टोकियो- जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण बुधबार बिहानसम्ममा १ सय ५७ जनाको मृत्यु भएको छ।
अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वार कार्यमा निरन्तरता दिन नसकिएको अधिकारीहरुले बताएका छन्। बाढीका कारण कैयौं व्यक्ति हराइरहेका छन्।
हराएकाको खोजी तथा उद्धारकार्यमा सेना तथा प्रहरी परिचालन गरिएको छ। जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ।
मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिनुका साथै कतिपयलाई ठाउँ सर्न निर्देशन दिइएको थियो।
जापानको राजधानी टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ। हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।