गुल्मी- देशका विभिन्न जिल्लामा वर्षौंदेखि बन्द भएका कतिपय विमानस्थलमा कतै परीक्षण उडान त कतै नियमित उडानको विषयले चर्चा पाउन थालेपछि हामीले ती विमानस्थलको अवस्था के-कस्तो छ भनेर स्थलगत रिपोर्टिङ गरेका छौं। हामीले भौतिक पूर्वाधार, भौगोलिक अवस्था, प्राविधिक पक्ष तथा विमानस्थलहरुको धरातलीय यथार्थ लगायतका विषयमा जानकारी लिएका छौं। यसै सिलसिलामा नेपाल लाइभको टिमले असोजदेखि नियमित सञ्चालनमा आउने भनिएको गुल्मीको रेसुङ्गा विमानस्थल पुगी सरोकारवालासँग कुरा गरेको छ।
गुल्मी सदरमुकाम तम्घासदेखि दक्षिणमा रहको रेसुङ्गा विमानस्थल पुग्न ५ किलोमिटर पैदल जानुपर्यो। आगामी असोजदेखि नियमित उडान सञ्चालन गर्ने भनिएको विमानस्थल पुग्ने कच्ची बाटो बन्दै थियो। बाटो केही फराकिलो बनाउन डोजर चलिरहेको थियो। पानी नपरेकाले धुलो बुङ्बुङ्ती उडिरहेको थियो। ५ किलोमिटरको हिँडाइपछि एउटा लाम्चो र केही फराकिलो ठाउँ देखा पर्यो। कुनै भौतिक संरचना नै नबनेको त्यो धुले मैदान नै रेसुङ्गा विमानस्थल थियो।

यो विमानस्थल हो, यहाँ केही समयअघि परीक्षण उडानको उद्घाटन नै भएको थियो र आगामी असोजदेखि नियमित उडान हुनेछ भन्ने सोचेर तपाईं त्यहाँ पुग्नु भयो भने तपाईंलाई अत्यास लाग्नेछ।
हवाई यात्रालाई जति सहज मानिन्छ, त्यति नै संवेदनशील पनि। पूर्वाधार निर्माण र सुरक्षाका उपाय बिनै विमानस्थल सञ्चालन गरेर नियमिति उडान सुरु गर्छु भन्नु कत्ति व्यावहारिक छ भन्ने प्रश्न उठेको छ।
रेसुङ्गा विमानस्थलमा गत जेठ २५ मा परीक्षण उडान गरियो। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले परीक्षण उडानको उद्धाटन नै गरेका थिए। रेसुङ्गा विमानस्थल ज्ञवालीको आफ्नै निर्वाचन क्षेत्र गुल्मी–१ मा पर्छ। सदरमुकाम तम्घासस्थित देउराली (कालोपत्रे सडक) बाट कच्ची सडक हुँदै विमानस्थलमा पुग्न सकिन्छ।
यो पनि पढ्नोस्ः स्थलगत शृंखला-१ः पूर्वाधारबिनै विमानस्थल थप्ने हतारो, आन्तरिक उडानले निरन्तरता पाउने सम्भावना कति?
विमानस्थलको पूर्वतर्फ केही भाग सम्याउन बाँकी देखिन्थ्यो। धुले मार्गमा रहेको विमानस्थलको पूर्व र उत्तरतर्फ जाली भर्ने काम चलिरहेको थियो।
विमानस्थलको चारै दिशामा तार जाली र ढल÷नाली बनाउन १ महिनाअघि सुनिल समिर निर्माण कम्पनीले ठेक्का हात पारे पनि काम भने सुरु भएको छैन। यद्यपि, निर्माण कम्पनीले एक वर्षमा काम सक्ने दाबी गरेको छ।
टर्मिनल भवन, सुरक्षा पोस्ट, टावर निर्माणको काम कहिलेदेखि सुरु गर्ने भन्नेमा विमानस्थल व्यवस्थापन समिति नैै अन्योलमा छ। बजेट अभावका कारण धावन मार्ग कालोपत्रे गर्ने विषय उठेको समेत छैन। परीक्षण उडानपछि विमानस्थल परिसर शनिबारका लागि ‘ड्राइ पिकनिक’ गर्ने स्थल बनेको छ।

विमानस्थल जाने बाटो निर्माण हुँदै
रेसुङ्गा विमानस्थल व्यवस्थापन समितिका अध्यक्ष एवं छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार माथिल्लो निकायले बजेट विनियोजन गरेपछि मात्रै भवन, टावर र सुरक्षा पोस्ट निर्माण र धावन मार्ग पिच हुनेछ। समिति र नागरिक उड्डयन प्राधिकरणबीच पहिलो चरणको काम सकेपछि थप बजेट निकासा हुने शर्तसहितको सहमति भएको पन्तले जानकारी दिए।
रेसुङ्गा नगरपालिका १० मा अवस्थित विमानस्थलको क्षेत्रफल १ सय २ रोपनी छ। ५ सय ७० मिटर रहेको धावनमार्ग विस्तारपछि ६ सय १० मिटर कायम गरी विमानस्थल नियमित सञ्चालनमा ल्याउने तयारी रहेको रेसुङ्गा नगरपालिकाका–१० का वडाध्यक्ष पदम अर्याल बताउँछन्। जबकि, १९ सिटेसम्मका साना जहाज उडान–अवतरण गर्न बिमानस्थलहरुको धावनमार्ग न्यूनतम ६ सय ५० मिटर हुनुपर्ने मानिन्छ।
निर्धारित मितिमा होला त सञ्चालन?
विगत १ वर्षदेखि भौतिक संरचना निर्माणले गति लिएको भनिएको विमानस्थल आगामी असोज २६ देखि नियमित गर्ने व्यवस्थापन समितिको योजना छ। पूर्वाधारको कमी र वर्षात्को समयले गर्दा तोकिएको मितिमा उडान नियमित होला भन्नेमा स्थानीयहरु विश्वस्त छैनन्।
केही स्थानीय जनप्रतिनिधि र दलका नेताहरु भौतिक संरचना निर्माणसँगै उडान पनि जारी राख्नुपर्ने बताउँछन्। विमानस्थल रहेको वडा नम्बर १० का अध्यक्ष अर्याल अहिलेकै अवस्थामा अरु पूर्वाधार नबने पनि उडान–अवतरण सुरु गर्न सकिने तर्क गर्छन्।

एउटा विमानस्थललाई चाहिने आवश्यक पूर्वाधारका रुपमा गुणस्तरीय पिच भएको धावन मार्ग, टर्मिनल भवन, टावर, सुरक्षा पोस्ट जस्ता कामका लागि बजेट विनियोजन भएको छैन। जसले गर्दा असोजसम्ममा नियमित उडान गर्न कठिन रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल स्वीकार गर्छन्। उनले धावन मार्गको लम्बाइ पनि पूरा हुन नसकेको विमानस्थलमा भौतिक संरचनाकै कारण नियमित उडान गर्ने तालिका फरक पर्न सक्ने बताए।
नेपाली कांग्रेसका जिल्ला सभापति भुवन श्रेष्ठ भने विमानस्थल पूर्ण रुपमा निर्माण हुन्छ र सञ्चालनमा आउँछ भनेर पर्खिनु नहुने बताउँछन्। ‘निर्माण हुँदै गर्छ। तर, असोजपछि उडान सुरु गर्नुपर्छ,’ उनले भने।
विमानस्थलको पूर्वाधार निर्माणमा काम गर्दै आएका कन्सल्टेन्ट सिभिल इन्जिनियर नवराज त्रिपाठी सम्पूर्ण सुरक्षाको पूर्व तयारीबिना विमानस्थल सञ्चालनमा ल्याउनु घातक हुने बताउँछन्।
उनका अनुसार विमानस्थल सञ्चालन गर्न आकस्मिक अवतरण गर्नुपर्दाको पूर्व तयारी, दमकल आउनसक्ने फराकिलो बाटो, ६ सय ५० मिटर लम्बाइको पिच गरिएको धावन मार्गजस्ता आधारभूत पूर्वाधार हुनैपर्छ। जुन रेसुङ्गा विमानस्थलमा अहिले उपलब्ध छैन।
वर्षौंदेखि अलपत्र काम
२०३६ सालदेखि चर्चा चले पनि औपचारिक रुपमा २०६२ सालबाट रेसुङ्गा विमानस्थल निर्माणको पहल सुरु गरिएको हो। २०६२ कार्तिक ७ मा रेसुङ्गा विमानस्थल निर्माण उपभोक्ता समिति बन्यो। २०६३ जेठ ३० मा विमानस्थल निर्माणको थप पहलकदमी लिन पदम अर्यालको नेतृत्वमा अर्को समिति बन्यो। २०६३ असार २५ मा तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले रेसुङ्गा विमानस्थलको शिलान्याश गरे। तर, २०६९ वैशाख १७ मा गठन भएको मधुकृष्ण पन्त नेतृत्वको निर्माण समितिले मात्र विमानस्थल निर्माणमा केही काम अगाडि बढायो।
विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण र व्यवस्थापन समितिबीच शर्तसहितको सम्झौता भएको थियो। विमानस्थलका लागि आवश्यक जग्गाको व्यवस्था स्थानीय समितिले गर्ने शर्त राखिएको थियो। जसअन्तर्गत त्यहाँ रहेका ४१ परिवारलाई मुआब्जा दिइएको थियो।
प्राधिकरणका तर्फबाट भौतिक संरचना निर्माणका लागि बजेट उपलब्ध गराउने सहमति भएको थियो। तर, यतिका वर्ष बितिसक्दा पनि पूर्वाधार निर्माणको कामले सार्थकता पाउन सकेको छैन। तथापि, विमानस्थल निर्माण, उडान परीक्षण र नियमित उडानको जस लिन खोज्नेहरु भने धेरै छन्।
२०६३ सालदेखि हालसम्म विभिन्न आर्थिक वर्षमा रेसुङ्गा विमानस्थल निर्माणका लागि भनी १४ करोड १७ लाख ८० हजार रुपैयाँ जुटेको छ। जसमा अहिले बाहिरी तारजाली र ढल÷नाला निर्माणका लागि लगाइएको ५ करोड ७० लाख रुपैयाँको ठेक्का पनि जोडिएको छ।

स्थानीयको चासो
गुल्मीको व्यापारिक निकटता बुटवल र भैरहवासँग छ। बुटवलदेखि १ सय १४ किलोमिटर दूरीमा छ गुल्मी सदरमुकाम तम्घास। तर, गुल्मीबाट बुटवल जाने सडकमा शिद्धबाबाको पहिरोले अवरोध सिर्जना गरिरहँदा सधैं सास्ती खेप्नुपरेको गुल्मीबासीको गुनासो छ। विमानस्थल सञ्चालनमा आए गुल्मीसँगै अर्घाखाँची, पाल्पा, प्युठान र वागलुङका केही भागका जनताले लाभ लिन सक्ने वडाध्यक्ष पदम अर्याल बताउँछन्।
मालिका गाउँपालिका ८ गुल्मीका सन्तोष पौड्यालले बिरामी पर्दा भरपर्दो उपचारको व्यवस्था जिल्लामा नभएको जनाउँदै भने, ‘बुटवल वा राजधानी काठमाडौं पुगुन्जेल बिरामीको मृत्यु भएका धेरै घटना छन्। हवाइ सेवा नियमित भए धेरैलाई राहत पुग्छ।’ यद्यपि, पौड्यालले नियमित उडान हुनेमा भने विश्वस्त हुन नसकेको प्रतिक्रिया दिए।
रेसुङ्गा १० का केशव कुँवर विमानस्थल नियमित हुन सके रिडी, रेसुङ्गा, सुपा देउरालीजस्ता धार्मिक ठाउँमा आन्तरिक तथा वाह्य पर्यटकको वृद्धि हुने बताउँछन्।
एकातिर आफ्नै जिल्लामा विमानस्थल सञ्चालन हुन्छ भन्ने आशा बोकेका जनता र विमानस्थल देखाएर जस लिन खोज्ने नेताहरुको बीचमा छ, रेसुङ्गा विमानस्थल। न्यूनमत मापदण्डका पूर्वाधार समेत निर्माण नगरी विमानस्थल सञ्चालनमा ल्याउने हतारोले सम्भावित जोखिमलाई कसरी कम गर्ला? त्यो जिम्मेवार व्यक्तिहरुले जवाफ दिनुपर्ने विषय हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।