काठमाडौं– कर्मचारीतन्त्रमा घुसको जालो कतिसम्म छ भन्ने कुरा सोमबारको एक घटनाबाट प्रष्ट पारेको छ। आफु मातहतका कर्मचारीहरुको तलब निकाशा गर्नकै लागि एक उपसचिवले ठूलो रकम घुस लिएका छन्।
जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, कपिलबस्तुका इकाई प्रमुख उपसचिव सुरेन्द्र पराजुलीले २ लाख ८० हजार रुपैयाँ घुस लिएका हुन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले निवासबाट घुससहित पक्राउ गरेको छ।
उनले लामो समयदेखि अस्थायी कर्मचारीहरुको तलक निकाशा रोक्दै आएका थिए। करिब ८ लाख तलब निकाशाका लागि उनले घुस मागेका हुन्। अस्थायी कर्मचारीहरुले अख्तियारलाई खबर गरेर घुस दिएका थिए। घुससहित रंगेहात उनलाई अख्तियारले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।