दुर्घटनापछि उडान बन्द गरेको युएस–बांग्लाले माग्यो काठमाडौंमा उडान अनुमति

Nepal Live

काठमाडौं– बंगलादेशको निजी हवाई सेवा प्रदायक कम्पनी युएस–बांग्ला एयरलायन्सले उडान बन्द गरेको करिब सात महिनापछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि अनुमति मागेको छ।

गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बांग्लाको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका ४ सदस्यसहित ५१ जनाले ज्यान गुमाएका थिए।

युएस–बांग्लाको फ्लाइट–२११ को यस विमान दुर्घटनामा ४९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बङ्गलादेशी र १ चिनियाँ नागरिक थिए। विमान दुर्घटनापछि युएस–बांग्लाले तत्कालको लागि विमान अभाव देखाउँदै काठमाडौंमा गर्दै आएको उडान बन्द गरेको थियो।

तर, अहिले भने युएस–बांग्ला एयरलाइन्स कम्पनीले सातै दिन उडान भर्नेगरी अनुमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार एयरलाइन्सले अक्टोबर २९ अर्थात कात्तिक १२ गतेदेखि उडान सुचारु गर्नेगरी अनुमति मागेको छ। तर, प्राधिकरणले एयरलाइन्सले उडान अनुमतिका लागि निवेदन दिएपनि अहिलेसम्म उडान अनुमति भने दिएको छैन। अहिले युएस बांग्ला एयरलाई उडान अनुमति दिने वा नदिने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले जानकारी दिए।

यता, युएस–बांग्ला विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाका परिवारले दुर्घटनामा विमान चालक दोषी रहेको भन्दै असिमित दायित्वअन्तर्गत बीमा दाबीसहित अन्तर्राष्ट्रिय अदालत (अमेरिकाको क्यालिफोर्निया)मा मुद्दा दायर गर्ने प्रक्रियामा लागेका छन्। 

यसैबीच दुर्घटना जाँचबुझ आयोगले पनि विमान दुर्घटनामा पाइलटको दोष देखाउँदै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। तर, रिपोर्ट भने सार्वजनिक भइसकेको छैन।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार