राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय रामजी पासवान यतिबेला थला परेका छन्। सामान्य बिरामी रहेका पासवान पछिल्लो ४/५ दिनदेखि अत्यधिक चिसो बढेपछि ओछ्यान नै परे। दृष्टिविहीन समेत रहेका रामजी ओछ्यान परेपछि पत्नी झलियादेवीलाई ‘उठि सुख न बसी सुख’ भएको छ।
आयश्रोतका नाममा केही पनि नभएका पासवानको परिवारमा यतिबेला दुई बूढाबूढी बाहेक कोही छैन। भएका दुई छोरी समेत विवाह गरेर गएपछि झलियाले नै बिहान–बेलुकाको हातमुख जोर्ने मेसो मिलाउँदै आएकी छिन्।
‘गिरहत (मालिक) को खेतमा काम गरेर आएको ज्याला–मजदुरीले हाम्रो पेट पालन हुँदै थियो’, उनले भनिन्, ‘अब बिरामी रुँघेर बसूँ कि हाजिरा कमाउन जाऊँ।’
बिहान खाए बेलुका के खाऊँ भनेर चिन्ता गर्नुपर्ने बेलामा चार–पाँच दिनदेखि बढेको शीतलहरले ज्यान बचाउन पनि मुस्किल परेको उनले दुःखेसो गरिन्।
करिब ५ सय पासवान परिवारको बसोबास रहेको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ को कञ्चनपुर र जगतपुर क्षेत्रमा एक/दुई परिवार बाहेक अधिकांशको अवस्था यस्तै छ। स्थानीय सञ्चारकर्मी समेत रहेका श्यामकुमार पासवान भन्छन्, ‘अधिकांशले रिक्सा चलाउने तथा अरुको खेतमा ज्याला मजदुरी गरेरै जीविका चलाउँछन्।’
बेल्ही चपेना गाउँपालिका वडा नम्बर ५ का ६० वर्षीय कमल मरिक यतिबेला ओछ्यानबाट उठ्नै छोडेका छन्। पुस लाग्नासाथ ठन्डीका कारण ओछ्यान परेका उनी तंग्रिनु त परै जाओस्, यसपालिको जाडो काट्न सक्छन् कि सक्दैनन् भन्ने चिन्ताले परिवारजनलाई पिरोलेको छ।
गतिलो बास, लत्ताकपडा र दुई छाक खानपिनको समेत क्षमता नभएका डोम (मरिक) हरुको उक्त बस्तीमा यसपालिको जाडो कसरी काट्ने भन्ने सबैको साझा चिन्ता छ।
पोहोरको पुसमा आफू चिसो लागेर सिकिस्त भएको बताउँदै कमलकी पत्नी अरहुलिया देवीले यसपालि श्रीमान् नै थलिएको बताइन्।
‘यो जाडो मौसम हामी जस्ता गरीबका लागि त कालसरह नै भएको छ’, उनले पीडा पोखिन्, पोहोर आफैं कसो मरिनँ, अहिले उहाँ इन्तु न चिन्तु हुनुहुन्छ।'
समस्या रामजी र झलियादेवी तथा कमल र अरहुलियाको मात्र होइन, सप्तरीका प्रायः सबै दलित बस्तीमा यतिबेला यस्तै समस्या छ। सप्तरीका छिन्नमस्ता, बनैनियाँ, फुलहरा, मटिगढी, नेगडा, कोचाबखारी लगायतका ग्रामीण बस्तीका डोम, पासवान, मुसहर लगायतका दलित परिवारमा खाने-लगाउने सँगै चिसोबाट कसरी बाँच्ने भन्ने समस्या रहेको डोम उत्थान समाज सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले बताए।

जिल्लामा तीन सय १५ डोम परिवारको बसोबास रहेको जानकारी दिंदै उनले दलितमध्ये पनि सबैभन्दा विपन्न डोमहरु नै रहेकाले पनि उनीहरुको जिन्दगी सर्वाधिक कष्टकर रहेको बताए। युक्तिलालका अनुसार चिसोले बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित छन्।
जाडोयाममा यदाकदा कुनै संघसंस्थाले लत्ताकपडा बाँड्न आए पनि टाठाबाठाकै हालीमुहाली हुने गरेको बताउँदै फुलहराकी शान्तिदेवी मरिकले आफू जस्ता निमुखाका लागि त्यो पनि आकाशको फल जस्तै भएको पीडा सुनाइन्।
‘जसलाई सबैभन्दा बढी आवश्यकता छ, उसले पाउँदै-पाउँदैनन्’, उनले भनिन्, ‘गरीबले पाउनुपर्ने राहतमा पनि टाठाबाठाको रजाइँ चल्न थालेपछि कसको के लाग्छ?’
गाउँ बस्तीभन्दा अलग्गै ऐलानी जग्गामा झुप्रो बारेर बसेका डोमहरुको पुर्ख्यौली पेशा सुँगुरपालन हो। अहिले जिल्लामा खुला दिसामुक्त अभियान चलेको र सुँगुर पाल्न बन्द गर्नु भन्दै उर्दी जारी गर्न थालिएपछि त्यो पेशा पनि समाप्त हुने अवस्था आएको उनले बताइन्।
'पाल्नै परे खोरमा पाल्नु भनेका छन्', शान्तिदेवीले भनिन्, ‘झुप्रोले चर्चेको बाहेक एक इञ्च पनि जग्गा छैन कहाँ बनाउनु खोर?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।