पोखरा– गण्डकी यातायात कार्यालयबाट चालू आर्थिक वर्षमा २८ हजारभन्दा बढीले सवारी चालक अनुमतिपत्र लिएका छन्।
यस आर्थिक वर्षमा २८ हजार ९ सय १ जनाले लाइसेन्स लिएका जानकारी कार्यालय प्रमुख तेजनारायण यादवले दिए।
यादवका अनुसार, यस वर्ष मोटसाइकलको लाइसेन्सका लागि २६ हजार ५ सय ५७ जनाले आवेदन दिए पनि १३ हजार २ सय ७७ जना मात्रै पास भए। यस्तै, स्कुटरतर्फ आवेदन दिएका १७ हजार ५ सय ६३ जनामध्ये ७ हजार ७ सय ८७ ले लाइसेन्स पाउन सफल भए।
चारपाङ्ग्रे सवारीसाधनमा २० हजार ५ सयमध्ये ६ हजार ७ सय ५९ जना मात्रै लाइसेन्स परीक्षामा पास भएको यादवले जानकारी दिए। उनले फारम दर्ता गर्नेमध्ये ४२.६८ प्रतिशतले मात्रै परीक्षा उत्तीर्ण गरेको बताए।
‘६७ हजार ७ सय १७ जनाले लाइसेन्सका लागि आवेदन दिएका थिए’, यादवले भने, ‘त्यसमध्ये ३८ हजार ८ सय १५ जनाले लिखित तथा प्रयोगात्मक परीक्षा पास गर्न सकेनन्।’
लाइसेन्स लिन सहभागी परीक्षार्थीबाट यातायात कार्यालयले १६ करोड ६२ लाख ७५ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ। धेरै समयपछि लाइसेन्सको आवेदन खुल्दा आवेदकको संख्या बढेकाले राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख यादवले बताए।
आउँदो आर्थिक वर्षबाट यातायात कार्यालय प्रदेश सरकारको मातहतमा जानेछ। तर, प्रदेश सरकार र संघीय सरकारसँगको समन्वयमा नयाँ लाइसेन्सका लागि आवेदन खुलाउने तयारी रहेको कार्यालय प्रमुख यादवले सुनाए।
‘साउनको तेस्रो सातादेखि खुल्न सक्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।