काठमाडौं– पोखरामा आगामी कार्तिक दोस्रो साता आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशासण हिमालय टेलिभिजनले गर्ने भएको छ।
पिपिएलको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले हिमालय टेलिभिजनसँग ब्रोडकास्ट पार्टनरको रुपमा सहकार्य गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। हिमालय टेलिभिजन र क्विन्स इभेन्ट्सबीच तीन वर्षको सम्झौता भएको छ । ब्रोडकास्ट तथा डिजिटल पार्टनर सम्बन्धी सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार हिमालय टेलिभिजनले 'क्यास एन्ड काइन्ड'सहित ३ वर्षमा ३ करोड ७० लाख रुपैयाँ बराबर पिपिएललाई उपलब्ध गराउने छ भने पीपीएलको टीभी तथा सम्पूर्ण डिजिटल प्रसारण अधिकार हिमालय टेलिभिजनमा निहीत रहने छ।
सम्झौता अन्र्तगत हिमालय टेलिभिजनले पिपिएलका सम्पूर्ण खेलहरु र खेलाडी अक्सन कार्यक्रम पनि प्रत्यक्ष प्रशारण गर्ने छ। हिमालय टेलिभिजनका अध्यक्ष भुसालले टेलिभिजन छिट्टै डिजिटल प्रणालीमा जाने बताए। साथै पिपिएलका लागि चाहिने सबै अत्याधुनिक उपकरण टेलिभिजनले खरिद गरिसकेको पनि जानकारी दिए।
यस्तै प्रबन्ध निर्देशक लामाले पिपिएलको टिम घोषणा, खेलाडी अक्सन लगायतका काम तीव्र गतिमा भइरहेको जानकारी दिए।
पोखरामा आगामी कार्तिकमा पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने यसअघि नै घोषणा गरिसकेको छ। ६ टिमको सहभागिता हुने पिपिएल आगामी कार्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।