काठमाडाैं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेका हुन्।
माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले मुख्यमन्त्रीविरुद्ध आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको बताए। 'आज दर्ता गर्ने तयारी छ, संसद् सचिवालयमा साथीहरु आउँदै हुनुहुन्छ, सबै साथीहरु जम्मा भएपछि दर्ता गर्छाैं,' उनले भने।
विगत एक हप्तादेखि जसपाकी सांसद कल्पना पाण्डेले साथ नदिँदा अविश्वासको प्रस्ताव रोकिएको थियो। उनलाई फकाउन माओवादी, कांग्रेसलगायत दलका नेताहरुले एक हप्तादेखि मेहनत गरिरहेका थिए।
जसपाका ६ सांसदमध्ये पाँच सांसदले साथ दिए पनि पाण्डेले साथ नदिएपछि अविश्वासको प्रस्ताव अगाडि बढ्न सकेको थिएन। जसपाका छ सांसदमध्ये पाँच जना तत्कालीन समाजवादी पार्टी र पाण्डे राजपा पक्षका हुन्।
अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीको रुपमा कूलप्रसाद केसीलाई अगाडि सार्ने तयारी गरिएको छ। उनी हाल लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।