काठमाडौं– सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पहिलो चरणको छनोट प्रतियोगिताका लागि नेपालले १८ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ।
आगामी असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा प्रारम्भिक टिम घोषणा गरिएको हो। टिममा दीपेश श्रेष्ठ र सहाब अलामले स्थान पाएका छन्। यस्तै शरद भेषावकर टिममा फर्किएका छन्।
यता मध्यक्रमक ब्याट्सम्यान रोहित कुमार पौडेल भने राष्ट्रिय टिममा उपलब्ध नहुने भएका छन्। उनी एसिसी यू–१९ एसिया कपका लागि नेपालको युवा टिमबाट प्रतिनिधित्व गर्न जाने नेपाली टिमका म्यानेजर रमन शिवाकोटीले जनाकारी दिए।
नेपालले बिहीबारबाट तयारी गर्ने भएको छ। १० दिन नेपालमा अभ्यास गरेपछि १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिने छ।
नेपाली टिम असोज १५ गते मलेसिया जाने कार्यक्रम छ।
पहिलो चरणको छनोटमा नेपालसहित ७ टिमले भाग लिँदैछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
नेपाली टिम
पारस खड्का, अनिल कुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब अलाम, शरद भेषवाकर, सोमपाल कामी, सुनील धमला
पहिलो चरणको छनोटमा नेपालको खेल
असोज १७– नेपाल भर्सेस म्यानमार– किनरारा ओभल
असोज २०– नेपाल भर्सेस मलेसिया– किनरारा ओभल
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड– किनरारा ओभल
असोज २३ – नेपाल भर्सेस भुटान– बायुमास ओभल
असोज २४– नेपाल भर्सेस चीन– किनरारा ओभल
असोज २६– नेपाल भर्सेस सिंगापुर– किनरारा ओभल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।