लन्डन– इंग्लिस प्रिमियर लिग शुक्रबार रातिबाट सुरु भएको छ। लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको छ।
युनाइटेडको जितमा पाउल पोग्बा र लुक शले गोल गरे। पोग्बाले खेलको तेस्रो मिनेटमा पेनाल्टीमार्फत गोल गरेर युनाइटेडलाई अग्रता दिलाएका थिए। एलेक्सिस सान्चेजको प्रहारलाई लेस्टरका ड्यानियल अमार्टीले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा पोग्बाले गोल गरेका थिए। शले जुवान माटाको पासमा ८३ मिनेटमा दोस्रो गोल गरे।
इन्जुरी टाइमको दोस्रो मिनेटमा लेस्टरका जिमी भर्डीले गोल गरेपनि त्यो गोल सान्त्वनामै सीमित बन्यो।
योसँगै युनाइटेडले पछिल्लो चार सिजनमा लिगको पहिलो खेलमा लगातार जित निकाल्न सफल भयो। यता लेस्टर सिटी पछिल्ला १६ अवे खेलमा जितबिहिन बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।