काठमाडौँ– भारतको लखनउमा सम्पन्न यू–१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपाल चौथो स्थानमा सीमित भएको छ।
लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको तेस्रो स्थानको भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएसँगै चौथो स्थान सीमित भएको हो।
प्रतियोगिताको उपाधि भने भारतको बी टोलीले हात पारेको छ । आज भएको फाइनल खेलमा भारतको बी टोलीले भारतकै ‘ए’ टोलीलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २ सय ४५ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४४ रनको योगफल बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७३ रनमा समेटियो ।
अफगानिस्तानको जीतमा ओपनर रियाद हशनले सर्वाधिक १ सय १७ रन जोडे । उनले १ सय ४९ बलमा २ छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले २-२ विकेट लिएका थिए ।
नेपालका लागि भने मोहमद आशिफ शेख र लोकेश बामले २५-२५ रन जोडे । अरुण ऐरीले २४, पवन सर्राफले २३, सुनदीप जोराले १८, भीम सार्कीले १६, रीत गौतमले १४, मोहमद सांसद आलमले १२ तथा कमल ऐरीले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।
यसअघि समूह चरणमा नेपालले अफगानिस्तानलाई नै पराजित गर्दा भारतका दुवै टिमसँग हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।