काठमाडौं- मध्यपुर थिमि नगरपालिकाले तस्बिरहरुको सङ्ग्रह 'गन्तव्य मध्यपुर थिमि' पुस्तक सार्वजनिक गरेको छ। एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस्तकक सार्वजनिक गरेका हुन्।
भरतबन्धु थापाको लेखन तथा खिचिएका मध्यपुर थिमि नगरपालिकाभित्रका संस्कृतिक, धार्मिक एवम जीवनशैलीसँग तस्बिरहरु पुस्तकका सङ्ग्रहित गरिएको छ।
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर कला र संस्कृतिको हिसाबले धनी रहेको बताए। नगरपालिका क्षेत्रभित्रका प्राचीन साँस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थलहरु, कला र परम्परा झल्काउने तस्बिहरु समावेश रहेको यस संग्रहले मध्यपुर थिमिको पर्यटन, प्रवर्द्धन र विकासमा सहयोग पुर्याउने उनले बताए।
'हाम्रो ऐतिहासिकता, हाम्रा साँस्कृतिक विविधता, हाम्रो सवल सभ्यता, हाम्रो सिर्जनात्मक प्राचीन कलाका विविध आयामहरुलाई यसले जीवन्त रुपमा प्रस्तुत गर्नेछ। मौलिक र गौरवपूर्ण परम्पराको रक्षा गरी नगरलई आधुनिक, सम्पन्न र विकसित बनाउने र नगरवासीको जीवनमा खुसी हासिल गर्ने उदेश्यमा यस प्रकाशनले सहयोग पुर्याउने विश्वास छ,' उनले भने।
मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिको धार्मिक, साँस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरुलाई उजागर गरी देश विदेशमा जानकारी दिन सकेमा आन्तरिक र बाह्य पर्यटन विकास गर्न सकिने बताए। यसबाट सम्पदाको संरक्षण सम्वर्द्धन एवं प्रवर्द्धन गर्दै बहुआयामिक रोजागारी सिर्जनाबाट समृद्ध नगर निर्माण गर्ने उद्देश्य रहेको उनले बताए। उनले भने, 'अहिले ४५ वर्षपछि परम्परागत लायकू भैलः २३ वर्षपछि महाकाली नाच, १७ वर्षपछि सलाचा प्याखँ, १३ वर्षपछि म्हे्खः प्याखँ नाच, भैतिमैली प्याखँ (राजकुमार नाच) लगायतले निरन्तरता पाएका छन्। परम्परागत बाजागाजा, भजन, नित्य भजनहरुलाई यथेष्ट सहयोग गरी अमूर्त कलाहरुको संरक्षण गरिएको छ।'
मूर्तिकलाहरुको संरक्षण क्रममा २३ वटा मन्दिर, ३७ वटा फल्चा, २५ वटा ढुंगेधारा, २० वटा इनार, १५ वटा पोखरी, पाँचवटा विहार, तीन वटा लायकू दरबार पुनर्निर्माण गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।