Friday, September 06, 2019 ०७:२६:०० मा प्रकाशित

ललितपुर– कुपन्डोल चोकबाट थोरै माथि लम्किएपछि बायाँतर्फ 'डेकन द हेम्प कम्पनी' लेखिएको होर्डिङ बोर्ड टाँगिएको सटर देखिन्छ। जहाँ पुग्नासाथ नेपाली मौलिक सामग्रीले तानिहाल्छ। 

गाँजा (हेम्प), अल्लो र सिस्नुको रेशाबाट तयार गरिएका झोला, जुत्ता, टोपी, पर्स लगायतका सामान। थरीथरीका उत्पादनको थुप्रो नजिकै बसिरहेका थिए, विनोद शाक्य। 

उनी गाँजा र अल्लोको रेशाबाट निर्मित कच्चा सामग्री बझाङ, बाजुरा र अछामबाट मगाउँछन्। त्यहीबाट ब्याग, झोला, टोपी लगायतका सामान तयार पार्छन्। उनीसँग हाल ६ जना कामदार छन्। 

'व्यापार सुरु गरेको २७ वर्ष भयो,' उनी गर्वसाथ भन्छन्, 'रित्तै काठमाडौं आएर काम खोज्दै भौंतारिइरहेको मान्छेलाई यही व्यापारले करोडौंको मालिक बनायो।’

OOO

२०२२ सालमा संखुवासभाको चैनपुरमा जन्मिएका विनोदको रुचि सानैदेखि व्यापारमा थियो। ठूलो 'बिजनेस म्यान' बनेर नेपाललाई विश्वमा चिनाउने महत्वाकांक्षा बोकेर उनी चैनपुरबाट काठमाडौं हिँडे। जतिबेला उनको उमेर थियो २० वर्ष।

गाउँबाटै कमर्समा प्रवीणता प्रमाणपत्र पहिलो वर्ष सकाएर काठमाडौं आएका उनी मामासँगै ललितपुरको पुलचोकमा बस्न थाले। 

गाउँबाट भर्खरै काठमाडौं छिरेका विनोदलाई अध्ययनका लागि आफै खर्च जुटाउनुपर्ने थियो। सुरुमा कामको खोजीमा उनले काठमाडौंका गल्लीगल्लीमा आफ्ना पैताला नापे। 'तर त्यो बेला काठमाडौंमा भनेजस्तो काम नै पाँइदैन थियो,’ विनोद विगत सम्झन्छन्। 

दरबारमार्गमा उनका मामाको ‘चैनपुर ब्रास’ नामक पसल थियो। जहाँ ब्रासबाट बनेका सामग्रीहरु पाइन्थे। 

विनोदले कतै काम नपाएपछि उनी आफ्नै मामाको पसलमा काम गर्न थाले। केही समयपछि पुलचोकबाट दरबारमार्गतिरै डेरा सरे।

‘पसलकै माथिपट्टि बस्न मिल्ने ठाउँ थियो, त्यसपछि म एक वर्षसम्म त्यहीँ बसेँ,’ उनी सुनाउँछन्। एक वर्ष दरबारमार्गको पसलमा दुःखसुख कटाएपछि कुमारीपाटी ललितपुरमा कोठा सरे। 

विनोदको १२ सम्मको अध्ययन पनि सकियो। 

बिजनेस गर्न सजिलो पर्छ भनेर नै विनोदले औपचारिक अध्ययनमा पनि कमर्स रोजेका थिए। ‘सानैदेखिको मेरो व्यापारी बन्ने रहन पूरा गर्नका लागि नै कलेजमा पनि कमर्स रोजेँ,’ उनले भने, 'बिजनेस गर्न अन्तर्राष्ट्रिय अंग्रेजी भाषा पनि जान्नुपर्ने भएकाले अंग्रेजी लिएर बिएमा पनि भर्ना भएँ।’ 

काम गर्दा गर्दै उनले ब्याचलरसम्मको अध्ययन पनि सकाए। मामाकै पसलमा निरन्तर ६ वर्ष खटे। उनको खटन र लगनशीलताबाट प्रभावित बनेका मामाले पछि म्यानेजरको जिम्मा दिइ। त्यसबेला आफू निकै खुसी भएको उनी सुनाउँछन्।

उनको सपना अझै बाँकी थियो किनकि म्यानेजर मात्रै होइन विनोदलाई त अरु धेरै म्यानेजर राखेर आफू ठूलो बिजनेस म्यान बन्नु थियो। 

२०४९ सालतिर। विनोद उमेरले २७ वर्ष पुगिसकेका थिए। घरपरिवार र आफन्तबाट विवाहको कुरा आइरहेको थियो। सोही समयमा उनले विवाह पनि गरे। 

‘त्यसपछि त मेरो जीवनमा म मात्रै थिइनँ, मेरो जीवनसँगै श्रीमती पनि जोडिइन्। त्यसपछि जिम्मेवारी थपिएको महसुस गरेँ,’ उनी भन्छन्, 'त्यसपछि आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाएँ।' 

तर त्यसका लागि मोटो रकम चाहिन्थ्यो जुन उनीसँग थिएन। जागिर गरेर कमाएको पैसा खान लाउनमै ठिक्क थियो, बचत थिएन। व्यवसाय गर्ने सोच बनाउँदा आफ्नो खल्तीमा जम्मा ६ हजार मात्रै भएको उनी सम्झन्छन्।

तर उनलाई आफ्नै सपनाले बिथोल्न थालिसकेको थियो। आफूसँग पैसा नभए पनि गलामा सुनको सिक्री र हातमा औंठी थियो। आफ्नै व्यापार सुरु गर्न विनोदले त्यो बेच्ने निधो गरे। 

त्यो बेलाको समयमा उनले गहनाबापत ८० हजार पाए। 

सोही वर्ष उनले ललितपुर पुलचोकमा धातुका सामानको व्यापार गर्न थाले। 

‘ग्राहकको माग अनुसारको सामान राख्दा राम्रो व्यापार हुने आइडिया मलाई राम्रोसँग थाहा थियो, त्यही अनुसार नै मैले विस्तारै ५० प्रतिशत धातुका सामान र ५० प्रतिशत हस्तकलाका सामान समेत राख्न थालेँ,’ आफ्नो सुरुवाती व्यापारबारे विनोद भन्छन्, ‘हामीले व्यापार गर्दा धेरै कुरा सोच्नुपर्छ जुन ठाउँमा व्यापार सुरु गरिन्छ, त्यहाँको परिवेश र क्रेताको माग अनुसारका समान राख्नुपर्छ।’

एक वर्ष उनले पुल्चोकमा खुल्ला ठाउँमै व्यापार गरे। उनी सन्तुष्ट नै थिए। 

एक वर्षपछि २०५० सालतिर उनले काठमाडौं वसन्तपुरस्थित झोँछेमा एउटा सटर भाडामा लिए र हस्तकलासहित गाँजाको रेशाबाट बन्ने सामान हेम्प, अल्लो तथा सिस्नो बाट बन्ने झोला लगायत कपडाका सामान व्यापारका लागि डेकन द ह‍ेम्प सुरु गरे।

सबैभन्दा खुसीको क्षण उनले व्यापार सुरु गरेको एक हप्ताभित्रै उनले अनुभव गरेका थिए। त्यसबेला आफ्नो सपना साँच्चै विपनामा परिवर्तन भएको उनले महसुस गरेका थिए।

‘झोँछेमा व्यापार सुरु गरेको ५ दिनमै ३ लाखको अर्डर आयो,' उनले त्यसबेलाको खुसी साटे, 'लाग्यो, म अब बिजनेस म्यान बनिसकेँ।'

दोस्रो पटक ६ लाखको अर्डर आयो। यसरी उनको व्यापारले फड्को मारिइरह्यो। 

‘त्यसैबीचमा ठूलाठूला व्यापारीहरुसँग पनि भेट भयो। आफू भन्दा सिनियर जानकार व्यापारीसँग अनुभव साटासाट भयो, धेरै कुरा बुझ्दै गएँ,’ उनी अनुभव सुनाउँछन्।

धेरैजसो विदेशी पर्यटकहरु पनि उनको पसलमा आउँथे। पसलमा चलहपहल निकै थियो। पसल गरेको लगभग ७ महिना भएको थियो। त्यो बेला एकैपटक ५ वर्षका लागि ३० लाखको अर्डर आयो। ५ वर्षभित्रमा विनोदले ३० लाखको सामानसँगै अरु व्यापार पनि गरे। यो २०५५ सालको कुरा हो।

त्यो बेला आफ्नो भाग्य चम्किएको गर्वसाथ सुनाउँछन् उनी। त्यही बेला कमाएको पैसाले उनले कोटेश्वरमा जग्गा किनेर घर बनाएका थिए।

झोँछेमा पसल खोलेको बेला हस्तकलाका सामान बनाउन कम्पनीमा १ सय जना युवाहरुले रोजगारी पाएका थिए। 

झोँछेमा उनले ८ वर्ष व्यापार गरे। ‘पहिले झोँछेँ लगायत बसन्तपुरतिर घुम्न जाँदा विदेशी पर्यटकहरुले टिकट काट्नु पर्दैन थियो, पछि टिकट काट्ने सिस्टम बनाएपछि पर्यटकको संख्या पनि घट्यो मेरो व्यापार पनि घट्यो,’ व्यापार घटेपछि पनि हिम्मत हारेनन्। बरु त्यो ठाउँको विकल्प खोज्न थाले। 

झोँछेको विकल्पमा ठमेलमा पसल र कारखाना सँगसँगै चलाए। 

ठमेलमा पनि व्यापार राम्रो थियो। त्यहाँ लगभग १२ वर्ष उनले व्यापार गरे। अलि कुनो जस्तो ठाउँ भएकाले उनी २०७१ सालतिर 'डेकन द ह‍ेम्प'लाई ललितपुरको कुपन्डोल सारे।

५ वर्षदेखि विनोदको द डेकन ह‍ेम्प कुपन्डोलमै सञ्चालित छ। यहाँ पनि व्यापार राम्रो चलिरहेको उनी सुनाउँछन्।

‘मैले तयार गरेका सामानहरु विश्वका बजारमा रुचाइएका छन्,’ नेपाली उत्पादनलाई विश्वबजारमा पुर्‍याउँदा विनोद निकै खुसी छन्, 'मैले सोचेर नै सिजनल व्यापार गरिनँ जुनसुकै समयमा पनि व्यापार कम नहुने एभरग्रिन ब्याग, जुत्ता लगायतका सामान बनाउन सुरु गरेँ।’

अल्लोको रेशाबाट बनेका कपडा विनोदले आफ्नै जन्मथलो सङ्खुवासभाबाट ल्याउँछन्। आफ्नै मौलिक सामान, वनजङ्गलमा खेर गइरहेको समान सदुपयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण विनोदले सिकाएका छन्। 

अर्डर अनुसारका सामान नयाँ बजारस्थित कम्पनीमा तयार गरिन्छ र कुपन्डोलस्थित पसल हुँदै विश्व बजारमा पुर्‍याइन्छ। अमेरिका, चाइना, थाइल्यान्ड, जापान, जर्मनी लगायत मुलुकमा उनले तयार गरेका सामानहरु निर्यात हुने गरेका छन्।

यति लामो समयको अनुभव बटुलेका विनोद भन्छन्, ‘कला र सिप र चाहना भए, आफ्नै देशको माटोमा सुन फलाउन समय लाग्दैन। तर त्यसका लागि धेरै ध्यान पुर्‍याउनुपर्छ। एउटा व्यापार गर्ने सोच बनाएको मान्छेले आफू कुन ठाउँमा व्यापार गर्दैछु र त्यहाँ कुन सामान बिक्न सक्छ भन्ने कुरा बुझ्नुपर्दछ।'  

एउटा सफल व्यापारी हुन के चाहिन्छ?

उनी भन्छन्, 'बिजनेसबारे अध्ययन आवश्यक छ। विश्व बजारसम्म आफ्नो व्यापार विस्तार गर्न अन्तर्राष्ट्रिय भाषाको ज्ञान पनि त चाहिन्छ नि।’