काठमाडाैं- नेपाल नागरिक उड्डयन प्राधिकरणले कोराना संक्रमित बिरामी ओसारपसार तथा अन्य आकस्मिक उद्धार उडान सञ्चालन गर्दा हेलिकप्टर कम्पनीहरुले तोकेभन्दा बढी भाडा लिएकोबारे ध्यानाकर्षण भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको हो।
'विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ को नयाँ भेरियन्टसहितको संकमण नेपालमासमेत तीव्र रुपमा बढिरहेकोले सोको रोकथाम, व्यवस्थापन तथा नियन्त्रणको लागि नेपाल सरकारद्वारा नियमित आन्तरिक उडान बन्द गर्ने निर्णय भएको वर्तमान अवस्थामा कोराना संक्रमित बिरामी ओसारपसार तथा अन्य आकस्मिक उद्धार उडान सञ्चालन गर्दा हेलिकप्टर कम्पनीहरुले तोके भन्दा बढी भाडा लिएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाल नागरिक उड्डयन प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा उल्लेख छ, 'कोभिड-१९ संकमणको वर्तमान परिस्थितिलाई दृष्टिगत गरी प्राधिकरणको निर्देशनबमोजिम हेलिकप्टर कम्पनीहरुले नेपाल सरकारद्वारा तोकिएको प्रतिघण्टाको भाडादरमासमेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड-१९ संक्रमित यात्रु बोक्न पर्दा भने त्यस्ता यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीहरुको स्वास्थ्य जोखिमबापत थप अतिरिक्त शुल्क सम्बन्धित हेलिकप्टर कम्पनीहरुले लिँदै आएको पाइएको छ।'
प्राधिकरणले कोराना संक्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न सबै हेलिकप्टर कम्पनीहरुलाई निर्देशन दिइसकेको जानकारी दिएको छ।
'कोराना संक्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सवै हेलिकप्टर कम्पनीहरुलाई निर्देशन दिइसकेको छ। यस्तो उडानमा बिचौलियामार्फत हुनसक्ने अवान्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिइएको छ,' विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।