नेपाल लाइभ आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ। पाठकहरुसँग यो खुसी साट्न पाउँदा हामी निकै उत्साहित भएका छौं। यो एक वर्षमा पाठकहरुबाट पाएको न्यानो माया, उत्प्रेरणा, विश्वास र खबरदारी हाम्रा अमूल्य आर्जन हुन्। यसको निरन्तरताको अपेक्षा गर्दछौं।
नेपाल लाइभको प्रकाशन सुरु गर्दा नै हामी केही कुरामा प्रस्ट थियौं। मुख्य त हामी पत्रकारिता तटस्थ र निष्पक्ष हुँदैन भन्नेमा विश्वस्त थियौं। त्यसैले पनि हामीले आफूलाई निरन्तर समावेशी लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक, मानवअधिकार, सुशासन, सीमान्तकृतका पक्षमा उभ्याउने प्रयत्न गरिरह्यौं। हाम्रा प्राथमिकताहरुलाई केलाएर पाठकहरुले यस कुराको मूल्यांकन गर्नुभएकै छ।
अघिल्लो वर्ष देशमा तीन तहको चुनाव सम्पन्न भयो। देशले संघीय शासन प्रणालीको अभ्यास सुरु गर्यो। ७ सय ५३ वटा स्थानीय सरकार, ७ वटा प्रदेश सरकार र एउटा संघीय सरकार अहिले हाम्रासामु छन्। ती सरकारसँगै नेपाली समाजका अपेक्षाका पहाड पनि छन्। वाचा, अपेक्षा र आवश्यकताको संयोजन कसरी मिल्दै जाला भन्ने चासो सबैतिर छ।
हामी यथासम्भव तीनै तहका सरकारका कामकारबाहीलाई निगरानी गरिरहेका छौं। तिनका काम कारबाही पाठकहरुलाई सुसूचित गरिरहेका छौं। यो एक वर्षमा जस्तै आगामी दिनमा पनि हामी सत्ताको प्रतिपक्षी भूमिकामै उभिनेछौं भन्ने विश्वास पाठकहरुलाई दिलाउन चाहन्छौं। सरकारहरुलाई जनमुखी बनाउने प्रयास हाम्रो हुनेछ।
सत्ताबाट सिर्जित बहस हुन् वा सडकमा लागेका नारा। हामी आफ्नो विवेकले सही ठहर्याएको मुद्दाका पक्षमा उभियौं। बहुजनको हित के कुरामा छ र किन छ, हामीले त्यसकैका आधारमा आफ्नो पक्ष छुट्यायौं। सत्तालाई प्रश्न तेर्स्यायौं र जवाफदेही बनाउन पहल गर्यौं । सडकलाई जिम्मेवार बन्न प्रेरित गर्यौं।
देशमा अहिले समृद्धिको बहस छ। समृद्ध नेपालको प्रयत्नप्रति हाम्रो पनि साथ छ नै। तर, अहिले जसरी समृद्धिको बहस चर्चामा आइरहेको छ, त्यसप्रति हामी सजग छौं। समृद्ध कसैले ल्याइदिने अमूक खेलौना नभई त्यो जनताको सामूहिक प्रयत्न र प्रयासबाट महसुस हुने सहजता हो भन्नेमा प्रस्ट छौं। त्यसैले पनि चलिरहेको बहसमा कस्तो समृद्धि र कसका निम्ति भन्ने हाम्रो प्रश्न सधैं मिसाइरहनेछौं।
देशले विगतमा हिँडेर आएका बाटो, यो ठाउँमा आइपुग्नुअघिका वाचा र जनतामा देखाइएका सपनालाई कुल्चेर अघि बढ्न सक्ने अवस्था छैन र त्यसरी अघि बढ्नु हुँदैन पनि। संक्रमणकालको अन्त्य भएको भनिएको यो समयमा पनि विगतको हिसाबकिताब बाँकी नै छन् भनेर हामी निरन्तर सुनाइरहेका छौं। जबसम्म सीमान्तकृतहरु पनि राज्यको निर्णायक तहमा पुग्नेछैनन्, जबसम्म यो देशको शासनचित्रमा हाम्रो विविधताको स्पष्ट इन्द्रेणी देखिनेछैन, जबसम्म यो देशका कुनै पनि समुदायले आफूलाई दोस्रो दर्जाको नागरिक महसुस गरी नै रहनुपर्ने हुन्छ; तबसम्म मूलधारसँग हाम्रा प्रश्न पनि बाँकी रहिरहन्छन्। यसमा हामी दृढ छौं।
हाम्रा यस्तै मान्यताहरुले नै हामीलाई पाठकमाझ निरन्तर पछ्याइरहनुपर्ने विश्वसनीय अनलाइनका रुपमा उभ्याएको हाम्रो ठहर छ। तर नेपाल लाइभलाई अझै पनि एउटा पूर्ण र सम्पूर्ण अनलाइन बनाउने हाम्रो प्रयास जारी नै छ। हामी आवाजविहीन र सिंहदरबारबीचको सेतु बन्ने र बहसका चौतारी बन्ने लक्ष्यमा छौं। त्यसका निम्ति विगतमा जस्तै स्वतन्त्र, जिम्मेवार र जवाफदेही पत्रकारिता नै हाम्रो मूल मन्त्र हुनेछ। संघीयताको अभ्यास चलिरहँदा हामी केन्द्रमा मात्रै केन्द्रित हुनेछैनौं। प्रदेशका कुनाकाप्चाका समस्या र आवाजलाई महत्वका साथ उठाइरहनेछौं। हरेक वर्ग र उमेर समूहका पाठकहरुको रुचि अनुसार हामी विविध आयामका सामग्रीहरु पस्किइरहनेछौं।
यो एकवर्षे यात्रा नेपाल लाइभका निम्ति चलायमान रह्यो। पूर्वसम्पादकहरु सरोजराज अधिकारी र विजय पौडेलको नेतृत्व अवधिलाई हामी निरन्तर सम्झिरहनेछौं। साथै, नवीन अर्याल, दीपक खरेल, शिशिर ढकाल, अशेष अधिकारी, हिमविक्रम केसी, जोतारे धाइबा तथा जनक पौडेल लगायतले पुर्याउनुभएको योगदान पनि स्मरणमा छ नै। उहाँहरुको थप्नुभएको एकएक इँटाले नै हामी बलियो जगमा उभिएका छौं। यसबीचमा जोडिन आउनुभएका धेरै साथीहरुका निम्ति नेपाल लाइभको विरासत जोगाउने र यसलाई अझै उचाइमा पुर्याउने दायित्व छ। त्यसका निम्ति शुभकामना।
यात्रा जारी छ। हामी 'सबैको नेपाल लाइभ' बन्ने गन्तव्य पछ्याइरहेका छौं। साथ दिनुहुने र विश्वास व्यक्त गर्नुहुने सबैप्रति आभार।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।