नेपालगन्ज– नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज कार्यालयले नेपालगन्ज विमानस्थल पसिरसरमा रहेको नेपाल वायु सेवा निगमको इन्जिनियरिङ्ग युनिटको भवनलाई डोजर लगाएर भत्काइदिएको छ।
निगमको २०३५ सालमा निर्मित इन्जिनियरिङ्ग युनिटको भवनलाई प्राधिकरणको नेपालगञ्ज कार्यालयले गत शनिबार रातिको समयमा डोजर लगाएर भत्काइदिएको नेपाल एयरलायन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मुक्ति पान्डेले बताए।
निगमको क्षेत्रीय कार्यालय नेपालगन्जले पत्रकार सम्मेलनको आयोजना गर्दै प्राधिकरणले नियम विपरित २०३५ सालदेखि भोगचलन गर्दै आएको जग्गामा निर्मित इन्जिनियरिङ्ग भवन भत्काएका कारण लाखौंको धनमाल क्षति भएको जनाएको छ।
प्राधिकरणको नेपालगन्ज कार्यालयले गैरकानुनी तवरले डोजर लगाई क्षति पुर्याएको भन्दै निगमले प्राधिकरणका विरुद्ध कानुनी लडाइँसमेत सुरु गरेको जनाएको छ।
‘कानुन हातमा लिई बद्नियतपूर्वक भवन भत्काउने कार्य भएको छ। एउटै मन्त्रालय अन्तर्गत रहेको एउटा कार्यालयले अर्को कार्यालयको महत्वपूर्ण सामग्री रहेको भवन रातिको समयमा भत्काउनु घोर निन्दनीय छ।’, निगमका क्षेत्रीय प्रबन्धक मुक्तिराम पाण्डेले भने।
प्राधिकरणले भने विमानस्थलको स्तरोन्नति गरी यात्रु कक्ष र चमेना गृह निर्माणका लागि नयाँ भवन बनाउन निगमलाई पुरानो घर खालि गराई दिन बारम्बार आग्रह गर्दा पनि खालि नगरेका कारण डोजर लगाएर भत्काएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।