'जय-जय-जय हे धर्ती माता
तिमीसँग नटुटोस् हाम्रो नाता
हामी अनेकौं जाति र पाती
एउटै रुखका हौ फूलपाती।'
लेखकबिहान जब म आश्रम पुगेँ, यिनै शब्दहरु गुन्जिरहेका थिए। प्रांगणमा बालबालिकाहरु लाम लागेर बिहानी प्रार्थनामा व्यस्त देखिन्थे।
प्रांगणभन्दा केही पर छ, एउटा सुन्दर फूलबारी। जहाँ असंख्य फूलहरुले आफ्नो सुवास छरिरहेका छन्।
म गेटमै उभिइरहेपछि पाले दाइले गेट खोलिदिनुभयो।
गेट छेउकै फूलबारीमा देखेँ, आमाले एउटा बालकलाई बडो प्रेमले आफ्नो छातीमा टाँसेर राखेको सुन्दर मूर्ति। म एकटकले त्यो कलालाई नियाल्छु। त्यो अद्भुत दृश्यले एकाएक वशीभूत हुन पुग्छु।
फूलहरु नियाल्दै म अघि बढ्छु। बाटोको दुवैपट्टि फूल र अशोकाका बोटले छुट्टै सौन्दर्य प्रवाह गरिरहेका छन्।

फूलको बगैंचा हेर्दाहेर्दै म घरको मूल प्रवेशद्वारमा पुगिसकेको हुन्छु। जहाँ एक जना सानी बहिनीले बोलाउँदा पो झसंग भएँ।
'दाइ, आमालाई खोज्नु भा हो?'
मैले 'हो' भन्दै मुन्टो दायाँबायाँ हल्लाएँ। उनैले लिएर मलाई आमासम्म पुर्याइन्। मैले आमालाई ढोग गरेँ।
आमा अर्थात् विराटनगरस्थित पूर्वाञ्चल बालसेवा आश्रमकी संस्थापक अध्यक्ष सीता पोखरेल।
के बालक, के वृद्ध, उहाँ हरेक नेपालीकी आमा।
OOO
तिलचामले केश। शरीर पहिलेभन्दा अलि कमजोर हुँदै गइरहे तापनि उहाँको सहयोग गर्ने मन र हातहरु झन् बलियो।
'शरीर अलि कमजोर भएको हो आमा?' सम्बोधनपछि मेरो पहिलो प्रश्न।
उहाँले मुस्कुराउँदै भन्नुभयो, 'यो त समय चक्र हो। सबै जना बूढाबूढी हुनैपर्छ। शरीर अलिकता बूढो भो। घुँडा दुखेर अलि हिँड्न गाह्रो हुन्छ।'
मानव सेवाबारे उहाँले व्याख्या गर्दै जानुभयो।

'मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो बाबु। मैले आफ्नो सम्पूर्ण जीवन मानव सेवामै समर्पित गरेको छु र जीवन रहेसम्म गर्नेछु।'
उहाँका यी शब्दहरु सुनिरहँदा कुनै महान् दार्शनिकको महान् पुस्तक पढे जस्तै लागिरह्यो।
आमा बोल्दै जानु भो र बीचमा रोकिएर लामो सुस्केरा काढ्नुभयो।
जीवन कठिन छ। भनेजस्तो कहाँ सजिलो छ र जीवन। यहाँ आश्रममा यस्ता धेरै उदाहरण रहेछन्। जसबारे आमाले मलाई सरसरती बताउनुभयो।
‘एउटा छोरी छे, जो हस्पिटलमा मृत आमाको दूध चुस्दै गरेको अवस्थामा भेटेर ल्यायौं। अहिले त्यो छोरीको विवाह गरी बिदा गरिसकेका छौं। तीजको एउटा कार्यक्रममा म महिला कारागर गृह गएको थिएँ। त्यहा एउटा बच्चा र आमा सँगै बसेको देखेँ। 'बच्चा चाहिँ आमाले राखिदिनुपर्यो' भनेर एक जना जेलरले भने। हामी आमाबुवा भएका बच्चा राख्दैनौं भनेर भनेँ मैले। तर बच्चाको आमाले नै भनिन्, ‘म एक्लो छु, मेरो कोही पनि छैन। मेरो बच्चा राखि दिनुहोस्। म पनि आमश्रमै सेवा गरेर बस्नेछु। त्यसपछि मैले बच्चालाई आश्रम ल्याएँ,’ आमाले विगत बताउनुभयो।
आमाको कति ठूलो छाती। कति उदारमन। सायद होला सबैले 'आमा' भनेर सम्बोधन गरेको।

यहाँ सानो दुईवर्षे बालकलाई मैले पनि भेटेँ, आश्रमकै गाईगोठ जाँदा। बडो हँसिलो र उज्यालो अनुहार। पहिलो भेटमै 'मलाई बोक्नुहोस् न' भन्यो उसले। म हेरिरहेँ उसलाई टुलुटुलु।
त्यो सानो बाबुले फेरि भन्यो, 'मलाई बोक्नुहोस्, नभए तपाईंसँग बोल्दिन के, कट्टी।' ओहो कति बाठो।
त्यसपछि उसलाई बोकेँ। हामी गाईगोठ घुम्यौं। आँप बगैंचामा रमायौं। करेसाबारीतिर पनि गयौं। अनि घुम्यौं आनन्द कुटी (वृद्धाश्रम)। जहाँ हजुरआमाहरु कोही घाम ताप्दै त कोही रुद्राक्षको माला हातमा लिएर जप ध्यानमा हुनुहुन्थ्यो।
सबै हजुरआमाहरुसँग बोल्दै, नमस्कार गर्दै अघि बढेँ। अनि भेटेँ मैले जोशीनी हजुरआमालाई। उहाँ बडो मजाले कुराकानी गर्नुहुदो रहेछ।
'केही खान सक्दिनँ। दात एउटा नि छैन। त्यही भएर म केटाकेटीहरु जस्तै यो चिजबल खान्छु,' जोशीनी हजुरआमाले हाँस्दै भन्नुभयो।
'यो चिजबलले त गाह्रो पार्ला नि?' भन्दा उहाँले थप्नुभयो, 'यो त मुखमा राखेपछि चपाउनै पर्दैन। आफै गलेर जान्छ। त्यही भएर यो मात्र खान्छु।'
'हजुरआमा तपाईंका छोराहरु छैनन्?' मैले सोधेँ।
'छैन बाबु छैन। दुई भाइ थिए। सानैमा बिते। सम्पत्ति हुँदा सबै जना आफ्ना, आज केही नहुँदा, कसैले चिन्दैनन्। म त यहीँ विराटनगरको स्थानीय मान्छे। तर आज एक्लो भएको छु। तर मलाई केही पिर छैन। यहाँ हामीलाई माया गर्ने सीता आमा हुनुहुन्छ।'

त्यसपछि हामी सरस्वती र शिव मन्दिर घुम्यौं। फेरि फर्कियौं आमाकहाँ।
आमाले भन्नुभयो, 'सञ्चालनको लागि, दैनिकी त जसोतसो चल्दैछ तर मलाई भविष्यको चिन्ता छ। आफूले जन्माएको बिरुवा हो।'
अलिकति अक्षयकोष राख्न पाए हुन्थ्यो भन्ने सोच रहेछ उहाँको। उहाँका अनुसार प्रत्येक दिन एक जनासँग एक रुपैयाँको दरले वर्षमा तीन सय पैंसठ्ठी रुपैयाँ संकलन हुने रहेछ। तर यति सानो रकमले के नै गर्न सकिन्छ र।
‘कसैले खुसीले जति दिए पनि अक्षयकोषमा जम्मा गर्दैछु। आफूले पढ्न लेख्न नपाए पनि छोराछोरीहरुलाई शिक्षित बनाएँ, बनाउँदैछु। कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने मेरो परिकल्पना हो, यो आश्रम,' उहाँले आश्रमको अवस्थाबारे भन्नुभयो, 'यस संस्थाको कुनै पनि स्थायी आयस्रोत छैन। सबै स्थानीय सहयोगबाट सञ्चालन भइरहेको छ।’
झन्डै २९ वर्ष भएको रहेछ यो आश्रममा माघे संक्रान्ति कार्यक्रम सञ्चालन भएको। यस कार्यक्रमको मुख्य सहयोगी विमला पोद्दार हुन्।
एक दिन विमला पोद्दार र म आश्रमको अवस्थाबारे कुरा गर्दै थियौं।
माघे संक्रान्ति पनि आउँदै थियो। उहाँले भन्नुभयो, ‘संक्रान्तिमा सबैले दानदक्षिणा गर्छन, त्यो दानदक्षिणा हामी आश्रमको लागि किन नलिने?'
उहाँले नै आश्रमको नाम भएको झोला तयार गरेर ल्याइदिनुभयो। हामीले घरघरमा गएर ती झोलाहरु बाँड्यौं।
दुई-तीन दिनपछि हामी झोला लिन जाँदा, दाताहरुले झोला भरिभरि सामानहरु राखेर सहयोग गर्नुभएको थियो। आज पनि यो क्रम जारी नै छ। त्यसपछि फेरि एक जना दाताले मैले भने बमोजिम प्लाटिकका बट्टाहरु बनाइदिनुभयो र ती बट्टाहरु लिएर दाताहरुको घरघरमा गयौं र भन्यौँ, 'यो बट्टा राखिदिनुहोस् घरको कुनै कुनामा। हजुरहरुको घरमा पाक्ने प्रत्येक छाकबाट एक मुठी मात्र चामल यस बट्टामा राखिदिनुहोस्। हामी हरेक महिनाको अन्तिम दिन यो लिन आउनेछौं।'

दाताहरुले हाँसीहाँसी बट्टा राखिदिनुभयो। महिना दिनपछि हामी ती बट्टाहरु लिन जाँदा उहाँहरुले चामल मात्र होइन, तेल, दाल मिठाइ, बिस्कुट आदि राखिदिनुभएको रहेछ।
यसरी यो आश्रम परिवारमा बालबालिका र वृद्धवृद्धा गरी ८४ जनाको पालनपोषण भइरहेको छ।
OOO
संस्थाको अवस्था र आफूले भोगेका दु:खबारे सीताआमाले सुनाइरहँदा कुनै महान् कथाकारको कथा सुने जस्तै लागिरह्यो। त्यही क्षण फेरि आश्रममा कोही दाताहरु आउनुभएको खबर आयो। मैले आमासँग बिदा लिदै गर्दा उहाँले भन्नुभयो, ‘अर्को भेटमा सुरुमा आश्रम सञ्चालन गर्दा भोगेका संघर्ष कुराहरु पनि सुनाऊँला।’
'हस्' भन्दै म बिदा भएँ। त्यहाँबाट म मात्रै फर्किइनँ, आमाको ठूलो आशीर्वाद पनि साथै लिएर फर्किएको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।