मंसिर २९ गतेको कुरा, एकजना केटीसाथीको विवाह पार्टीमा जानुपर्ने थियो। पार्टीमा निम्तालु पाहुनाका लागि कुनै ‘ड्रेस कोड’ थिएन। तर, यस्तो पार्टीमा जाँदा सकेसम्म कोट लगाएरै गएको राम्रो भन्ने दिमागमा यसै परेको छ वा चालचलनले पारिदिएको छ।
आफूसँग भएका तीन वटा कोटमध्ये सबभन्दा कम मैलो छानेँ। खैरो थियो कोट, मैलो भए पनि हत्तपत्त नदेखिने। त्यही लगाएर अफिस आएँ, बेलुकी ती साथीको रिसेप्सन पार्टीको निम्तो त्यतैबाट मान्ने योजना अनुसार।
अफिस पुगेपछि केही पुराना सम्झना कम्युटरबाट हार्डडिस्कमा सुरक्षित राख्ने योजना बनाएको थिएँ। आफ्ना तस्बिर र अन्य केही डकुमेन्टले अफिसको कम्प्युटरको ‘डी ड्राइभ’ लगभग भरिएको देखाएपछि यसको व्यवस्थापन अघिल्लै दिनदेखि थालेको थिएँ। हार्डडिस्कमा सार्दा काम नलाग्ने फाइल, तस्बिर र डकुमेन्टलाई त्यहीँबाट बिदा गर्न थालेँ। यसै क्रममा एउटा तस्बिर रहेको फोल्डर भेटियो, जहाँ कसैको विवाहमा सहभागी हुँदाको म थिएँ। अर्थात् मसँग त्यो विवाहित जोडी थियो।
झन्डै दुई दर्जन तस्बिर थिए त्यहाँ। म मात्रै होइन, अन्य मेरा परिचितहरुले पनि त्यो जोडीसँग तस्बिर खिचाएका थिए। यसलाई सम्झनाका लागि राख्ने वा डिलिट गर्ने? दोधारमा परेँ। झन्डै १० मिनेट अनिर्णयको बन्दी भएपछि आफैंसँग रिस उठ्यो, सानातिना कुरामा अल्झिन्छु भनेर।
त्यसरी अल्झिनुको कारण थियो, जसको विवाहमा तीन वर्षअघि त्यो तस्बिर खिचाएको थिएँ, उनीहरुको तीन हप्ताअघि मात्रै डिभोर्स भइसकेको थियो। तपाईं भनिदिनुहोस्, डिभोर्स भइसकेको जोडीको विवाहको तस्बिर ‘सम्झना’का लागि सँगाल्न लायक हुन्छ कि हुँदैन? म यो घनचक्करबाट अझै बाहिर निस्किन सकेको छैन। ती तस्बिर न हार्डडिस्कमै सारेँ, न त कम्युटरबाट डिलिट गर्नै सकेँ।
उनीहरुको डिभोर्स भए पनि मैले त्यो तस्बिर नियालेर हेरेँ। जहाँ मसहित केही चर्चित नेपाली सेलिब्रिटी लहरमा उभिएका थियौं। नवदम्पतीलाई शुभकामना दिँदै थियौं। अर्थात् त्यो विवाह पनि सेलिब्रिटीकै थियो। तस्बिर नियालेर हेर्दा पो चाल पाएँ, त्यो दिन लगाएको कोट नै आज मेरो रोजाइमा परेको रहेछ।
आफैंले लगाएको कोट राम्रोसँग नियालेर हेरेँ– धुँदा जाने मैलो मात्रै लागेको छ, तर कतै फाटेको छैन। मनमा झ्वाट्ट प्रश्नको फोका उठ्यो– आजकल सम्बन्धहरु कोटको कपडाभन्दा कमसल बन्न थालेका हुन् र? किनभने उसैको विवाहभन्दा ठीक अगाडि त किनेको थिएँ यो कोट। जुन दुरुस्तै छ। आज अर्को साथीको विवाह पार्टीमा पनि यही कोटले काम गर्दै छ। तर, जसको विवाहका लागि यो कोट किनियो, उसको विवाह एकादेशको कथा भइसक्यो।
झलझली याद आयो तीन वर्षअघिको त्यो दिन। जुन दिन सुन्धारास्थित सिभिल मलको क्याफ्टेरियाको बार्दलीमा बसेर त्यो जोडीले आफूहरु चाँडै विवाह गर्न लागेको खुसी मसँग साटेको थियो। केटीसाथीले मलाई एक साथीका रुपमा आफ्नो रोजाइबारे सेयर गर्दा एक पत्रकारका रुपमा मैले सानोतिनो ‘ब्रेकिङ न्युज’ पनि भेटेको थिएँ। त्यसबेला शुक्रवार साप्ताहिकमा कला संवाददाताका रुपमा काम जो गरिरहेको थिएँ।
त्यही बसाइँमा मैले उनीहरुसँग ‘प्रेम संवाद’ गरेँ। उनीहरुले फेसबुक मार्फत चिनापर्ची भएकोदेखि सँगै जिउने–मर्ने कसम खाएको कुरासम्मको खुलाएका थिए। मैले धेरै महिला कलाकारको करिअर विवाहपछि धरापमा परेको देखेको थिएँ। त्यसैले त्यो संवादको अन्तिम प्रश्न करिअरकै विषयमा थियो। उनीहरु दुवैले करिअर र सम्बन्धलाई सँगै उचाइमा पुर्याउने योजना सुनाएका थिए।
त्यहाँबाट निस्किँदै गर्दा मसँग खुसी हुनुका दुई कारण थिए, एउटा मेरी साथीले मन बुझ्ने जीवनसाथी पाएकोमा। अर्को, मैले माथि नै उल्लेख गरिसकेँ, एउटा समाचार भेटेको थिएँ।
अरुले जस्तै उनले विवाहपछि करिअरलाई पूर्णविराम लगाइनन्। सफलताको ग्राफ उक्लिरहेको थियो। यो देख्दा एउटा शुभचिन्तकका रुपमा म पनि खुसी थिएँ। तर, केही दिनअघि मात्रै एकाएक वैवाहिक जीवनमा पूर्णविराम लागेको खबर आयो।
खबर सुनेर अवाक् भएँ म। तर, अनौठो भने लागेन। किनभने कला क्षेत्रमा जो महिला करिअरमा सफल छन्, ती वैवाहिक सम्बन्धमा लगभग असफल छन्। निकै कम मात्रै छन्, जसको करिअर र सम्बन्ध दुवै सुमधुर चलिरहेको छ। अहिलेका केही चर्चित गायिका वा नायिकाहरुको नाम सम्झिनुहोस् त! कि उनीहरुको वैवाहिक सम्बन्धमा दरार देख्नुहुन्छ कि आम नेपालीले विवाह गर्ने उमेर घर्किँदा पनि विवाह नगरेको पाउनुहुन्छ।
यसका दोषी को हुन्? एकाध अपवाद छाड्ने हो भने सम्बन्ध टुक्रिनुका कारण मलाई चाहिँ हामी पुरुष हौं भन्ने लाग्छ। हामी एउटा पिता भएर सोच्दा आफ्नी छोरी आत्मनिर्भर भएको हेर्न चाहन्छौं। श्रीमान् भएर हेर्दा चाहिँ पत्नी पतिप्रति निर्भर र सहनशीला होस् भन्ने सोच्छौं। सामाजिक रुपान्तरणकै क्रममा रहेको नेपाली समाज दोहोरो आदर्श बाँचिरहेको छ। भित्रभित्रै पृतिसत्तात्मक सोच जरा गाडेर बसेको छ भने बाहिर आदर्शका लागि महिलालाई पुरुषसरह मान्ने नौटंकी चलिरहेको छ।
कला क्षेत्र देखिने ठाउँ हो। सेलिब्रिटी चर्चित हुने भएकाले उनीहरुका दाम्पत्य जीवनबारे सबैले थाहा पाएका हुन्। फरक यत्ति होला, अरु सहेर बस्छन् तर उनीहरु आत्मनिर्भर पनि हुने भएकाले एक्लिएर स्वतन्त्रतापूर्वक नै बाँच्न रुचाउँछन्।
यसलाई स्पष्ट रुपमा बुझ्न भर्खरै सार्वजनिक एउटा तथ्यांक हेर्नु उपयुक्त होला। हालै प्रकाशित ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६’ मा आयआर्जन गर्ने महिलाहरु नकमाउनेभन्दा बढी हिंसाका सिकार हुने देखिएको छ। उक्त सर्वेक्षण अनुसार २८ दशमलब २ प्रतिशत जागिरे महिला हिंसा प्रभावित छन्। जबकि कुनै काम नगर्ने १६ दशमलब ५ प्रतिशत महिला मात्रै हिंसाको सिकार भएका छन्।
कमाउने महिला विरुद्ध हिंसा बढी किन हुँदो हो? माथि नै उल्लेख गरिसकेँ मैले। हामी दोहोरो चरित्र लिएर बाँचिरहेका छौं।
र, फेरि त्यही कोटको कुरा गरौं। जुन लगाएर म फेरि एउटी साथीको विवाहमा जाँदै थिएँ। म गइनँ। किनभने मानवीय सम्बन्ध आफूभन्दा कमसल हुन्छन् भनेर कोटलाई फेरि साक्षी बनाउन मन लागेन।
यो पनि पढ्नुहोस्-
एक नेपाली हिरोइनको #metoo : हाम्रो चरित्रमाथि किन चोरऔंला?
रियल गुन्डाको हिरो अवतार
अनि एनआरएन नरोजेर के गर्नु?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।