डडेलधुरा– कञ्चनपुरकी निर्मला पन्त हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै डडेलधुराका अधिकारकर्मीले प्रधानमन्त्री र प्रदेश ७ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
१३ वर्षीय किशोरी निर्मलाको बलात्कारपछि हत्या भएको बिहीबार २८ दिन पुग्दा पनि मुख्य अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै डडेलधुराका सरोकारवालाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र पठाएका हुन्।
गम्भीर अपराधमा संलग्न अभियुक्तलाई कानुनी कठघरामा ल्याउन प्रहरीले ढिला गरेको नागरिक समाज, नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, निर्माण व्यवसायी संघ, उद्योग वाणिज्य संघ, महिला मुक्ति समाजलगायतका अधिकारर्मी संघसंस्थाहरुले डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत ज्ञापनपत्र बुझाएका हुन्।
‘नेपाली जनताको ऐतिहासिक संघर्षहरुको जगमा स्थापित लोकतन्त्रको रक्षा गर्ने अभिभावक नेपाल सरकारको दायित्व भएपनि घटना अनुसन्धान फितलो बन्दै गएकोमा कञ्चनपुरलगायत अन्य जिल्लाहरुमा आन्दोलन चर्किदै गएको स्मरण गराउन चाहन्छौँ।’, ज्ञापन पत्रमा भनिएको छ, ‘छानबिनका नाममा कञ्चनपुरको स्थानीय प्रशासन गैरजिम्मेवार बन्नुका साथै नाटकीय रुपमा दोषीलाई बचाउने र निर्दोष एवम् मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पक्राउ गरि दोषी बनाउने खेलप्रति आमजनताको राज्यप्रतिको जनविश्वास माथि प्रश्न उठेको छ।’
ज्ञापनपत्रमार्फत आम नागरिकको जिउधनको सुरक्षा गर्नेबाट नै असुरक्षित हुने परिस्थिति सिर्जना भएकोले यथाशीघ्र कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाहीको माग गरिएको छ। बलात्कारमा संलग्नलाई कारबाहीको माग राखेर आन्दोलन गर्दा प्रहरीको गोली लागेर घाइते हुनुपर्ने अवस्था रहेको भन्दै उनीहरुले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताए।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुःखद घटनाले कानूनी राजको अपेक्षा गर्ने आम सर्वसाधारणलाई निराश बनाएको भन्दै दोषीलाई कारबाहीको पक्षमा आफू पनि रहेको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।