काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ। बैठकमा वर्तमान र पूर्वपदाधिकारीहरु पनि सहभागी भएका छन्।
तीन साताअघि बसेको बैठकमा बोल्न बाँकी रहेका नेताहरुले आआफ्नो धारणा राख्ने भएका छन्।
जिल्ला सभापतिहरुको भेलालगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलसँग एकल वार्ता गर्न देउवाले चाहेका थिए। पौडेलले शीर्ष तहका नेताहरुको सामूहिक बैठकमा बल गरेपछि देउवाले अन्य नेताहरुलाई पनि आमन्त्रण गरेको बताइएको छ।
तीन साताअघिको बैठकमा १८ नेता उपस्थित थिए। विधान मस्यौदा समिति,पार्टीको आन्तरिक एकता र घोषित आन्दोलनका विषयमा छलफल हुने बताइएको छ।
यसअघि सोमबार बसेको पौडेल पक्षको छुट्टै भेलाले पार्टीको विधि, विधान र नियमावलीमा गरिएको व्यवस्था अनुसार चल्न सभापति देउवालाई चेतावनी दिएको थियो। पौडेल पक्षले सभापति देउवाले तत्काल पहल नगरे पार्टीलाई पुनर्जीवन दिन कठिनाइ हुने निष्कर्ष पनि निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।