कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन्।
माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघर लगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुर भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन्।
उक्त समुदायले हरेरी, निकासी, देशबन्ध्या, असारी, होरी लगायतका पूजामा निर्दयी तरिकाले सयौँको संख्यामा कुखुरा, बंगुर, भेडा, बाख्रा, हाँस लगायत पशुपक्षीको बलि दिने परम्परा रहँदै आए पनि त्यसलाई निषेध गर्ने निर्णय गरिएको बडघरियाका नरेन्द्रप्रसाद चौधरीले बताए।
'भुइयारीमा थारु समुदायका १८ देवता हुन्छन्। सबै देवतामा पशुपक्षी बलि दिने चलन भए पनि अबदेखि ती सबैमा बलि नदिने निर्णय गरेका छौँ,' उनले भने। पशुपक्षीको सट्टा नरिबल, फलफूल लगायतको बलि दिई प्रसादका रुपमा ग्रहण गर्ने निर्णय समाजको बैठकले सर्वसम्मतिले पारित गरेको उनले जानकारी दिए। थारु समुदायले सामूहिक रुपमा पूजा गर्ने चलन भएको र पूजासम्बन्धी नियम लागू गरिएपछि सबैले मान्ने चलन पनि छ।
बलि प्रथामा पूर्ण विराम लागेपछि समाजमा हिंसाका घटनामा कमी आई सामाजिक अमनचयनसँगै सद्भाव बढ्ने विश्वास लिएको गुरुवा फुलराम चौधरीले बताए।
यसैगरी बैठकले गाउँमा जथाभावी रुपमा प्लाष्टिकको प्रयोग गर्नसमेत प्रतिबन्ध लगाएको छ। प्लास्टिकका कारण कृषि उपजमा कमी आउने र वातावरण दुर्गन्धित हुने भएकाले प्रतिबन्ध लगाइएको हो।
प्लास्टिकलाई सबै गाउँका बासिन्दाले संकलन गरी सडकका चोकमा राखिएका कुडादानीमा राखी निर्धारित क्षेत्रमा लगेर नष्ट गर्ने नियम बनाइएको छ।
वडघरको नेतृत्वमा पाँचौँ पटक नरेन्द्र नै चयन
माघीको खोजनी बोझनी बैठकले पिपलाडी गाउँको बडघरमा पाँचौँ पटक नरेन्द्रप्रसाद चौधरीलाई सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको छ।
चौँथो पटकसम्मको कार्यकालमा सामाजिक तथा सांस्कृतिक विकास र निर्माणमा पुर्याएको योगदानको मूल्यांकन गर्दै बैठकले पाँचौँ कार्यकालका लागि पनि उहाँलाई बडघरका रुपमा चयन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।