काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कानुनको प्रयोग नगरी सरकार अघि बढ्नु 'स्टेट क्राइम' भएको बताएका छन्।
राजधानीमा मंगलबार पत्रकारहरुसँगको अन्तर्क्रियामा नेता सिटौलाले सरकारलाई स्टेट क्राइम गर्ने छुट नभएको बताएका हुन्।
'गृहमन्त्रीले ठेकेदारलाई समाउने भन्दै गर्दा कुन कानुनलाई आधार मान्नु भयो?' सिटौलाको प्रश्न थियो, 'उपकुलपतिलाई समाउँदा कुन कानुनले समाउनु भयो? उपकुलपतिजस्तो मान्छेलाई पक्राउ गर्दा कानुन चाहिँदैन?'
नेता सिटौलाले शक्तिशाली सरकारले संवैधानिक व्यवस्थालाई बलियो बनाउने हो भने बढी शक्ति प्रयोग गर्न नहुने सुझाव दिए। 'जति शक्तिशाली सरकार हो उति कम बल प्रयोग गर्नुपर्छ,' उनले भने, 'वर्षौंदेखि शान्तिपूर्ण आन्दोलन गर्ने थलोका रुपमा चिनिएको माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषित गर्न बल प्रयोग गर्नु जरुरी छैन।'
उनले शक्तिशाली सरकार छ भनेर स्थापित मान्यता र परिवर्तनलाई कुल्चिनु नहुनेमा जोड दिए। सरकारले लोकतन्त्रलाई खतरा पर्ने काम गर्दै गयो भन्नेमा आफूलाई चिन्ता लागेको नेता सिटौलाको भनाइ थियो।
'सरकारको काम-कारबाहीबारे अहिल्यै मूल्यांकन गर्नुभन्दा पनि बजेट र नीति तथा कार्यक्रम अनुसार एक वर्षपछि समग्रमा मूल्यांकन गर्नु उचित हुन्छ। म पनि त्यही पक्षमा छु,' सिटौलाले भने, 'तर, सरकारका सुरुवाती दिन नै राम्रो देखिएन।' उनले विगतमा भएका गल्ती देखाएर अहिले सरकारलाई गल्ती गर्ने अधिकार नभएको बताए।
नेता गगन थापा, प्रदीप पौडेल लगायतका नेतासहित अन्तर्क्रियामा सामेल भएका सिटौलाले आफ्नो पार्टीभित्र पनि कमजोरी रहेको औंल्याउँदै त्यसलाई सुधार गर्दै लैजाने बताए। उनले आफूहरु दह्रो प्रतिपक्षीका रुपमा उभिने प्रयासमा रहेको जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।