टोकियो- जापानमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितिका बीच नेपथ्यले ‘टोकियो डोम सिटी हल’ मा आफूलाई प्रस्तुत गरेको छ।
तीन वर्षअघि भूकम्प गएपछिका तस्बिरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरु भएको थियो। ब्यान्डले उक्त भूकम्पकै ताका पूर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्पपीडितमा समर्पित गर्दै आम्दानीबाट भूकम्प राहत कोषमा सहयोग गरेको थियो।
ब्यान्डका मुख्य गायक अमृत गुरुङले तीन वर्षअघिको कन्सर्टमा समवेदना बाँड्न मञ्चमा उभिए पनि यसपटक भने उमंग र उत्साह बाँड्न आएको बताए।
सोही अनुसार ब्यान्डले ‘भेँडाको ऊन जस्तो’ देखि ‘छेक्यो छेक्यो’ हुँदै पछिल्लो समयका ‘शिरफूल’ र ‘कोसीको पानी’ सम्म पस्कियो।
तीन वर्षअघि जापानमा नेपथ्यको कन्सर्ट आयोजना गरेको तमुधिं जापानका अमर गुरुङ पनि दर्शकदीर्घामा थिए। उनले विदेशमा बसेका नेपालीका निम्ति नेपथ्य गर्वको विषय रहेको बताए।
‘जापान बसेको २० वर्षमा नेपालबाट आएका विभिन्न कलाकारका धेरै कार्यक्रम हेर्ने मौका पाएँ’, उनले भने, ‘नेपथ्यले दिएको प्रभाव चाहिँ बेग्लै र स्तरीय रह्यो।'
अधिकांश दर्शक नेपालीसँगै कन्सर्टमा केही जापानी नागरिक समेत देखिन्थे। उनीहरुमध्येकै एक जना नेपथ्यलाई सुन्दै आएका तन्नेरी भेटिए।
ती युवा कियोहितो हानाइले भने, ‘नेपालमा दुई पटक र टोकियोमै २०१५ मा आयोजित शोका बेला पनि म उपस्थित थिएँ। नेपथ्यलाई बारम्बार यसरी नेपाल र जापानमा अनुभव गर्न पाउँदा रमाइलो लागिरहेको छ।’
अमृतले नेपालमा मनसुन चलिरहेको बेला जापानमा बाढीको प्रकोप रहेको सन्दर्भलाई पनि कन्सर्टकै बेला जोडे।
‘ठीक यतिबेला हामीकहाँ पनि बाढीको प्रकोप चलिरहेको छ’, उनले भने, ‘जापानमा पनि पीडितहरुको अवस्था देखेर मलाई उत्तिकै नरमाइलो लागिरहेको छ।’
कन्सर्टमा अमृतले रमाइला गीतहरुको बीचमा नेपालको सामाजिक मुद्दा पनि उठाइरहेका थिए।
‘डा गोविन्द केसीले उठाएका मुद्दाहरु यहाँ आएर पनि सुनाउनुपर्दा मलाई एक किसिमको हीनताबोध र दुःख महसुस भइरहेको छ’, १५औं पटक अनसनमा बसिरहेका डा केसीको सन्दर्भमा उनले भने, ‘केसी मात्र होइन, हामी सम्पूर्ण नेपाली पटक–पटक ठगिएका छौं।’
एउटा सन्त जस्तो चिकित्सकले बारम्बार अनसन बसेर ज्यान जोखिममा पार्दा यसले सम्पूर्ण नेपाली समाजलाई गिज्याएको उनले बताए।
अमृतले डा केसीको पक्षमा ऐक्यबद्धताको आह्वान गर्दै श्याम तमोटको गीत ‘गाउँ गाउँबाट उठ’ प्रस्तुत गरे।
कन्सर्ट आयोजक समूह गोरेटो प्रोडक्सन्सका कृष्ण थापाले पछिल्लो समय जापानमा आयोजित नेपाली कार्यक्रमहरुमध्येकै यो सबैभन्दा ठूलो रहेको बताए।
‘दर्शक सहभागिता मात्रै होइन, टोकियो डोम सिटी हल जस्तो विश्व स्तरको कार्यक्रम स्थलमा ब्यान्डको अब्बल प्रस्तुतिले अविस्मरणीय यस कार्यक्रमको आयोजक हुन पाएकोमा हामी हर्षित छौं’, उनले खुसी सुनाए।
यस्तै, नेपथ्यलाई व्यवस्थापन गरिरहेको नेपालयका किरणकृष्ण श्रेष्ठले विश्वका प्रतिष्ठित कार्यक्रम स्थलहरुमा नेपाली कार्यक्रम उभ्याउँदै हिँड्दा जापानमा पनि एउटा कोशेढुंगा कायम हुनपुगेको बताए।
नेपथ्यलाई सुन्न आएकी जापानका लागि नेपाली राजदूत प्रतिभा राणा पनि कार्यक्रमबाट प्रफुल्लित थिइन्।
'नेपालबाट यति टाढा रहेर देशको प्रतिष्ठित सांगीतिक समूह नेपथ्यको प्रस्तुति हेर्न पाउनु यहाँका दर्शकको लागि सुखद संयोग हो', उनले भनिन्।
अमृतलाई मञ्चमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
कन्सर्ट समापनसँगै दस सदस्यीय नेपथ्य टोली जुलाई १० तारिखमा नेपाल फर्कँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।