काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन्।
ट्रान्सपेरेन्सी इन्टरनेसनलको २३ औं वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उनले आर्थिक वर्ष २०७५/०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६/०७७ मा सबै घर निर्माण कार्य पूरा गर्ने बताए।
उनले भूकम्पपीडितले मापदण्ड पूरा गरेर मात्र घर बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादवले भूकम्पपीडितलाई आएको विदेशी सहायता पीडितसम्म नपुगेको, राष्ट्रिय प्राधिकरणको काम कछुवा गतिमा अघि बढिरहेको, जनता बाढी, पहिरोको जोखिममा बाँच्न बाध्य भएको गुनासो गरे।
सांसद आशाकुमारी विकले भूकम्पपीडितले धेरै दुःख पाइसकेकाले उनीहरुको घर समयमै निर्माण गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताइन्।
ट्रान्सपरेन्सी इन्टरनेसनलका महासचिव पद्मिनी प्रधानाङ्गले भूकम्पबाट क्षतिग्रस्त भवन तथा विद्यालय अझै पुनःनिर्माण हुन नसकेको, भूकम्पपीडितको घर निर्माणको गति सुस्त भएको उल्लेख गरिन्।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष श्रीहरि अर्यालले भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि सदाचार कार्यक्रम सञ्चालन गर्दै आएको र नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्दै आएको जानकारी दिए।
कार्यक्रममा २७ प्रतिशत लाभग्राहीले मात्र घर निर्माण कार्य पूरा गरेको जानकारी दिइएको थियो।
१४ जिल्लामा ८ लाख ०७ हजार ४ सय ८६ लाभग्राही रहेको, ७ लाख २२ हजार १ सय ७६ सँग अनुदान सम्झौता भएको, ५ लाख ४१ हजार ४ सय ४० घर निर्माण सुरु गरेको, ३ हजार ८ सय १५ विद्यालय निर्माण सम्पन्न भएको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।