राजविराज– साथीको सम्बन्ध बनाई सहयोग गर्ने बहानामा अपहरण गर्ने र फिरौती असुल्ने गिरोहका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
चार महिनाअघि सप्तरीको राजविराज नगरपालिका–२ का रामचरित्र यादवलाई अपहरण गरी बन्धक बनाएर ९ लाख ६० हजार रुपैयाँ फिरौती असुल गरेको घटना अनुसन्धानका क्रममा महोत्तरीको साँढा–२ का ५५ वर्षीय विन्देश्वर साहलाई प्रहरीले पक्राउ गरेको हो।
भारतीय प्रहरी र जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा विरगन्जबाट पक्राउ परेका साहलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। निजको साथबाट भारतीय आधार कार्ड र जिल्ला वन कार्यालय सर्लाहीमा कार्यरत रेन्जर पदको नक्कली परिचय–पत्रसमेत बरामद भएको एसपी राजेन्द्र विष्टले बताए।
राजविराज नगरपालिका–२ का राजकुमार यादवसँग सामान्य चिनजान रहेका विन्देश्वरले आर्थिक सहयोग गर्ने बहानामा उनकै भाइ रामचरित्रलाई अपहरण गरेको प्रहरीको भनाइ छ। छोरीको विवाहका लागि आर्थिक संकटमा रहेका राजकुमारको समस्या बुझेपछि विन्देश्वरले सहयोग गर्ने आश्वासन दिएका थिए। ‘१५ दिनका लागि आवश्यक रकम म दिन्छु, तर रकम लिन पटना जानुपर्छ भन्दै राजकुमारलाई आग्रह गरिएको रहेछ’, घटनाको बारेमा जानकारी दिँदै एसपी विष्टले भने, ‘तर, उनी आफू नगएर नातामा भाइ पर्ने रामचरित्रलाई विन्देश्वरको साथमा पठाएका रहेछन्।’
भारतको पटनाका लागि भनेर हिँडेपनि रामचरित्रलाई मुजफ्फरपुरमै बसबाट ओरालेर रेलमार्फत मोतिहारी पुर्याइएको थियो। स्थानीय होटलमा ३÷४ जना मिलेर रामचरित्रलाई बन्धक बनाएपछि भारतीय मोबाइल प्रयोग गरी राजकुमारई १० लाख भारतीय रुपैयाँ फिरौती मागिएको थियो।
मोलमोलाईका क्रममा ९ लाख ६० हजार नेपाली रुपैयाँमा कुरा मिलेपछि राजकुमारले बैसाख १२ गते विरगन्जस्थित प्रभु विकास बैंकमा नरेशप्रसाद साहको नाममा रहेको खातामा पैसा जम्मा गरिदिएका थिए। ‘बैंकमा जम्मा गरिएको सो रकम भोलीपल्ट (बैसाख १३ गते) नै विन्देश्वर साहले झिकेको पाइयो’, एसपी विष्टले थपे, ‘सोही बैंकको रेकर्ड र सिसी क्यामराको फुटेजका आधारमा अनुसन्धान गर्दा अभियुक्त पक्राउ परे।’
सप्तरीबाट असई सुनिल यादवको नेतृत्वमा खटिएको प्रहरीले खोजतलास गरिरहेका बेला विन्देश्वर अचानक विरगन्जमा देखापरेपछि सोही स्थानमा घेरा हालेर पक्राउ गरिएको उनको भनाइ छ।
विन्देश्वरविरुद्ध शरिर बन्धक तथा अपहरण मुद्दामा जिल्ला अदालत राजविराजबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि भएका सोही प्रकृतिका घटनामासमेत उनको संलग्नता रहेको आशंकामा अनुसन्धान भइरहेको एसपी विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।