काठमाडौं- वैदेशिक रोजगारीका सिलसिलामा कार्यस्थलमा दुर्घटनामा परेर वा विभिन्न गम्भीर प्रकृतिका रोगका कारण कोमा (अचेत अवस्था) मा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी थालिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको बोर्डको बैठकले खाडी लगायत विभिन्न मुलुकमा कोमामा उपचार गराइरहेका नेपालीलाई फर्काएर उपचार गराउने विषयमा गम्भीर छलफल गरेको हो।
खाडी लगायत विभिन्न मुलुकका २५ नेपाली कोमामा रहेको बोर्डले जनाएको छ। जसमध्ये ३ नेपाली हिँडडुल गर्न नसक्ने अवस्थामा विदेशका अस्पतालमा छन्। कतार, साउदी, युएई, दक्षिण कोरिया लगायत मुलुकका अस्पतालमा यस्ता गम्भीर प्रकृतिका कामदार उपचाररत छन्।
यस्ता कामदारलाई स्वदेश ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन हुनेछ। जसमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहनेछन्। जसमा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने बैठकले निर्णय गरेको छ।
कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीको संकलित तथ्यांकमाथि छानबिन गरी नेपाल ल्याउने प्रक्रिया/मापदण्ड सम्बन्धमा र नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेस गर्नेछ।
६ करोड ६६ लाख आर्थिक सहायता
बैठकले करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएपछि मृत्यु भएका तथा बिदामा आएको अवस्थामा उपचार क्रममा मृत्यु भएका ११४ जना कामदारका हकदारलाई नियमानुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
सचिवालयले दर्ता भएका निवेदन र संलग्न कागजात छानबिन गरी बोर्ड बैठकमा निर्णयार्थ पेस गरेको थियो। सोही अनुरुप ११४ जनालाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले थप ६ करोड ६६ लाख व्यवस्था गरेको छ।
भण्डारी परिवारले पाउने भए आर्थिक सहायता
साउदीस्थित सडक दुर्घटनामा परी मृत्यु भएका तेजेन्द्र भण्डारीका परिवारले आर्थिक सहायता पाउने भएका छन्।
भण्डारीको शव चिन्न नसक्ने अवस्थामा थियो। सोही सडक दुर्घटनामा मोरङका सुवास तामाङ घाइते भएका थिए। तर तामाङको परिवारलाई मृतक भण्डारीको शव पठाइयो।
तामाङका परिवारले संस्कार अनुसार भण्डारीको दाहसंस्कार गरे। नियम अनुसार वैदेशिक रोजगार बोर्डबाट ७ लाख आर्थिक सहायता पनि लिए। तर गम्भीर घाइते भएर उपचारार्थ तामाङ उपचारपछि घर फर्किँदा ठूलो खैलाबैला भयो।
छानबिन गर्दा तामाङ भनेर दाहसंस्कार गरिएका व्यक्ति बाग्लुङका तेजेन्द्र भण्डारी रहेको खुलेपछि भण्डारीका परिवारले आफ्नो संस्कार अनुसार दाहसंस्कार गरे।
त्यसपछि तामाङ परिवारले लिएको आर्थिक सहायता र भण्डारीका परिवारलाई उपलब्ध गराउने आर्थिक सहायताका विषयमा टुंगो लाग्न सकेको थिएन।
भण्डारीको हकमा निजको वृद्ध आमा र नाबालकलाई क्षतिपूर्तिबापत आर्थिक सहायता उपलब्ध गराउने, सोही घटनामा अर्को पीडित तामाङको परिवारले नियमानुसारको प्राप्त गरेको आर्थिक सहायताको सम्बन्धमा निजको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य उपचार खर्चमा रुपान्तरण गर्ने निर्णय गरेको बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। उनले भने, ‘अस्पतालको मिस्टेकले निकै ठूलो समस्या निम्त्याएको थियो, बोर्डको बैठकले यो समस्यालाई सम्बोधन गरेको छ।’
यसका साथै, पीडित तामाङको हकमा समेत उचित निर्णयका लागि मन्त्रालयमार्फत सम्बद्ध निकायमा अनुरोध गर्ने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।