बेल्जियम भर्सेस फ्रान्स
मिति– असार २६ गते, समय– राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ।
भिडन्तबाट एक टिम उपाधि नजिक पुग्दा अर्को टिम तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न बाध्य हुनेछ। फ्रान्सका लागि यो २० वर्षमा दोस्रो उपाधि जित्ने अवसरको महत्वपूर्ण खुड्किलो हुनेछ। १२ वर्षअघि पनि फाइनलमा पुगेको फ्रान्स उपाधि जित्न चुकेको थियो।
जित हात पारेर फाइनलमा स्थान पक्का गरे बेल्जियमले इतिहासकै ठूलो सफलता हात पार्नेछ।
उपाधि जित्ने लक्ष्यसहित रसिया पुगेका दुवै टिमको कथा फरक छ। सुरुवातमा उत्कृष्ट खेल पस्किएको बेल्जिमयलाई नकआउट चरणमा गाह्रो परिरहेको छ। फ्रान्सले भने समूह चरणमा कठित निकालेको थियो। तर, समूह चरणमा फ्रान्स लयमा फर्किएको छ।
दुवै टिमका लागि अहिले टाउको दुखाइ रक्षापंक्तिमा छ। किनकी बेल्जियमले अन्तिम १६ को खेलमा जापानविरुद्ध २ गोल खाएको थियो। यस्तै फ्रान्सको पोस्टमा अर्जेन्टिनाले ३ गोल छिराएको थियो।
बेल्जियम आफ्ना भरपर्दा डिफेन्डर थोमस मेउनियर बिना मैदान उत्रिदैछ। लगातार २ खेलमा पहेँलो कार्ड पाएका कारण उनले फ्रान्स विरुद्धको खेल गुमाउन लागेका हुन्। यता फ्रेन्च टिममा ब्लसी माटुइडी फर्कदैछन्। उनले अघिल्लो खेलमा पहेँलो कार्डका कारण खेलेका थिएनन्।
अर्जेन्टिनाविरुद्ध ३ गोल खाएपछि फ्रान्सले उरुग्वेसँगको खेलमा रक्षापंक्तिमा सुधार लाएको थियो। उरुग्वेपछि फ्रान्सको अगाडि बेल्जियम सर्वाधिक ठुलो चुनौती भएर आएको छ।
फ्रान्सले बेल्जियमका कप्तान इडिन हजार्डबाट खतरा महसुस गरेको छ। उनलाई रोक्नका लागि डिफेन्डर एनगोलो कान्टेबाट फ्रान्सले आसा गरेको छ। किनकी दुवै खेलाडी चेल्सीबाट खेल्ने भएकाले एकअर्काबारे जानकार छन्।
प्रशिक्षक रोबर्टो मार्टिनेजले बेल्जियमलाई ४–४–२ को संरचनामा फ्रान्सविरुद्ध खेलाउनेछन्। मेउनियर टिममा नहुँदा बेल्जियमको संचरनामा असर पर्ने देखिन्छ। नासेर चाड्ली मध्यपंक्तिको दायाँबाट खेल्नेछन् भने यानिक कारास्को बायाँबाट खेल्नेछन्।
फ्रान्स र बेल्जिमयबीच अहिलेसम्म ७३ पटक प्रतिस्पर्धा भएको छ। जसमा बेल्जियमले ३०खेलमा जित हात पार्दा फ्रान्स २४ खेलमा विजयी भएको छ। १९ खेल बराबरीमा सकिएका छन्। विश्वकप खेलेका दुवै खेलमा भने फ्रान्स विजयी भएको छ। जित हात पार्ने टिम विश्वकपको उपाधि नजिक पुग्ने हुँदा मंगलबार हुने खेल दुई छिमेकी देशका लागि इतिहासकै ठूलो प्रतिस्पर्धा हुनेछ।
सम्भावित टिम
फ्रान्स : हुगो लोरिस, लुकास हर्नान्डेज, स्यामुयल उम्टिटी, राफायल भारान, बेन्जामिन पभार्ड, एनगोलो कान्टे, पाउल पोग्वा, ब्लासी माटउटी, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरुड
बेल्जियम : थिबाउट कोउटिइस, जान भेर्टोघेन, भिसेन्ट कोम्पनी, थोमस भर्माइलेन, टोबी एन्डरवारेल्ड, यानिक कारास्को, एक्सेल विस्टेल, केभिन डे ब्रुइन, नासेस चाड्ली, इडिन हजार्ड रोमेलु लुकाकु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।