मुम्बई– गीतकार बसन्त चौधरीको ‘चाहतो के साये मे’ नामक नयाँ कविता संग्रह भारतको मुम्बईमा लोकार्पण भएको छ। बलिउडका लोकप्रिय गायक सोनु निगम तथा प्रसिद्ध गीतकार समीरले मुम्बईको जुहुस्थित जेडब्लू मेरोइटमा आयोजित कार्यक्रममा चौधरीको पुस्तक लोकार्पण गरेका हुन्।
चौधरीको यो पाँचौ कविता संग्रह हो। ‘चाहतो के साये मे’मा हिन्दी र उर्दू मिश्रित भाषामा लेखिएका कविता, नज्म तथा गजललाई समेटिएको छ। पुस्तकलाई सुन्जोय शेखरले अंग्रेजीमा समेत अनुवाद गरेका छन्।
पुस्तक लोकार्पण कार्यक्रमको सुरुवात ‘प्रेमका विविध अयाम’ विषयक अन्तक्र्रियाबाट गरिएको थियो। त्यसपछि गायक सोनु निगमले शीर्ष कवितालाई सांगीतिक धुनमा प्रस्तुत गरेका थिए।
टाइम्स म्युजिक प्रकाशनले प्रकाशित गरेको ‘चाहतो के साये मे’बोलको शीर्ष गीतलाई बलिउडका संगीतकार रिन्को सुशान्त–शंकरले कम्पोज गरेका हुन्। उक्त गीतको म्युजिक भिडियो समेत तयार गरिएको छ।
‘चाहतो के साये मे प्रेमलाई अत्यन्तै सूक्ष्म दृष्टिकोणबाट बुझ्ने मेरो एउटा यात्रा हो। मेरो यो यात्रामा धेरै व्यक्तित्वको साथ छ, जसमध्ये केही विशेष व्यक्ति आज यहाँ उपस्थित हुनुहुन्छ,’ कार्यक्रममा कवि चौधरीले भने, ‘मधुर स्वरका धनी सोनु निगमले आज मलाई मोहम्मद रफी साहवको त्यो सुनौलो सांगीतिक युगको सम्झना गराउनुभयो र उहाँको स्वरमा पुस्तकको शीर्ष गीत सुन्न पाउँदा निकै हर्षित छु।’
गायक सोनु निगमले लामो समयपछि अफूले सुन्दर रचना गाउने अवसर पाएको बताएका थिए। उनले कार्यक्रममा भने, ‘पहिलो पटक सुन्ने बित्तिकै यसले मेरो मन छोयो। नेपालका लोकप्रिय कवि बसन्त चौधरीजीले अत्यन्तै मन छुने गीत लेख्नुभएको छ, त्यसमा संगीत पनि उत्तिकै राम्रो छ र छायांकन पनि अत्यन्तै सुन्दर तवरले गरिएको छ।’
बलिउडका चर्चितमध्येका गीतकार समीरले कार्यक्रममा भने, ‘कविजीले मेरा गीत असाध्यै मनपर्छ भन्नुभयो, तर आज मैले उहाँका यति सुन्दर रचनाहरु सुन्ने दुलर्भ अवसर पाएँ। पुस्तकका केही कविता पढ्दा मैले भन्नै पर्छ, बसन्तजीको सिर्जनात्मक अनुराग सीमाहरु पार गरेर अगाडि बढेका छन् र यसले हामीलाई गर्वको अनुभूति भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।