फाइल फोटो
धनगढी- सुदूरपश्चिम प्रदेशसभाको असार ११ गतेका लागि तोकिएको बैठक पनि स्थगित गरिएको छ। असार ५ गते प्रतिपक्षीको अवरोधपछि स्थगित भएको प्रदेश सभाको बैठक त्यसपछि बस्न सकेको छैन। असार ८ गते बिहानका लागि तोकिएको बैठक समेत स्थगित गरिएको थियो।
असार ८ गतेको बैठक स्थगित भएपछि ११ गतेका लागि तोकिएको बैठक सञ्चालन गर्न सभामुख अर्जुन बहादुर थापाले प्रयास गरेपनि असफल भएपछि अन्तिममा आएर बैठक स्थगित गर्नुपरेको छ। सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले सभामुख थापासित सदन स्थगित गरिदिन आग्रह गरेका थिए।
११ गतेको बैठक स्थगित गर्न सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले १२ गते दिउँसो ३ बजे बैठक बस्ने जानकारी गराएको छ। सचिवालयका तर्फबाट ११ गतेको बैठक स्थगित गरिएको सबै सासंदहरुलाई एसएमएस गरी जानकारी दिइएको र सूचना पाटीमा सूचना टाँसिएको प्रदेश सभा सचिव रामसिंह धामीले जानकारी दिए।
प्रतिपक्षी दलका सासंदले अवरोध गरेपछि सभा सञ्चालनका लागि उनीसित छलफल गर्न पटकपटक बैठक स्थगित हुँदै आएको छ। बैठक स्थगित गर्नुको कारण प्रतिपक्षी सांसदहरुको अवरोधलाई बताइए पनि सत्तापक्षकै सांसदहरुले सभामा गर्ने विरोध थेग्न सकने अवस्थामा सरकार नरहेका कारण बैठक स्थगित गरिदै आएको छ।
मंगलबार बैठक स्थगित भएको जानकारी पाएपछि प्रतिक्रिया दिँदै सत्तापक्षीय एक सांसदले संसदीय दलको बैठकमा गरेको प्रतिबद्धता विपरीत आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट विनियोजन गरेको र योजना बनाएको भेटिएकोले सो विरोध सदनमै हुने स्थिति देखेपछि आर्थिक मामिला मन्त्रीले बैठक स्थगित गर्न लगाएको बताए।
असार ५ गते प्रतिपक्षीको अवरोधले सदन स्थगित भएको र सत्तापक्षले प्रतिपक्षसित छलफल गर्न समय नपाएकोले फेरी एक पटक बैठक स्थगित गरी सदन भन्दा बाहिर नै सहमतिको प्रयासका लागि बाताबरण बनाउन आग्रह गरेपछि आफूले एक दिनका लागि बैठक स्थगित गरेको सभामुख थापाले जानकारी दिए।
सरकारले प्रतिपक्षीसित छलफल हुन नसकेको भन्दै बैठक स्थगित गरिरहे पनि आफ्नै दलका सासंदहरुलाई विरोध नगर्न पार्टी हाइ कमान्डबाट निर्देशन आएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।